क्रान्तिको अर्थ पुरानो राज्य व्यवस्थाको आमूल परिवर्तन हो । अर्थात् राज्यसत्ताको आधार र उपरिसंरचना दुबैको एकसाथ सम्पूर्ण रूपले बदल्नु हो । हरेक राजनीतिक क्रान्तिले समाजको आर्थिक आधार परिवर्तन गरेन भने त्यो क्रान्ति वास्तविक क्रान्ति हुँदैन । आर्थिक क्रान्तिले समाजको उत्पादन सम्बन्ध र उत्पादक शक्तिमा परिवर्तन ल्याउन अनिवार्य हुन्छ । त्यो कार्यभार पूरा त्यतिबेला हुन्छ जब राजनीतिक आन्दोलन सँगसँगै सांस्कृतिक आन्दोलन पनि गरिन्छ । त्यसैले माक्र्सदेखि माओसम्मका सबै दार्शनिकहरूले सांस्कृतिक आन्दोलनलाई महत्वका साथ उठाएका थिए । अझ माओले त झन् सांस्कृतिक आन्दोलनलाई बिशेष जोड दिएर यसको महत्व र आवश्यकता औँल्याउनु भयो । त्यसैले आफ्नै नेतृत्वमा सम्पन्न भएको समाजवादी शासनसत्ताका विरुद्ध सर्वहारा सांस्कृतिक क्रान्तिको घोषणा गरेर जनता र कार्यकर्ताहरूलाई बुजुवा सत्ताको मुख्यालयमा बम बर्साउन आह्वान गर्नु भयो र त्यसको नेतृत्व गर्नुभयो ।
नेपालमा कम्युनिस्टहरूले सुरुमा देशको आमूल परिवर्तन गर्ने भनेरै कम्युनिस्ट पार्टी स्थापना गरे र कम्युनिस्ट बने । नेपाली समाजको राजनीतिक प्रणाली, आर्थिक आधार, उत्पादन सम्बन्ध, सांस्कृतिक चेतना र अवस्था, वर्गीय आधारको विश्लेषण गरेर नेपालमा नयाँ जनवादी क्रान्तिको प्रकृया हुँदै बैज्ञानिक समाजवादी क्रान्ति गर्ने कार्यनीति र रणनीति तय गरियो । सत्ताको उपरिसंरचनामा पटक पटक फेरवदल आएता पनि अहिले पनि नेपाली समाजको आधारभूत चरित्र यथावतै छ । त्यसैले जनयुद्धको लक्ष्य पनि जनवादी क्रान्ति गर्ने नै थियो । जनयुद्धमा राजनीतिक क्रान्ति सँगसँगै सांस्कृतिक क्रान्ति पनि चलाउनु पर्छ भनेर कार्यक्रम बनाइयो । दस्तावेजहरू लेखिए । नेतृत्व तहबाट धैरै प्रशिक्षणहरू पनि चलाइए । गजबको कुरा त के छ भने प्रचण्डले जे जस्तो भाषा शैलीमा विषयवस्तु प्रस्तुत गर्थे हुबहु शैलीमा हुबहु कुरा अरू केन्द्रीय नेताहरूले जस्ताको तस्तै तल सम्प्रेषण गर्थे । परन्तु औँलामा गनिने केही नेता बाहेक अधिकांश केन्द्रीय तहका नेताहरू विचार र सिद्धान्त बुझेकै रहेनछन् । यो कुरा कथित शान्ति प्रकृयापछि सबै नेताहरू प्रचण्डको पछि सति गएजस्तै भएर जनयुद्ध विसर्जन गर्न सहमत हुनुले प्रष्ट भयो । यसो हुनुमा मालेमावादी सिद्धान्तलाई ठिकसँग बुभ्mनु, पकड्नु र त्यसलाई लागू नगर्नुको परिणाम हो । जब सिद्धान्त नै राम्रोसँग बुझिएको छैन भने सांस्कृतिक क्रान्तिको कुरा बुभ्mने त प्रश्न नै भएन । त्यसैले आज विशेषतः सत्तासीन माओवादी नेता कार्यकर्ताहरूमा यति ठूलो वैचारिक स्खलन आएको छ । कही दृष्टान्तहरू हेरौँ ।
‘शान्ति प्रकृया’मा आएपछि जनमुक्ति सेनालाई अनमिनको निगरानीमा क्यान्टोनमेन्टमा राखियो । सङ्गठक नेता कार्यकर्ताहरू सबै आआफ्ना गक्ष्यअनुसारका सहरमा केन्द्रित भए । जनमुक्ति सेनाहरूलाई आधारभूत खर्च भन्दै सरकारी ढुकुटीबाट तलब खुवाउन थालियो । अयोग्य र पलायन हुनेको सङख्या बढ्दै गएपछि क्यान्टोन्मेन्टमा रहेका उच्च तहका कमाण्डरहरूमा रकमको छेलोखेलो हुन थाल्यो । उनीहरू भ्रष्ट हुँदै गए । अनमिनले आँखा चिम्लियो । किनकि उसको उदेश्य पुन विद्रोह नहोस् भन्ने थियो । उता प्रचण्डको नेतृत्वमा रहेको जनरल हेडक्वार्टरले