ओली पक्षीय मुख्यमन्त्री हटाउँदै दाहाल–नेपाल समूह, ३ नं. प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

ओली पक्षीय मुख्यमन्त्री हटाउँदै दाहाल–नेपाल समूह, ३ नं. प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ । दाहाल–नेपाल समूहले ओली पक्षीय मुख्यमन्त्री हटाउने अभियान सुरु गरेका छन् । ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले बहान ११ः२५ मा हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका शालिकराम जमरकट्टलेलले पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावको प्रस्तावक बनेर प्रस्ताव दर्ता गराएका हुन् ।
त्यस्तै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलालले पनि पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । यसअघि स्थायी राजधानी घोषणा, बजेटको समयमा समेत मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर भए पनि दर्ता भएको थिएन । ओलीपक्षका मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै अल्पमतमा छन् । मन्त्रिपरिषद्मा बहुमत रहे पनि संसदीय दलमा उनको बहुमत पुग्दैन । प्रदेशसभामा नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ जना छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना सांसद छन् । दाहाल–नेपाल पक्षका ४६ जना छन् ।
अब प्रतिपक्षी दलसँग मिलेर दुवै समूहले सरकार बनाउने कसरत गरेका छन् । त्यस्तै ५ नं., ४ नंं र १ नंं. प्रदेशमा पनि ओली पक्षीय मुख्यमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा दाहाल–नेपाल समूह रहेका छन् ।