नेपाली माओवादी क्रान्तिकारीका कमजोरी र प्राप्त शिक्षाहरू !

नेपाली माओवादी क्रान्तिकारीका कमजोरी र प्राप्त शिक्षाहरू !

कुनैपनि वस्तु, व्यक्ति वा घटनाको जन्म, विकास र विनासको मुख्य कारण आन्तरिक नै हुन्छ भने बाह्य कारण महत्वपूर्ण त हुन सक्छ तर मुख्य र निर्णायक हुन सक्तैन । यो द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यता हो । क्रान्ति र प्रतिक्रान्तिका मुख्य कारक पनि क्रान्तिकारी नै हुन्छन् । अर्थात् क्रान्तिकारीहरूका आन्तरिक विचार, राजनीति, सङ्गठन, सङ्घर्ष र संस्कृति नै क्रान्ती वा प्रतिक्रान्तिका लागि निर्णायक कारण हुन्छन् ।
उपरोक्त सन्दर्भ थाहा भएपनि जुन नेताको नेतृत्वमा क्रान्ति अगाडि बढ्छ उही नेताकै नेतृत्वमा प्रतिक्रान्तिको बीजारोपण भई क्रान्तिको सम्पूर्णरूपले विनास हुन्छ भन्ने थाहा हुन ुकेन । यो थाहा नहुनु, अनुमान र आशंका नगर्नु अनि सावधानी र सचेतता अवलम्बन नगरिनु समेत् क्रान्तिकारीहरूकै कमजोरी हो । त्यस्तो नेतृत्वको विरोध गर्नुको साटो उल्टै उस्लाई अन्धसमर्थन र पूर्ण विश्वासका साथ सहयोग गर्नु, नेतृत्वको पक्षपोषण र केन्द्रीकरण गरी प्राधिकार बनाउनु र देवत्वकरण गर्न अहम् भूमिका निभाउनु त झन् गम्भीर गल्ती हुन पुग्यो ।
नेतृत्वका विचार र प्रवृत्तिमा भैरहेका यसप्रकारका प्रतिक्रान्तिका प्रकृयाहरूमा जब विचार, राजनीति, संस्कृति, सङ्गठन र कार्यक्रम आदि विविध पक्षहरूमा चौतर्फी विचलनका सङ्केतहरू बारम्बार देखिन थाले तब ती विषयमा सूचना र सन्देशका अतिरिक्त सुझाव र दवाव दिइए पनि तिनको कुनै अर्थ र औचित्य हुने स्तरमा दिन सकिएन । जब त्यसप्रकारका क्रान्तिविरोधी चिन्तन÷प्रवृत्तिहरू नेतृत्वपङ्क्तिदेखि क्रमशः तलतिर देखिंदै, दोहोरिंदै र बढ्दै जान थाले तब तीप्रति असहमति र विरोध पनि धेरै थोरै प्रकट हुन थाले । तर, तिनको समेत खासै प्रभाव र दवाव परेन । किनकि दवाव र प्रभाव पर्ने हदसम्म हामी क्रान्तिकारी भनिनेहरूले पनि केही गर्न सकिएन । अझ यहाँसम्म कि मुख्य नेतृत्वका वरिपरिदेखि क्रमशः तलबाट समेत् त्यसप्रकारका नीति र प्रवृत्तिहरूको अवलम्बन र कार्यान्वयन गर्न थालियो । नेतृत्वका क्रान्तिविरोधी हर्कतहरूको पूर्ण रूपले पक्षपोषण र महिमामण्डन गरेर तिनै गलत, विकृत र विसङ्गत शैली र संस्कारको आदर्शीकरण र उदात्तीकरणसहित व्यापक विस्तार गरी कार्यान्वयन पनि गरियो । यस्तो अति नै हुँदै गएपछि मात्र क्रान्तिकारी पङ्क्तिले सामूहिक र सङ्गठित विरोध गर्न त थालियो तर नेतृत्वलाई सुनाउने र मनाउने हदसम्म त्यो सङ्घर्ष चर्काउन पनि सकिएन । यसो गर्न नसक्नुमा पनि क्रान्तिकारीहरूको उदारवादी प्रकारको कमजोरी नै भएको हो । यद्यपि विचलित नेतृत्व सुन्न तयार भएको भएपनि त्यो लागू हुन गाह्रो हुने अवस्था नै विकसित भैसकेको थियो । किनकि समय धेरै घर्कीसकेको थियो । यसबिचमा पार्टीको माथिदेखि तलसम्म त्यो प्रतिक्रान्तिकारी चिन्तन, प्रवृत्ति र संस्कारले गहिरोगरी जरा गाडिसकेको थियो । यस्तो हुँदासम्म पनि क्रान्तिकारी नेतृत्वपङ्क्तिका तर्फबाट प्रभावकारी कदम र कार्यक्रम अवलम्बन गर्न नसक्नु पनि गम्भीर कमजोरी भएको हो ।
कहाँसम्म भयो भने यो अन्तर्संघर्षका दौरानमा आवेग र प्रतिशोधको मात्रा र प्रकृया यति बढ्यो कि दुई विपरित धारा अर्थात् क्रान्तिकारी र अवसरवादी धाराका बिचमा असैद्धान्तिक गठबन्धन समेत भयो । तर जालझेल र षड्यन्त्र गर्न माहिर बनिसकेको प्रतिक्रान्तिकारी विश्वासघाती मूल नेतृत्व र दलाल बनिसकेको अवसरवादी सहायक नेतृत्वबीच नै पुनः गठबन्धन भयो र क्रान्तिकारीहरू एक्लिने र अल्पमतमा पर्ने परिस्थिति बन्यो । त्यही अवस्थामा अन्तर्विरोध चर्कदै तिक्त, दुश्मनीपूर्ण र प्रतिशोधपूर्ण हुँदै गयो । क्रान्तिकारी पङ्क्तिमा अन्तर्संघर्षप्रति नै यति धेरै निराशा र अविश्वास बढ्यो कि उही प्रतिक्रान्तिकारी र अवसरवादी दलाल नेतृत्वको गठबन्धनयुक्त पार्टीमा बस्नु, सङ्घर्ष गर्नु र रूपान्तरण वा विजयको आशा गर्नुमा रतिभर पनि विश्वास भएन । फलस्वरूप केन्द्रीय समितिभन्दा तल रहेका थुप्रै क्रान्तिकारीहरूसम्म अन्तर्संघर्ष नचल्दै र उनीहरूलाई स्पष्ट पारेर समेट्ने वातावरण नबन्दै हतारमा विद्रोहको नाममा पार्टीमा विभाजन आयो । त्यो विभाजन हतारमा भएको थियो । आवेग र प्रतिशोधकै फलस्वरूप भएको थियो भन्ने कुरा विभाजनको चार बर्ष बित्दा नबित्दै क्रान्तिकारी पङ्क्तिमै फेरि अर्को विभाजन आयो । विडम्बना त अझ के भयो भने संस्थापन क्रान्तिकारी भनिएको पङ्क्तिमै अर्को बर्ष वित्दानबित्दै पुनः अर्को विभाजन भयो र संस्थापनको तलदेखि माथिसम्मकै बहुमत पङ्क्ति आफैले घोषणा गरेको प्रतिक्रान्तिकारी र लाल गद्दारहरूसँग मिसिन पुगियो ।
यी सम्पूर्ण विभाजनहरू र समग्र विचलनका पछाडि मूल क्रान्तिकारी नेतृत्वले क्रान्तिकारीहरूको सही मूल्याङ्कन गर्न नसक्नु र धूर्त, गुटवादी र षड्यन्त्रकारी अवसरवादीहरूलाई अति विश्वास गर्नु र नेतृत्व नै हस्तान्तरण गर्नु, उत्तराधिकारी निर्माणमा कुनै एक निश्चित क्षेत्रलाई प्राथमिकता, प्रोत्साहन र प्रमोसन गर्नु जस्ता उदारवादी र सङ्कीर्णतावादी कमजोरीहरू भएका छन् । जुन कमजोरीहरू संसार हल्लाउने स्तरमा पुगेको माओवादी