भ्रष्ट संस्कृतिलाई काखि च्याप्यो । किनकि प्रचण्डलाई पुनः युद्धमा फर्कनु थिएन । सहरी विद्रोहको कुरा त मुखमा मात्रै थियो । भित्री मनमा त संसदीय व्यवस्थामा आफ्नो स्थान सुरक्षित गर्दै त्यसलाई बलियो बनाउनु थियो । त्यसपछि सहरमा भएका सङ्गठकको मुख्य हिस्सा र सेनाका उच्च कमाण्डरहरू मिलेर कब्जा गरिएका जमीन जिम्दारबाट सस्तोमा लिने र प्लटिङ गरेर अकुत धन आर्जन गर्ने प्रकृया देशैभरी जङगलमा सल्किएको डढेलोझैँ फैलियो । क्रमशः एकपछि अर्को गर्दै विकृतिका तलाउमा नेता कार्यकर्ताहरू डुब्दै जान थाले ।
सामाजिक विकृतिको विरुद्ध जनयुद्धमा रक्सीका भट्टि फालियो । कुलतमा लागेकाहरूलाई श्रमकैदमा राखेर सुधार गरि तिनैलाई नेता कार्यकर्ता बनाइयो । जुवातास हटाईयो । जातीय धार्मिक विभेदको अन्त्यको अभियान चलाइयो । भ्रष्ट, सुदखोर र विचौलियाहरूलाई कारवाही गरियो । महिला हिँसा, र हिँसाजन्य संस्कृति हटाउने अभियान चलाइयो । जनमुक्ति सेनामा महिलाहरूको ठुलो सहभागिता गराउने र इन्फेन्ट्रि ग्रुपमा राखेर फस्ट एसाल्टमा लडाएकै कारण साही सेना हालको नेपाली सेनामा महिलाको उपस्थिति उल्यख्य हुने बातावरण बनाइयो । परन्तु आज तिनीहरूकै एउटा हिस्सा दलाल, माफियामा लाग्ने, रक्सी पसल खोल्ने, जुवातास खेल्ने गर्न थाले । दुईवटी श्रीमती बिहे गर्ने, अन्तर जातीय बिबाहा गरेकाहरूले डिभोर्स गर्ने, जनयुद्धकै क्रममा गरिएका बिबाहा तोडेर उनीहरूलाई अलपत्र पार्दै नयाँ बिबाह गर्ने गरेर जनयुद्धमा स्थापित मूल्य बिघटन भए । जातीय विभेध गर्ने, धर्मभीरु भएर पुरातन संस्कृतिका पछि लाग्ने, मन्दिर उद्घाटन गर्ने, दरदाइजोको तामझाम सहितका बिहे भोजभतेर गर्ने गर्न थाले । परम्परागत रुढिवादी चाडबाड र बर्थडे धुमधामसित मनाउने गर्न थाले । महल ठड्याउने, गाडि मोटर बिना एक पाइला नसार्ने, कस्को बाइक, गाडी महङ्गो भनेर आपसमा होडबाजी गर्ने प्रवृत्ति बढ्न थाल्यो । महङ्गा होटेलमा बाहेक अन्त बास नबस्ने, पुलिसको लावालस्करको स्कटिङ भएको र गराउन पाएकोमा गदगद हुने नेता भए । कार्यकर्ताहरूलाई नोकरचाकरलाई जस्तो अरनखटन गर्ने आदि इत्यादि विकृतिमा तिनै सत्तासीन र तिनका वरिपरिका कतिपय माओवादी नेता कार्यकर्ता लागेका छन् ।
त्यसैगरी अहिले नेताहरूका परिवारका सदस्यहरू कालगति र रोगव्याधि वा दुर्घटनामा परेर मर्दा निकै रुवावासी गरिरहेका देखिन्छन् । परम्परागत काजकृया गर्ने, धार्मिक मिथकमा विश्वास गर्ने गरिरहेका छन् । परिवारको सदस्य गुमाउँदाको पीडा कति हुँदो रहेछ । नेता र नेताका परिवारका सदस्यहरूका फेसबुक स्टाटसहरूले नाङ्गै देखाइरहेका छन् । रोगव्याधी वा कालगतिले मर्दा त यस्तो विधि रोइलो छ । जनयुद्ध वा विभिन्न आन्दोलनहरूमा सहिद भएका, वेपत्ता पारिएकाहरूका आफन्तहरूलाई कस्तो भइरहेको होला । कम्तीमा जनयुद्ध सफल भएको भए वा लड्दा लड्दै हारेको भए सबैका पीडा मिसिने थिए । जनयुद्धको ट्रयाक बदलेर ठुलो दुर्घटनाबाट क्याप्टेनले बचाएको भनिन्छ । यो त वितण्डावादी तर्क हो । परन्तु त्यसको फाइदा तिनै नेता र तिनका परिवार तथा नेताका केही दर्जन भक्तजनहरूलाई ‘स्वर्ग’ प्राप्त भएको बाहेक आधारभूत वर्गले के पायो ? तथापि आफन्त सबै सकुसल बसेर सत्ताको स्वादिलो परिकार ज्युनार गर्ने अवसर गुमेकोमा यत्रो छट्पटी छ । यो तथ्यले के पुष्टि गर्छ भने यस्ता प्रवृत्तिमा लागेका नेता, तिनका परिवार र कार्यकर्ताहरू काङ्ग्रेस, पञ्च र एमालेका नेताहरूले सत्ताको स्वाद डकारेको आरिसले लागेका रहेछन् भन्ने जनतालाई पर्न गएको छ ।
