विश्व अहिले थिलथिलो अवस्थामा छ । आर्थिक गतिविधि केन्द्रिकृत रुपमा परिचालित छ । यसका हर्ताकर्ता अमेरिका, युरोप र एशियाका केहि देशहरु हुन । यिनै देशहरुबाट सारा संसारका नीतिनियम, राज्य सञ्चालन विधि, आर्थिक परिचालन, शिक्षा, स्वास्थ्य, व्यापार, श्रम, पुंजि सम्बन्धि समग्र गतिविधि परिचालित छन् । मैले मलेशियाबाट फर्केका भाइहरुबाट सुनेको थिएं त्यहांका राजनीतिक दलहरु सत्ता नामको कुर्सीमा बस्छन् रे मात्र, त्यसलाई सञ्चालन गर्ने काम चाइनिजहरुले गर्छन् रे । पुंजिवादी अर्थव्यवस्थाले केहि सिमित देशहरु र तिनै देशहरुका केहि प्रतिशत व्यक्तिलाई मात्र फाइदा भएको छ । केहि खोज अनुसन्धानबाट पत्ता लगाइए अनुसार विश्वका १÷२ प्रतिशत व्यक्तिको हातमा विश्वका सम्पूर्ण देशहरु भन्दा पनि धेरै पुंजि छ भनिन्छ । आज अमेरिका जुन विश्वको दादागिरीको अवस्थामा पुगेको छ, त्यो प्राप्त गर्नको लागि उसले अफ्रिका र धेरै जसो खाडी मुलुकहरुको प्राकृतिक श्रोत साधनहरुको दोहनबाट अकुत सम्पत्ति आर्जन गर्न सकेको हो र अझै निरन्तर छ । अनि उसले विश्वका सारा मुलुकलाई आकर्सित गर्न सक्नु हो । जसको लागि उसले शिक्षा, स्वास्थ्य, खुलापन, कामको लागि राम्रो वातावरण तयार पारिदिएको छ । एक जना अनुसन्धाताको विश्लेषण अनुसार अमेरिकाले शिक्षा क्षेत्रमा अथाह प्रगति गरेको छ । उसले शिक्षालाई निर्यातमुखि बनाएको छ र त्यसको व्यापारबाट मात्र अरबौं आम्दानी गर्छ । आफुलाई चाहिने दक्ष श्रम शक्ति बाहिरबाट बिना लगानी भित्र्याउंछ । यदि त्यसरी पनि उसलाई चाहिने दक्ष जनशक्ति प्राप्त भएन भने त्यसलाई खरिद गरेर बिभिन्न आर्थिक प्रलोभनमा पारेर भित्र्याउने गरेको छ । एउटा अनौथो र कसैले बिरोध वा थाहा नै नपाउने गरि के धनि, के गरीव केहि देशहरुबाट बाहेक सबैजसो मुलुकहरुबाट खरबौं आम्दानी गर्ने अनुमान लगाउन सकिन्छ । पैसा कमाउने जुक्ति पनि गज्जबको । भिषाको लागि निवेदन दिंदा मात्र पनि १०० डलर, भिषा लागेपछि १०० डलर र मेडिकल गर्नको लागि १५० डलर (सुनिए अनुसार तलमाथि पनि हुन सक्छ) । मानि लिउं एक दिनमा भिषाको लागि निवेदन दिने १०० जना भए । भिषा लगाउन निवेदन दिंदा मात्र नेपाली पैसा रु. ११९४३००।( खर्च हुन्छ । भिषा लाग्ने ७० जना भए त्यसको खर्च रु. ८३०१०।( हुन्छ र ती सबैले मेडिकल गर्दा १२५४०१५।