काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले प्रधानमन्त्री ओली र प्रचण्डहरु असक्षम र निकम्मा साबित भएको भन्दै संसद विघटनको कदम सरकारको मात्रै असफलता नभएर सिंगो संसदीय व्यवस्था, सत्ता र संविधानको असफलता भएको बताउनु  भएकाे छ । महासचिव किरणले नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि उठाउँदै आएको नयाँ जनवादी गणतन्त्रको मुद्दालाई साकार तुल्याउने बेला आएको समेेत बताउनुु भयाेे । उहाँले भन्नुभयो, “संसदीय व्यवस्था, सत्ता र संविधान पटक पटक निकम्मा र असफल साबित भइसकेको छ । संसदीय व्यवस्थामा नेपाल चल्दैन अब । संसदभित्रको विकल्पबाट मुलुक चल्दैन । अब संघीय जनगणतन्त्रको स्थापना गर्नुपर्छ । यो नै अहिलेको अग्रगामी र क्रान्तिकारी विकल्प हो ।”
विश्व सर्वहारावर्गका नेता तथा चिनियाँ नयाँ जनवादी क्रान्तिका सर्वोच्च नेता कमरेड माओको १२८ औं जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासचिव किरणले नयाँ जनवादी गणतन्त्रका पक्षधर शक्तिहरु अब एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेकाे बताउनु भयो । उहाँले छरिएर रहेका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याउने दायित्व आफूहरुको रहेको भन्दै विप्लव नेतृत्वको नेकपा, मसाल लगायतका पार्टीहरुसँग पार्टी एकताको लागि कुराकानी भइरहेको पनि खुलासा गर्नुभयो ।
ओलीले संसद विघटन गरेपछि मुलुकमा विकसित परिस्थिति नयाँ जनवादी क्रान्तिका लागि अझ अनुकूल बनेको विश्लेषण सुनाउँदै महासचिव किरणले संसदको पुनस्र्थापना, संसदको निर्वाचन वा पुनरुत्थानवादीहरुबाट मुलुकमा विद्यमान समस्याको समाधान हुन नसक्ने ठाेेेकुवा गर्दै   राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका समग्र समस्याहरुको समाधानका लागि संघीय जनगणतन्त्र अपरिहार्य बनेको विश्लेषण प्रस्तुत गर्नुभयो ।
नेपालको नयाँ जनवादी क्रान्तिको सन्दर्भमा कमरेड माओले चिनियाँ नयाँ जनवादी क्रान्तिको क्रममा विकास गरेका विचार, सिद्धान्त वा अनुभव अत्यन्तै उपयोगी र आवश्यक रहेको चर्चा गर्दै माक्र्सवादको तीनवटै अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा माओले गरेका सार्वभौम योगदानहरुको अध्ययनमा जाेेड दिनुुुभयाेे ।  माक्र्सवाद–लेनिनवाद–माओवाद नमान्नेहरु कम्युनिस्ट क्रान्तिकारी हुन नसक्ने भन्दै सच्चा माओवादी नहुनेहरु सच्चा माक्र्सवादी र लेनिनवादी पनि हुन नसक्ने दाबी गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओका योगदानहरुको चर्चा गर्दै रिमको विघटनपश्चात फेरि माओवाद मान्ने संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरुको अन्तर्राष्ट्रिय केन्द्र बन्ने बतावरण बनिरहेको बताउनु भयो । मे दिवसको दिन त्यस्ता पार्टीहरुले संयुक्त रुपमा वक्तव्य जारी गर्ने गरेको जानकारी दिंदै अध्यक्ष गजुरेलले नेपाली नयाँ जनवादी क्रान्तिका लागि अन्तर्राष्ट्रिय भाइचरा पार्टीहरुको पनि साथ समर्थनको आवश्यकता पर्ने बताउनु भयो ।
उहाँले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा चर्चा गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई लिएर कार्यगत एकता गरिरहेका राजनीतिक पार्टी र संगठनहरुमा बुझाइमा केही फरक देखिए पनि कार्यगत एकतालाई अझ विस्तार गरेर लैजाने बताउनुभयो । उहाँले अब छिट्टै क्रान्तिकारी संयुक्त मोर्चा बन्ने स्थिति रहेको र त्यसका लागि आफूहरुले पहल गरिरहेको बताउँदै क्रान्तिकारी माओवादीले अगाडि सारेको संघीय जनगणतन्त्रको विकल्पमा धेरै पार्टी तथा संगठनहरु सकारात्मक रहेको पनि जानकारी दिनुभयो । उहाँले पनि संघीय जनगणतन्त्र नै अहिलेको परिस्थितिमा अग्रगामी र क्रान्तिकारी विकल्प भएकोमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का सल्लाहकार समितिका अध्यक्ष समेत रहनुभएका अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले विकसित परिस्थितिमा क्रान्तिकारी माओवादीले हस्तक्षेप बढाएर सम्पूर्ण क्रान्तिकारी तथा अग्रगामी विकल्पका पक्षधर शक्ति तथा व्यक्तिहरुलाई ध्रुवीकृत गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । संघीय जनगणतन्त्रको राजनीतिक नारा नै शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको नारा भएकोमा जोड दिंदै उहाँले सम्पूर्ण उत्पीडित जातिहरुलाई क्रान्तिकारी माओवादीको नेतृत्वमा हुने आन्दोलनमा सहभागि हुन अपिल समेत गर्नुभयो ।
पार्टी पीवीएम दिनेश शर्मा सागरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अर्का पार्टी पीवीएम पवनमान श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रमको सुरुमा कमरेड माओ लगायत जनवादी तथा समाजवादी आन्दोलनमा बलिदान गर्ने सहिदहरुप्रति एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली व्यक्त गर्दै माओको तस्बीरमा कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु र सहभागिहरुबाट फूलमाला अबीर अर्पण गरिएको थियो ।
१२८ औं माओ दिवसको सन्दर्भमा रुपन्देही, दाङ, चितवन, बाँके, बर्दिया, कञ्चनपुर, कास्की लगायतका जिल्लाहरुमा पनि कार्यक्रम सम्पन्न गरिएको सम्बद्ध स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर