इरानी पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्डको फैसला

इरानी पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्डको फैसला

एजेन्सी । इरानी पत्रकार रुहोल्लाह जामलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । जामले सरकारविरुद्ध गतिविधि गरेको तथा सामाजिक सञ्जालमा सरकार विरोधी घृणा फैलाएको भन्दै इरानी सरकारले उनीमाथि मुद्दा लगाएको थियो । सरकार विरोधी पत्रकारको रुपमा चिनिने जामले २०१७ मा सरकारको आलोचना गर्दै सोसल मिडियामा अभिव्यक्ति दिएका थिए ।
यस मुद्दामा रिभोल्युसनरी कोर्टले गरेको फैसलालाई सर्वोच्च अदालतले अनुमोदन गरेको न्यायपालिकाका प्रवक्ता घोलमहोसेनी एस्माइलीले मंगलबार पत्रकार सम्मेलनको क्रममा बताएका छन् ।
उनका अनुसार अदालतले एक महिनाअघि नै उक्त मुद्दाबारे बहस र फैसला गरिसकेको थियो । पत्रकार जामलाई सरकारले २०१९ को अक्टोबरमा इराकबाट पक्राउ गरेको थियो । उनीमाथिको कारवाहीलाई इरानमा सरकारी अधिकारीहरुले ’जटिल कारवाही’को रुपमा विश्लेषण गरेका छन् ।
पत्रकार जामले फ्रान्समा रहेर पत्रकारिता गर्ने गरेका थिए । जहाँ उनले अमाद न्युज नामको मिडिया सञ्चालन गरेका छन् । जुन इरानमा अत्याधिक चर्चित छ । यद्यपि सरकारले यसलाई प्रतिबन्ध लगाएको छ ।

गत जुलाइमा जामका बाबुले प्रधानन्यायाधीश इब्राहिम रइसीलाई पत्र लेख्दै उनको छोरामाथि फाँसीको सजाय इस्लामिक न्यायविरुद्ध हुने दावी गरेका थिए ।

यसवाहेक जाममाथि फ्रान्स र इजरायलका जासूसीहरुसँग मिलेर इरानविरुद्ध काम गरेको पनि आरोप लगाइएको थियो । साथै इरानको विखण्डीकरणमा हिंसात्मक गतिविधि गराएको आरोप समेत लगाइएको छ ।

जामले भने ती सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दावी गर्दै आएका छन् ।