( खर्च हुन्छ । यो त एउटा नेपालबाट मात्र हुने आम्दानी भयो । यसैगरि विश्वका अन्य मुलुकहरुको हिसाव गरौं त कति आम्दानी गर्छ हौला ? नेपालबाट युवायुवतीहरु उच्च शिक्षाको लागि त्यहां जाने बिधार्थीहरुबाट तेहोरो फाइदा लिएको देखिन्छ । एकातिर नेपालमा भिषा प्रोसेसिंग खर्च, उता शिक्षामा लिने रकम र सस्तोमा श्रम लिन पाउने, यहि हो उनिहरुको प्रमुख आम्दानीको श्रोत । त्यसै कारण अमेरिकाले डिभि भिषा चाहेर पनि बन्द गर्न सक्दैन । यसबाट मात्र उसले वर्षेनी अरबौं आम्दानी गर्छ । मलाई अरु कुरामा त्यति सरोकार थिएन तर नेपालबाट युवाहरु जुन उच्च शिक्षा लिन जान्छन् त्यसबाट हामीलाई कुनै फाइदा छ जस्तो लाग्दैन । किनभने अमेरिकामा जुन प्रविधियुक्त उच्चस्तरको शिक्षा हासिल गर्छन् त्यसले हाम्रो जस्तो डांडाकांडा, बनपाखा र प्रविधिको विकास नभएको देशमा यसको सहि उपयोगीता देखिदैन । त्यहांको शिक्षा प्राप्त गरेका युवाहरुलाई त्यहीं बस्नेको लागि त ठिक होला तर नेपालमा झन निराशा मात्र बढाउनेछ । फेरी नेपालीहरुको समस्या भनेको के हो भने शिक्षा हासिल गरेपछि जसरी हुन्छ काम खोज्ने । आफै शिक्षा अनुसारको उद्योग, व्यवसाय गर्न नचाहने प्रवृति रहेको कारण पनि समस्या देखिएको हो । यो प्रवृत्ति देखेर पनि म जस्तो प्रगतिशिल राजनीतिक कार्यकर्ताको हैसियतले ती उच्च शिक्षा हासिल गर्न युरोप, अमेरिका र अन्य विकसित देशमा जाने युवायुवतीहरुलाई नेपाल सुहाउंदो उच्च शिक्षा यहिं नेपालभित्रका गाउंघर, डांडापाखाहरुमा हाम्रै गाउंले दाजुभाई, दिदीबहिनी, बुढापाका र त्यहिंका स्थानीयहरुको सहयोग र आवश्यकता अनुसारको शिक्षा शुरु गर्नु पर्छ र देशलाई आफ्नै बलबुता र उत्पादनले पेट भर्ने गरि आत्मनिर्भरयुक्त आर्थिक उन्नति गर्नु पर्छ र देशिभित्रै रोजगारको सृजना गरि विदेश जाने प्रवृत्तिको अन्त्य हुनु पर्छ भनेर पहल लिन नसक्ने म कसरी क्रान्तिकारी ?
देश आज आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, कुतनैतिक रुपमा जरजर अवस्थामा पुगेको छ । नेपालका राणा शासक रणोद्धिप सिंहको पालामा उनका भाई सेनापति धीरशमशेरले नेपाली युवाहरुलाई ब्रिटिस भारतले सेनामा भर्ति गर्न एक युवा बराबर एक राइफल दिने मञ्जुरीनामा गरिएको देखिन्छ । यो त्यस समयदेखिको ब्रिटिस सेनामा भर्ति हुने प्रचलन र विभिन्न खाडी मुलुकहरुमा रोजगारीको लागि विदेश जाने प्रचलनले आज देशका होनहार युवाहरु विदेशीहरुको गुलाम बन्न बाध्य छन् । हाम्रो जस्तो सीपयुक्त शिक्षाको कमि र प्रविधिको ज्ञानको कमिको कारण नेपाली युवाहरु सस्तो श्रम बेच्न बाध्य छन् र जसले हाम्रा युवाहरुलाई सस्तो श्रममा प्रयोग गरेका छन् ती देशहरु धनी बनिरहेका छन् भने हामी अझ गरीव बन्दै गइरहेका छौं । इतिहांसलाई केलाउने हो भने नेपालका सोझा साझा युवाहरुलाई विदेश पठाउनुको प्रमुख कारण राज्य सत्तामा रहेका राणा साहेवहरुलाई कतैबाट दख्खल नआओस् भन्ने देखिन्छ । किनभने त्यस समयका सर्वशक्तिमान र राजाका वरिपरि मगरहरु रहेको देखिन्छ । यिनीहरु सोझो तर लडाकु स्वभावका कारण जंगबहादुर राणालाई यिनीहरुलाई यहांबाट नहटाएसम्म उनले राज्य सत्तामा टिकिरहन सक्ने अवस्था थिएन । यहि रणनीति आज पनि प्रयोगमा ल्याएको देखिन्छ । यो कुरा अहिलेका कृषि तथा पशुपन्छी विकास मन्त्रि घनश्याम भुषालको भनाइले पनि प्रष्ट पार्छ । यो कोरोनाको कारण धेरै युवाहरुको रोजगार गुम्दैछ । यदि यो युवाशक्ति नेपालमा फर्कियो भने विद्रोह हुन सक्छ । त्यसैले उनले कृषि विकासका लागि केहि राम्रा योजनाहरु पनि अघि सारेका थिए । तर पुंजिवादी धारका अर्थमन्त्रिका कारण ती सबै कार्यक्रम वजेटमा कटौती भएर आए । अब त उल्टो सोंचका शासक र कोभिड रोगका कारण सारा अर्थतन्त्र नै उल्टो दिशातिर हिडिरहेको छ । यो कोभिड त एउटा बहाना बनाउने बाटो मात्र भएको छ । अर्थतन्त्र त त्यो भन्दा अघि नै धरासायी बनाइसकेका छन् । हाम्रो देशको आफ्नो भन्ने केहि छैन । अर्थतन्त्र ध्वस्त बनाउने पहिलो शुरुवात त रुष, चीन, जापान, अमेरिका लगायत केहि दातृ राष्ट्रहरुले सहयोगमा दिएको धेरै राम्रा उद्योगहरु अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र ब्रिटेनका राष्ट्रपति मार्गरेट थ्याचरका नवउदारवादी नीतिलाई नेपालको भौगोलिक विशेषताविपरित जबर्जस्त लाद्न खोज्दा आज देशले यो दुर्गति भोग्न बाध्य भएको छ । आज नेपाली उत्पादनले वजार नपाएर किसानहरु ऋणको भारीको पीडा सहन नसकेर आत्महत्या गर्न विवस छन् । उखु किसानहरु वर्षौदैखिको पैसा नपाएर आन्दोलन गर्न बाध्य छन् तापनि यसको सुनाई कतैबाट हुदैन । नेपालका किसान जो नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड हो उसैलाई आज राज्य सत्ताले हेर्दैन किनकि उसको त्यो नीतिभित्र नै पर्दैन । तर म क्रान्तिकारी भएर पनि खै त त्यसको लागि पहल गर्न सकेको वा त्यसको नेतृत्व गर्न सकेको ? म क्रान्तिकारी भएर पनि जाबो तराइमा मात्र सिमित सानो क्षेत्रको उखु किसानहरुको नेतृत्व पनि गर्न नसक्ने हुतिहारा म कसरी क्रान्तिकारी हं ? अझ समग्र किसानका समस्या त जटिल अवस्थामा पुगेको छ । किसानहरुले उत्पादन गरेका तरकारी, फलफुल, अन्नपात, दूध, गेडागुडी लगायत वस्तुहरु वजारसम्म पहुंचको अभावको कारण र तिनीहरुको सहि भण्डारण हुन नसकेको कारण ती उत्पादित वस्तु त्यसै खेर फाल्नु पर्ने अवस्था छ । यता दलाल, विचौलिया, ठेकेदार, व्यापारी, सत्ताधारी शासक जस्ता नाफाखोरहरु भारत लगायत विदेशबाट आयातित सामानहरुबाट मालामाल बनिरहेका छन् । त्यसको केहि प्रतिशत नाफा सरकारी कर्मचारी र शासन सत्ताका मालिकहरुले पनि कोसेलीको रुपमा प्राप्त गर्ने होलान् । आफ्नै आंखा अगाडि देशको अर्थतन्त्र ध्वस्त बनाएको चुपचाप हेरि मात्र रहने र औंसी पुर्णिमा जसरी यसो आन्दोलनको नाममा विरोध स्वरुप कर्मकाण्डी विरोध गरेर बस्ने म कसरी क्रान्तिकारी ? यी सबै समस्या जनताकै बीचमा बसेर त्यहिंको परिवेश अनुसार अर्थोपार्जन र आत्मनिर्भरका कुनै पनि कार्य गर्न नसक्ने म जस्तो हुतिहारा कसरी क्रान्तिकारी ?
