
चितुवाहरुको पछि पछि
कुस्त दौडिएका थिए बबुरा स्यालहरु
हड्डी भित्रको मासी चुस्ने लालसामा
जब चितुवाहरुकै चल्यो घमासान युद्ध
सिनो हत्याउने
प्रथम चितुवाले एकलौटी बनायो सिनो
बघिनीको सहयोगमा
द्वितीय चितुवा फर्कियो लपलपाउँदै जिब्रो
तेस्रो चितुवाको सहारामा गुँडतिर
किंकर्तव्य विमुढ स्यालहरु
कक्रक्क परे चौबाटोमा ।
केही समय रहने छन् एकसाथ
गुँडमा चितुवाहरुको नयाँ जोडी
दुई टाउका र एक शरीर भएर
निस्कने छन् नयाँ सिनोको खोजीमा
साउती गर्दै
स्यालहरुको लाग्नेछ लावा लस्कर
भजन गाउँदै चितुवाहरुको
जब भेटिनेछ
किञ्चित कुहेको सिनो
उसैगरी चल्नेछ फेरि
चितुवाहरुको नयाँ युद्ध ।






