यसरी माओवादी नेता कार्यकर्ताहरूमा यति ठूलो विघटन, विसर्जन र विकृति मौलाउनुको पछाडि विचारधाराकै कमी हो भन्ने कुरा प्रष्ट छ । सङ्गठनात्मक रूपले कम्युनिस्ट पार्टीको सदस्य हुनु र विभिन्न तहका कमिटीहरूमा बस्नु मात्रै प्रमुख कुरा होइन । प्रमुख कुरा कम्युनिस्ट सिद्धान्तले लैस हुनु हो । प्रधानमन्त्री केपी ओलीले एउटा टेलिभिजन अन्तरवार्तामा आपूm वैचारिक कम्युनिस्ट नभएर राजनीतिक कम्युनिस्ट भएको बताएका थिए । उनले यो इमान्दार कुरो गरेका हुन् । किनकि सत्तासीन नेकपा वास्तवमा राजनीतिक पहिचानको एउटा ट्रेडमार्क मात्रै हो । बजारमा पसल तथा होटेलहरूका विभिन्न नाम दिए जस्तै ।
संस्कृतिको अर्थ परिस्कार गर्नु वा नयाँ सिर्जना गर्नु हो । कम्युनिस्टहरू पहिला आफूभित्र रहेको पुरातन विचार, संस्कार, संस्कृतिलाई त्यागेर भौतिकवादी बन्न अनिवार्य छ । त्यसपछि मात्रै समाजको पुरातन विचार, संस्कार, संस्कृति बदल्न सकिन्छ । संस्कृतिको क्षेत्र विचारधारात्मक हुने भएकाले पहिला आफ्नो विचार बदल्नु पर्दछ । राजनीतक क्रान्ति सम्पन्न भयो भने त्यसले भौतिक संस्कृतिको रूपान्तरण गर्दै जान्छ । नेता कार्यकर्ताको आत्मिक संस्कृतिको रूपान्तरणले समाजका अन्य मानिसको प्रकृति तथा सामाजिक जीवनसम्बन्धी ज्ञान, दृष्टिकोण, क्षमता र आचरणको स्तर बदल्न मद्दत गर्छ । यसरी मात्रै सत्ताको उपरि ढाँचामा परिवर्तन आयो भने समाजका मानिसहरूको दर्शन, राजनीति, नैतिकता, शिक्षा, कला, सौन्दर्य चिन्तन, विज्ञान, आदिका बुझाइमा परिवर्तन आउँछ । तब मात्रै सभ्य, उन्नत र बैज्ञानिक समाज बन्दछ । सांस्कृतिक क्रान्तिको महत्वबारे चर्चा गर्दै माओले ‘क्रान्तिबाट पुरानो राज्यसत्ता परिवर्त भएपनि सत्ताबाट फ्याँकिएको शोषक वर्गले आफ्ना पुराना विचार, संस्कृति, रितिरिवाज, चालचलन र आदतहरूको प्रयोग गरेर जनतालाई भ्रमित पार्ने, उनीहरूको मन मस्तिष्कलाई नियन्त्रण गर्ने र सत्तालाई हत्याई पुरानै अवस्थामा फर्काउने अनेकौं प्रयास गरिरहेको हुन्छ । त्यसैले सर्वहारावर्गले ठीक उल्टो त्यसको दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ र साथै सर्वहारा वर्गको नयाँ विचार, संस्कृति, नयाँ चालचलन र आदतहरूको प्रयोग गरेर सिँगो समाजको मानसिक दृष्टिकोण बदल्नु पर्दछ’ भनेर स्पष्ट पार्नु भएको छ ।
अबको लडाइँमा हरेक कार्यकर्ता र जनता चनाखो हुन, आलोचनात्मक चेतना राख्न जरुरी छ । साथै नीति र नेतृत्व निर्माणमा पनि मालेमावादी पद्धति अपनाउन जरुरी छ । लाल र निपुणको उचित संयोजन गर्न र वर्गलाई प्राथमिकता दिनु पर्दछ । निकै सोचविचार गरेर मात्रै हतियार उठाउनु पर्दछ । जनयुद्धका सीमा र कमजोरीको गम्भीरतापूर्वक समीक्षा गर्नु पर्दछ । र सबैभन्दा पहिले अबको क्रान्तिको नेतृत्व गर्ने नेता कार्यकर्ताले आत्मसङ्घर्ष निर्ममतापुर्वक गर्नु पर्दछ । आत्मसङ्घर्ष गर्नु भनेको आफैँभित्र सांस्कृतिक क्रान्ति गर्नु हो ।

प्रतिक्रिया

सम्बन्धित खवर