देश आज विभक्त अवस्थामा पुगेको देखिन्छ । यसलाई अझ यसरी भनौं देशका नागरिकहरुमा विभाजित मनस्थिति रहेको देखिन्छ । एकले अर्कोलाई विश्वास गर्न नसक्ने वातावरण बन्दै गरिरहेको जस्तो देखिन थालेको छ । आफ्नो हक, अधिकारको लागि लड्नु स्वभाविक हो तर एउटाको अधिकारको लागि अर्को समुदायलाई असर हुनु हुदैन । अहिले वास्तवमा त्यहि भैरहेको छ । हिजो जस्तो अशिक्षा, अज्ञानताको फाइदा उठाए जस्तो अहिले सजिलो छैन । त्यसलाई पुरानै सोंचले बुझ्न खोजियो भने परिस्थिति गम्भिर बन्न जानेछ । खासमा केहि अगुवा पुरातन सोंचका नेतृत्वका कारण पनि यो अवस्था सृजित हुन पुगेको देखिन्छ । आफ्नो पछाडि परेको समुदायलाई देखाएर आफु माथि चढ्ने भ(याङ्ग बनाउने केहि सामन्ति र सांघुरो सोचंको पीडा ती विचरा उत्पिडित र पिछडिएका जाति, क्षेत्र, लिङ्ग, भाषा, दलित, जनजाति÷आदिवासी, मजदुर सबैले दुःख भोग्न बाध्य भएका छन् । नेपालमा यो टाठाबाठाले फाइदा लिने परापुर्वकालदेखिकै परम्परा जस्तो बनेर आएको देखिन्छ । यसैकारण नेपालमा उत्पिडन कहिल्यै नमिटिने घाउ बनेर बसेको छ । चाहे जो राज्य सत्तामा पुगोस् त्यहि परम्परा अनुसरण गरेको देखिन्छ । मानिलिउं, त्यो एउटा सांस्कृतिक परापुर्वकालदेखिको चलन हो, यसलाई छोड्नु धर्मको विरुद्ध हो । अर्को एउटा पुरानै परम्परा जस्तो बनेर बसेको छ, कानूनको पालन । यसलाई कानूनी भाषामा भन्नु पर्दा कानूनी राज्य भनिन्छ । चाहे त्यो तानाशाही क्रुर राज्य सत्ता होस् या ग्रिक दार्शनिकहरुले व्याख्या गरे जस्तो आदर्श राज्य होस् या पूर्विय दर्शनमा व्याख्या गरे जस्तो राम राज्य, जहां कानूनको पालना गर्नु अनिवार्य हुन्छ । जसले कानूनको उलंघन गर्छ, त्यसलाई दण्ड दिने प्रचलन एउटा विश्व मान्यता हो । जब कानूनको उलंघन राज्य सञ्चालकबाटै हुन्छ तब त्यहां अराजकता शुरु हुन्छ । अहिले देशमा विभिन्न घटनामा नकारात्मक व्यवहारहरु प्रदर्शन हुनु त्यसैको पराकाष्ठा हो । सानो सानो घटनामा पनि अस्वाभाविक र अभद्र व्यवहारहरु प्रदर्शन हुन थालेका छन् । राज्य सत्तामा बस्नेले नै कानूनको पालना नगरेपछि नागरिकलाई त्यो मान्नु पर्ने बाध्यता के रह्यो र ? फेरी कानूनको पालना गर्नु पर्ने सर्बसाधरणले मात्र किन ? नेपालको राज्य सत्तामा यति धेरै विकृति मौलाएको छ कि एउटा सानो कामको लागि पनि या त घुस खुवाउनु पर्ने या त आन्दोलन गर्नु पर्ने या त राजनीतिक पहुंच देखाउनु पर्ने । यो भनेको जसको शक्ति उसको भक्ति भने जस्तै भयो । जसले सक्छ उसले फाइदा लियो, जसले सकेन ऊ पछाडि प(यो । जसको बोलिदिने कोहि छैन, कतै पहुंच छैन अनि दुरदराजका सर्बसाधरणहरु सधैं अरुले फाइदा लिएको तुलुतुलु हेरेर मात्र बस्ने ? के तिनीहरुको दिन कहिल्यै नआउने हो ? के तिनीहरु सधैं आफ्नो भाग्यलाई धिक्कार्दै बस्ने मात्र हुन् ? तिनीहरुकै नामबाट राजनीति गर्ने अनि पछाडि पर्ने चांहि उनिहरु मात्रै ? के ती जनताहरुको नाम भजाएर सधैं तिनै राजनीतिक ठेकेदारीहरुले मात्र फाइदा लिइरहने हो ? ती ठेकेदारी राजनीतिज्ञहरुले त्यसै गरे किन कि तिनीहरु त्यसैको लागि राजनीति गरेका हुन् । उनीहरु त्यहांबाट बाहिर जान पनि सक्दैनन् । उनिहरु नेपाली जनताका लागि राजनीति गरेका होइनन्, विदेशी दलालहरुको स्वार्थपुर्तिका लागि र आफ्नो वरिपरिको वर्गको उत्थानको लागि राजनीतिक दल खोलेका हुन् भन्ने त अब सबैलाई छर्लङ्गै भैसकेको हुनु पर्छ जस्तो लाग्छ । ठीक छ उनिहरु त पश्चगामी, दलाल, नोकरशाही हुन् अनि म चांहि देशको परिवर्तन चाहने माक्र्स, लेनिन र माओको असली आदर्श सिद्धान्त मान्ने, त्यसो भए खै त त्यसको लागि तयारी गरेको ? देशका यी यावत विकृति, समस्या, उत्पिडन, परनिर्भरताको समस्या आदि विविध समस्या हुदाहुदै पनि त्यसलाई ठोस समाधानको पहलकदमी लिन नसक्ने कसरी क्रान्तिकारी ? म एउटा उत्पिडित क्षेत्र, गरीवि, अशिक्षा, पिछडिएको जनजातिको प्रतिनिधित्व गरेको क्रान्तिकारी पार्टीको सदस्य, जहां सर्वहारा वर्गको राज्य सत्ताको नेतृत्व गर्ने सिद्धान्त विचारधारा बोक्ने व्यक्तिले त्यसको पहलकदमी लिनु पर्दैन ? म यहां शहरमा एक हुंकार छोड्दा वा कुनै समस्या हुंदा नेपाल जस्तो कुना, कन्डरा, भिरपाखाको भयानक गर्जन आउनु पर्ने हो । मेरो एक बोलिले ती उत्पिडित, अशिक्षा, रोग भोग, गरीविमा पिल्सिएका, असहाय, दलित, जनजाति÷आदिवासी, सुकुम्वासी, मजदुर, कमैया, हलिया चरुवा जुरुक्क उठ्नु पर्ने हो । मैले हान ठोक भन्दा हंसिया, खुकुरी, बन्चरो, भाला, लठ्ठि बोकेर सबै उठ्नु पर्ने हो । तर विडम्बना, खुइय लामो स्वास फेर्दै भन्नु परेको छ, उनिहरुले बिगारे । आन्दोलन उठाउन गाह्रो भयो । त्यसलाई परिवर्तन गर्नको लागि खै त म ती जनताहरुको आड भरोसा बन्न सकेको र मलाई विश्वास गरेर मलाई सहयोग र साथ दिन सक्ने बनाउन सकेको ? ती जनताहरु र मेरोबीच आकास जमिन फरक छ । म यहां शहरमा आन्दोलन भन्दै कराउदैछु, उता जनताहरु दुःख पाइयो भनेर बिलौना गरेर बसिरहेका छन् । उनिहरुको उत्थान र विकासको लागि भनेर स्थानीय राज्य सत्ता पनि निर्माण गरिएको छ । नाराचांहि खतरा छ गाउंगाउंमा सिंहदरवार । तर ती प्रतिनिधिहरु विकास होइन विकासको नाममा चरम भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । जनता बिचरा के गरुन् । हाम्रै गाउंले छिमेकीलाई बिस्वास गरेर चुनाव जिताउंदा तिनैले त्यस्तो काम गर्छन् भने कसलाई बिस्वास गर्ने ? गाउंकाले त नगरेका झन कहां न कहांको मान्छेलाई चुनाव जिताउंदा के आशा गर्ने ? बिचारा जनता रणभुल्लमा छन् । यस्तो दर्दनाक अवस्था देख्दा देख्दै पनि त्यसलाई समाधान गर्न नसक्ने म जस्तो हुतिहारा कसरी क्रान्तिकारी भएं ?