पार्टी र दसबर्षे जनयुद्धसहितको क्रान्तिको आज यो स्तरमा विचलन र विसर्जन हुनको लागि कम जिम्मेवार छन् भन्न सकिँदैन । यो कुरा बेग्लै हो कि आफैले भरविश्वास गरिएका र सर्वोच्च नेतृत्व बनाइएका नेताहरूबाट नै क्रान्तिप्रति विश्वासघात गरी प्रतिक्रान्तिको बाटो रोज्नाले माओवादी पार्टी र आन्दोलनको आजको यो क्षतविक्षत अवस्था भएको हो । त्यसैगरी ठिक यहींनेर साम्राज्यवादी, विस्तारवादीलगायतका देशी÷विदेशी प्रतिकृयावादी शक्तिकेन्द्रहरूबाट भएको प्रभाव, दवाव र हस्तक्षेप पनि कम्युनिस्ट पार्टी र आन्दोलनलाई ध्वस्त पार्नमा त्यत्तिकै महत्वपूर्ण कारणहरू रहेका छन् ।
राजनीतिमा जब नेतृत्व पङ्क्तिबाटै विचार, सिद्धान्त र मूल्यमान्यताको स्खलन भएर विधि, पद्धति र प्रक्रियाको उल्लङ्घन हुन थाल्छ तब स्वार्थ, सुविधा र अवसरले निर्णायक महत्व र स्थान पाउन थाल्छ । यसैको परिणाम क्रान्तिकारी पार्टी विभाजन भएर एउटा हिस्सा संसदवादी गद्दार गुटमा विलय हुन पुगेको हो भन्ने कुरा तथ्यले पुष्टि गरेको छ । फलस्वरूप संसदीय अभ्यास अर्थात् चुनावमा भाग लिने र आफू र आफ्ना आसेपासेहरूलाई विभिन्न नियुक्तिहरूमा सेट गर्ने, सत्ता र शक्तिलाई उपयोग गरेर आपूm र आफ्नो स्वार्थ समूह अनि आफ्नो क्षेत्रका जनताका केही आर्थिक स्वार्थहरू पूरा गर्ने र त्यही बहानामा कमिसन पाउन राम्रैसँग आदत परेकोले नेतृत्वको एउटा पङ्क्ति पुनः पुरानै घरमा फर्किएको रहेछ । यो कुरा फर्किएका नेतृत्वपङ्क्तिका तीन दर्जनजति सदस्यहरूमध्ये क्रान्तिकारी चिन्तन र चरित्र अनि स्वभाव र शैली बरकरार राखेका स्वाभिमानी आधा दर्जनजति सदस्यबाहेक नेकपा बनिसकेपछि सबै सेट भएबाट पनि पुष्टि हुन आयो ।
यो कुराको थप पुष्टि वर्तमानको नेकपाको एकता र विभाजनका बेलामा पनि भएको छ । यसप्रकारको क्रान्ति, सिद्धान्त, नैतिकता तथा मूल्यहीन एकता र विभाजन हुँदापनि सबैजसोले अन्धसमर्थन वा अन्धविरोध गर्नु विडम्बना भएको छ । आज नेकपाको एकीकरण प्रकृया पूरा नभैसक्दै पुनः विभाजनमा जाँदा पनि केही अपवादलाई छोडेर सबैका सबै क्रान्तिकारी भनिएकाहरू समेत यो वा त्यो गुटमा सामेल हुनु दुखद कुरा भएको छ । क्रान्तिकारीहरू नै संसदीय गोलचक्करमा फसेर केहीले औपचारिक रूपले नै जबर्जस्ति मध्यावधी निर्वाचन थोपर्ने भन्ने र केहीले संसद पुनस्र्थापना गर्ने भनेर पुरानो र असफल सिद्ध भैसकेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई संरक्षण गर्न मरिहत्ते गर्नु र आफूहरूलाई अझैपनि क्रान्तिकारी भनी आत्मरती गर्नु केकस्तो हास्यास्पद कमजोरी हो स्वयंमा छर्लङ्ग छ । क्रान्तिकारी भनेर चिनिएका र मानिएका नेताहरू स्वयं संसदवादको भासमा डुबेर यस्ता भेंडा र हनुमानदास होलान् र क्रान्तिलाई पूरै तिलान्जली दिदै उफ्रिएलान् भन्ने कल्पनासम्म पनि गर्न नसक्नु समेत सच्चा क्रान्तिकारी भन्नेहरूको पनि कमजोरी नै हो । अझ आज माघको तेस्रो हप्तासम्म आइपुग्दा यी क्रान्तिकारी कम्युनिस्ट भनिनेहरू जनयुद्ध र जन आन्दोलनका उपलब्धिहरू जोगाउने बहानामा आफ्नो खाइपाई आएको संसदवादी पदप्रतिष्ठा र हैसियत जोगाउन टुप्पिदेखिको बल लगाइरहेका छन् र संसदवाद, संविधानवाद र लोकतन्त्रवाद जस्ता उही गन्हाएको संसदीय व्यवस्था र मूल्यमान्यताको संरक्षणमा ज्यान छाडेर लागेका छन् । मूलतः उनीहरू दुवैले र अंशतः मध्यमार्गी एकतावादीले पनि वैकल्पिक क्रान्तिकारी सोंच, सिद्धान्त र संस्कृति आदि पूरै बिर्सिएबाट क्रान्ति त तिनका दिलदिमागदेखि नै पूर्णरूपले डिलिट गरेको भन्ने छर्लङ्ग भएको छ ।
यहाँसम्म आइपुग्दा मूलधाराको भनिएको सत्ताधारी कम्युनिस्ट नामको शक्ति र प्रवृत्तिका साथै सदन, सरकार र सत्ताबाहिर रहेका माओवादी स्कूलकै अन्य क्रान्तिकारी धाराका सैद्धान्तिक र व्यावहारिक दुवैथरी क्रान्तिकारीहरूको मौनता, अन्यौलता र ढुलमुलपना पनि सानो कमजोरी होइन । संसदवादी अवसरवादीहरूबिचमा टुटफुट र निषेधको हदसम्म अन्तर्विरोध र अन्तध्र्वंश चर्किरहेको यो बेलामा वैकल्पिक क्रान्तिकारी बाटो देखाएर छरिएर रहेका र निस्कृय हुँदै गरेका क्रान्तिकारीहरूलाई समेटेर अघि बढ्नुपर्नेमा रहस्यमय ढङ्गले चुप लाग्नु पनि कम कमजोरी होइन । यद्यपि क्रान्तिकारीहरूको शक्ति र सङ्गठनात्मक स्थिति कमजोर छ र उनीहरूलाई घेरावन्दी र नाकावन्दी पनि छ । अनि दमन र धरपकड पनि छ । तथापि ती सबै प्रतिकूलतालाई अनुकूलतामा बदल्ने पहल र प्रयत्न पनि नदेखिनु वा जो देखिएको आशाका त्यान्द्रारूपी २३ दलीय कार्यगत एकता र बन्दैगरेको ४ दलीय रणनीतिक संयुक्त मोर्चा पनि हाल कार्यान्वयनमा लैजाने पहल र हिम्मत नगरेर आफू मात्र होइन अरूलाई पनि केही गर्न नदिने गरी अनिर्णयको बन्दी बन्ने÷बनाउने जस्तो घातक काम हुँदै गरेको छ जो हदैसम्मको दुखद आश्चर्य हो ।
यी समग्र कमीकमजोरीका कारण क्रान्तिकारी कम्युनिस्ट पार्टी र क्रान्तिलाई केही महत्वपूर्ण शिक्षा प्राप्त भएका छन् । ती हुन् –
१. क्रान्तिकारी कम्युनिस्टहरूको लागि क्रान्तिकारी विचार÷सिद्धान्तको अध्ययन र अवलम्बनको अहं महत्व छ ।
२. पार्टी एकता वा बिभाजनका बेलामा पर्याप्त सैद्धान्तिक÷राजनीतिक बहस गरी मूलभूत विषयमा सापेक्षित सहमती भएर सत्ता वा सङ्घर्षमा समेत एक चरणसम्म सहकार्य गरेर व्यावहारिक रूपले पनि स्पष्ट नभै हतारमा गरिने एकता वा फूट दुवै प्रत्युत्पादक हुन्छन् ।
