सांसदहरुको खरिद बिक्रि र मोलमोलाईको आरोप ओली र प्रचण्ड दुवै समूहले एक अर्कालाई लगाए

सांसदहरुको खरिद बिक्रि र मोलमोलाईको आरोप ओली र प्रचण्ड दुवै समूहले एक अर्कालाई लगाए


१५ फाल्गुन काठमाडौं ।
प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएसँगै राजनीतिको केन्द्र अब संसद बनेको छ । सरकारले आगामी फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
फागुन २३ देखि सुरु हुने बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविस्वासको प्रस्ताव ल्याएर हटाउने रणनीतिमा नेकपा प्रचण्ड–नेपाल समूह छ भने अविस्वासको प्रस्ताव फेल गरी प्रचण्ड–नेपाललाई सत्तामा आउनै नदिने रणनीतिमा ओली समूह छ । त्यसका लागि दुवै पक्षले संसदीय जोड घटाउ गरिरहेका छन् ।
संसदको बैठकअघि प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गर्ने बताएको छ । त्यसको लागि संसदीय दलमा बहुमत सांसदको आवश्यकता पर्छ । सामान्यतया अहिले प्रचण्ड नेपाल समूहसँग संसदीय दलमका बहमत भएपनि नेता कार्यकर्ता यताउता गरिरहेको अवस्थामा आफ्नै सांसदहरुप्रति उनीहरुले पुरै भरोसा गर्न सकिरहेका छैनन् ।
ओली र प्रचण्ड नेपाल समूहमा सांसदहरुको संख्या थोरैमात्र कमवेशी छ । अहिले दुवै पक्ष एक अर्काले आफ्ना समूहका सांसद किन्न थालेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिन थालेका छन् ।
कुन पक्षमा कति सांसद ?
पुनस्र्थापित प्रतिनिधि सभामा नेकपाका १ सय ७४ सांसद थिए । जसमा अग्नि सापकोटा सभामुख बनेका र सांसद सानु शिवाको निधन भएपछि हाल प्रतिनिधि सभामा मतदान गर्ने नेकपा सांसदको संख्या १ सय ७२ कायम छ । जसअनुसार नेकपाको संसदीय दलमा बहुमत पु¥याउनका लागि ८७ सांसदको समर्थन चाहिन्छ । सभामुखले कुनै विषयमा निर्णायक मत हाल्नुपर्ने अवस्था आइपरे मात्र मतदान गर्ने अभ्यास छ ।
प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनपछि गरेको संसदीय दलको बैठकमा ९३ सांसद उपस्थित रहेको जनाएको थियो । त्यसमध्ये यसबीचमा गौरीशंकर चौधरी, प्रभु साह, शेरबहादुर तामाङ, भैरबबहादुर सिंहलगायतका सांसद ओलीको पक्षमा लागेका छन् । ओली समूहमा रहेकी समिना हुसैन प्रचण्ड–नेपाल समूहमा खुलेकी छिन् ।

यसरी ओली समूहमा हालसम्म ८२ जना सांसद भएपनि दुवै पक्षका गरी करिब २० जना सांसदहरु ‘यताउता’ हुनसक्ने आकलन उनीहरुले गरेका छन् । त्यसले गर्दा प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउन ढुक्क हुनसक्ने अवस्थामा प्रचण्ड–नेपाल समूह छैन भने ओली पनि ढुक्कसँग अविस्वासको प्रस्ताव सामना गर्नसक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा एक अर्का समूहमा रहेका सांसद ‘चोर्न वा खरिद गर्नुपर्ने’ अवश्यकता देखिन्छ ।
सांसद किनबेच हुने खतरा बढ्यो ः मन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनस्र्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरुको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिदबिक्री हुने थलो बन्ने खतरा बढेको बताए ।
‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको साशनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मञ्जुर छ’, उनले भने , ‘हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर, कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन कतै सांसद फेरि दलहरुको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन ?’
ओली समूहले सांसद खरिद गर्न थाल्यो ः श्रेष्ठ
यता, प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद खरिद गर्नका लागि ओली समूहले सुटकेसमा पैसा बोकेर हिँड्न थालेको आरोप लगाएका छन् । शनिबार आफ्नै निवासमा गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरूसँगको छलफलमा प्रवक्ता श्रेष्ठले सरकार नछाड्नका लागि ओली समूहले सांसद खरिद गर्न थालेको भन्दै ओलीलाई पदबाट हटाएरै छाड्ने दावी गरेका छन् ।
‘सांसद खरिद गर्न सुटकेसमा पैसा बोकेर हिड्न थालेका खबरहरु आइरहेका छन्, सरकार जोगाउनका लागि उनीहरु जे पनि गर्न सक्छन’, उनले भने , ‘हामी सबै सचेत बन्नुपर्छ ।’
उनले संसद पुनस्र्थापनापछि पनि ओली असंवैधानिक बाटोबाट हिँडिरहेको भन्दै कांग्रेस र जसपा लगायतका दलहरु पनि ओलीलाई साथ नदिने बताएका छन् ।
‘हामी ओलीको जस्तोसुकै कदमको पनि प्रतिकार गर्न तयार छौँ’, श्रेष्ठले भने , ‘मलाई लाग्छ कांग्रेस र जसपाले पनि ओलीलाई साथ दिँदैनन् ।’