नेपालका सबैजसो राजनीतिक दलहरुको एउटा साझा रोग हो राजनीतिक सिद्धान्त र विचारधारालाई भन्दा पदलाई बढि महत्व दिनु । गाउंमा एउटा भनाई छ मान्छे प्यारो होइन काम प्यारो । नेपालको राजनीतिमा भने काम प्यारो भन्दा आफ्नोलाई र चाकरी गर्नेलाई काखी च्याप्ने पुरानै रोग हो । मूल नेतृत्व नै त्यस्तो चाहन्छन् कि कसरी आफ्नो नजिकको र मैले भनेको मान्ने हनुमान जस्तो व्यक्तिलाई त्यो पदमा पु(याउने । यहि रोगको कारण कार्यकर्ता पनि नेतृत्वको वरिपरि घुम्न चाहने र नेतृत्वले गल्ति गरे पनि सहि भन्नु पर्ने बाध्यता हुन्छ । यो चाकरी र नातावाद, कृपावाद, फरियावादको महामारीले नेपालको सबै क्षेत्रमा बिकृति भित्र्याएको छ । यो महामारीको कारण शिक्षा क्षेत्रमा समेत ठूलो असर गरेको छ । हुदाहुदा यस्तोसम्म भैसक्यो कि पास डिभिजनको सर्टिफिकेट बोक्ने त पहिलेदेखि नै राजनीतिक फेरो समातेको हुन्छ र चाकरी गर्न सिपालु भैसकेको हुन्छ तर बिडम्बना नेपालका बिद्धान, बिज्ञ भनेर प्रसिद्धि कमाएका नामुदहरुले समेत राजनीतिक दलका नेताहरुको चाकरी गर्नु कति लज्जाको विषय होला ? मानौ त हाम्रो शिक्षा र संस्कार कहांसम्म गिरेको छ । त्यो बिज्ञ भैकन पनि यदि उसले राजनीतिक दलका नेताको चाकरी गरेन भने योग्य भएर पनि अयोग्यको त्याग भिर्नु पर्छ र ऊ जीन्दगीभरि पछि परेर गालामा हात लगाएर बस्नु पर्छ । यो रोगलाई यथास्थितिवादी संसदीय व्यवस्था मान्ने राजनीतिक पार्टीमा सामान्य मानिन्छ तर एउटा प्रगतिशिल क्रान्तिकारी विचार बोकेको पार्टीमा समेत यस्तो रोग देखिनु असह्य हो । यसलाई कदापी माफ गर्न लायक होइन । यो रोगले स्वयं व्यक्तिलाई त घाटा त हुने भयो त्यसको साथ साथमा त्यसका नेतृत्वकर्ता र सिंगो संगठनलाई समेत असर गर्छ । क्रान्ति गर्न त्यति सजिलो छैन । फेरी क्रान्ति भन्नासाथ हतियार नै उठाउनु पर्छ भन्ने होइन । समाजमा भैरहेको यथास्थिति र पछौटेपनलाई अगाडि बढाउन सक्नु पनि एउटा क्रान्ति हो । त्यसैबाट नै समाजमा चेतना फैलन्छ र त्यो यथास्थितिको बिरुद्ध लाग्न उत्प्रेरणा जागृत हुन्छ । नेपाली समाज अहिले बाहिरी देखासिखीमा रुमल्लिन पुगेको छ । नेपालभित्रै गर्न सकिन्छ भन्ने विश्वास टुटेको अवस्था छ । आफुसंग सामथ्र्य नहुंदा पनि त्यो प्राप्त गर्न हरतरहको गलत कार्य गर्न उक्साउने र उक्सिने नराम्रो संस्कार भित्रिएको छ । छिटो धनी बन्ने सपनाको महत्वकांक्षाले नकारात्मक कार्यले प्रसय पाइरहेको छ । यो प्रबृत्ति कुनै एउटा सिमित