
काठमाडौं । संसदमा करिब दुईतिहाई मत प्राप्त सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले पौष ५, २०७७ मा संसद विघटन गरेपछि संसदीय व्यवस्थाको औचित्य एकपटक फेरि सकिएको विश्लेषण राजनीतिक वृतमा बाक्लिएको छ । संसदवादी दलहरुले ओलीको कदमलाई असंवैधानिक भन्दै संसद पुनस्र्थापनाको माग अगाडि सारेका छन् भने संसद बाहिर रहेका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुले संसदीय व्यवस्थाकै विकल्प खोज्ने बेला आएको भन्दै संघीय जनगणतन्त्रको एजेण्डा अगाडि सारेका छन् ।

विशेषगरी नेकपा (क्रान्तिकारी माओवादी)ले संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा रहेको वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधान चौतर्फी रुपमा असफल भएको भन्दै यो व्यवस्थाको विकल्पमा संघीय जनगणतान्त्रिक राजनीतिक व्यवस्था स्थापना गरिनुपर्ने विश्लेषण गर्दै आएको छ । क्रान्तिकारी माओवादीले पार्टीको पछिल्लो पोलिटब्यूरोको बैठकले संघीय जनगतन्त्रको एजेण्डालाई पार्टीको तात्कालिक राजनीतिक नाराको रुपमा अगाडि सार्ने निर्णय गरेको हो ।
पार्टीको यही राजनीतिक एजेण्डालाई केन्द्रित गर्दै क्रान्तिकारी माओवादीले देशव्यापी रुपमा आन्दोलन थालेको छ । विकसित राजनीतिक घटनाक्रमको सन्दर्भ पारेर क्रान्तिकारी माओवादीले बुधबार (८ पौष गते) काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा विरोधसभाको आयोजना ग¥यो ।
‘संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र’ भन्ने मूल नाराका साथ आयोजित विरोसभालाई पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, पार्टी पीवीएम तथा ३ नं. प्रदेशका इन्चार्ज दिनेश शर्मा सागर, अखिल नेपाल अदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । क्रान्तिकारी माओवादीको यो विरोधसभाको कार्यक्रमलाई हाम्रा सहकर्मी तथा बरिष्ठ तस्बीरहरु पत्रकार सागर श्रेष्ठले आफ्नो क्यामेरामा कैद गर्नुभएको छ । उक्त फोटोलाई यहाँ फोटोफिचरको रुपमा प्रस्तुत गरिएको हो ।


