३. कम्युनिस्ट पार्टी र आन्दोलनमा पार्टी र मुख्य नेताहरूको क्रान्तिकारी विचार अनुसारको क्रान्तिकारी व्यवहार अनिवार्य छ र यसलाई कसी बनाएर तिनको मूल्यांकन गर्नुपर्छ ।
४. नेतृत्वको विचार र आचारमध्ये कुनै एकमा थोरैपनि विचलन आयो भने प्रतिक्रान्ति त्यहीँबाट सुरु हुने चरम खतरा हुन्छ । तसर्थ समयमै सतर्क भै दोस्रो, तेस्रो तहका नेतृत्व, कार्यकर्ता पङ्क्तिले आलोचनात्मक चेत सहित हस्तक्षेप गर्नु नितान्त जरुरी हुन्छ ।
५. क्रान्तिकारी कम्युनिस्ट पार्टीमा पनि अवसरवादी र दक्षिणपन्थीहरू जन्मने र हावी हुनसक्ने अनि तिनले पार्टी र क्रान्तिलाई धरासायी बनाउने खतरा हुने गर्छ । तसर्थ पार्टीभित्रैका क्रान्तिकारी नेतृत्वपङ्क्तिले गल्ती कमजोरीलाई नदोहोराउने गरी शुद्धिकृत र रूपान्तरित भै पार्टीभित्रै निरन्तर लड्नु पर्छ ।
६. नेतृत्वमा सिर्जनशीलता र गतिशीलताका नाममा हुनसक्ने दक्षिणपन्थी अवसरवादी विचलन र स्खलन तथा सिद्धान्तनिष्ठता र दृढताका नाममा पैदा हुने यान्त्रिकता र जडताका कारण पार्टी र क्रान्तिको बन्ध्याकरण र संकुचनप्रति हमेसा होशियार हुनु पर्दछ ।
७. कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वपङ्क्ति दीर्घकालीन रणनीतिक महत्वका कामहरूमा भूमिगत रूपले र अन्य नेताहरू तात्कालिक कार्यनीतिक महत्वका कामहरूमा खुला रूपले केन्दृत हुनु पर्दछ । यसरी भूमिगत र खुला, वैधानिक र अवैधानिक, शान्तिपूर्ण र सशस्त्र सङ्गठन र सङ्घर्षको समायोजन हुनुपर्छ ।
८. दीर्घकालसम्म संसदको उपयोग क्रान्तिकारी होइन भ्रान्तिकारी हो र यसले अन्ततः पार्टी र क्रान्तिलाई संसदवादी भासमा लगेर डुबाउँछ ।
९. आवश्यक त्याग, तपस्या, वलिदानी बिना क्रान्ति असम्भव मात्र होइन भएको क्रान्तिलाई निरन्तरता दिन र प्रतिक्रान्तिलाई रोक्न नसकिने रहेछ ।
१०. एकता र विभाजनको मुख्य आधार भावनालाई भन्दा विचारलाई, नेतालाई भन्दा नीतिलाई, शक्तिलाई भन्दा क्रान्तिलाई र पद–प्रतिष्ठालाई भन्दा लक्ष–उद्देश्यलाई बनाउनु पर्दछ ।
११. साम्राज्यवादी युगमा कम्युनिस्ट पार्टीमा दक्षिण्पन्थी विचलनको विगविगी हुनेहुँदा यसप्रति गम्भीर र सावधान हुनु जरुरी हुन्छ ।
१२. पार्टीभित्री सङ्घर्ष र एकता वा फूटमा माओका भनाई ‘विचारधारा र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निधो गर्दछ’ र ‘माक्र्सवाद लागू गर, संशोधनवाद होइन, खुला र स्पष्ट होऊ, जालझेल र षड्यन्त्र नगर, एकताबद्ध होऊ, नफुट’ लाई आत्मसात गर्नु पर्दछ ।