
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेपश्चात् उत्पन्न राजनीतिक अवस्था र सत्तारुढ डबल नेकपाको विभाजन लगायतको स्थितिलाई नजिकबाट बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचै काठमाडौं आइपुगेका छन् ।
उपमन्त्री गुओ येचैको टोली एअर चाइनाको उडानबाट छङ्तु हुँदै काठमाडौं आइपुगेको हो । चार सदस्यीय येचै नेतृत्वको चिनियाँ टोलीले प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान ९ र ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार आज दिउँसो तीन बजे चिनियाँ दूतावास, बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी राजनीतिक स्थितिको बारेमा ब्रिफिङ लिने योजना भएपनि त्यसमा बालुवाटारबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई जाने निश्चित भएको छ । यता प्रचण्ड नेपाल समूहका प्रतिनिधिहरूले दूतावासमा भेटवार्ता गर्दा राम्रो सन्देश नजाने भएकाले त्यसो नगर्न चिनियाँ पक्षलाई सुझाएको स्रोतले बतायो । टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने बताइएको छ ।