व्यक्तिमा मात्र नभएर राज्य सञ्चालक, प्रशासन क्षेत्र, राजनीतिक क्षेत्र, शिक्षा क्षेत्र, कानूनी संस्था÷व्यक्ति, नीति निर्माता आदि प्रमुख क्षेत्रमै यो विकृति रहेकोले अन्य क्षेत्र सोतः प्रभावित हुने नै भयो । यी समग्र विषयलाई समाधान गर्न सबभन्दा पहिले राजनीतिज्ञ नै शुद्ध हुनु पर्छ । यो भनेको मुहान हो । मुहान फोहोर भएपछि कुवा सोतः फोहोर हुने नै भयो । एउटा राजनीतिक कार्यकर्ता विचार सिद्धान्त अनुसार लक्ष्य प्राप्त गर्न सबै भन्दा पहिले जनतालाई विश्वासमा लिन सक्नु पर्छ । किन भने राजनीति गर्ने भनेकै समाजको लागि हो । न कि आफ्नो व्यक्तिगत स्वार्थको लागि हो । त्यसैले पार्टीको नीति सिद्धान्त बोकेर जनताको घर घरमा पुग्नु पर्छ र त्यो नीति सिद्धान्त अनुसार जनतालाई बुझाउने, जनताबाट सिक्ने, जनतालाई प्रशिक्षित गर्ने र जनता र पार्टीको विचारको बीचमा संयोजन गराउन सक्नु पर्छ अनि मात्र क्रान्ति सफल बनाउन सकिन्छ । जुन कार्य हामी कठिन थानिरहेका छौं । जसले गर्दा क्रान्ति अगाडि बढ्नु पर्नेमा झन पछाडि परिरहेको यथार्थ हामी समक्ष पहाड बनेर उभिएको छ । म एउटा माक्र्स, लेनिन र माओको विचारधारालाई मान्ने पार्टीको सदस्यताको नाताले उनिहरुकै विचारधारा र सिद्धान्तलाई व्यवहारिक कार्यमा उतार्न लाग्नु पर्ने थियो । म शहरमा बसेर क्रान्तिकारी हो भन्दै खोक्रो बिरोधको कार्यक्रम गरेर बस्नु भन्दा त्यो विचार सिद्धान्तलाई जनताको बीचमा लागू गर्न हरतरहले लाग्नु पर्ने थियो । यो विचारधारालाई प्रत्येक किसान, मजदुर, जनजाति, निम्न वर्ग, उत्पिडित क्षैत्र÷जाति, महिला, दलित, सुकुम्बासी, कमैया सबै क्षेत्रमा पुगेर समस्या पहिचान सहित त्यसलाई समाधानको पहल र उनिहरुलाई क्रान्तिको लागि एकताबद्ध गर्नु पर्ने थियो । क्रान्तिको यो सहि बाटो भन्दा फरक म शहरमा बसेर अन्य पार्टी जस्तै विरोधको कार्यक्रम गरेर मलाई जनताले किन विस्वास गर्ने ? उनिहरुको लागि मैले के गरिदिएको छु र उनिहरुले मलाई साथ दिन ? मेरो अनुभव के हो भने यदि म त्यो गाउंमा कहिलेकाहिं मात्र जान्छु र मैले त्यहां कुनै गतिविधि गर्दैन भने मलाई ती जनताहरुले बिर्सिसकेका हुन्छन् । म शहरको प्रतिस्थित हिरो नै होला रे, त्यसमा उनिहरुलाई कुनै सरोकार हुदैन किन भने यो उनिहरुको लागि हर्स न विस्मात । यहि नियम लागु हुन्छ, क्रान्तिको लागि पनि । यदि हामीले क्रान्ति गर्ने नै हो भने यो तरिका अवलम्बन गरिएन भने हामीदेखि जनता टाढिने निश्चित छ र जनताको साथबिना क्रान्ति सफलताको आशा गर्नु आकाशको फल सरह हो । हाम्रा विचारधारालाई जनताको बीचमा लैजान हामीबीच पनि विचारमा एकरुपता आउनु अति जरुरी छ । त्यसैले अन्तर पार्टी स्वस्थ आत्मालोचना हुनु, विचारधारामा छलफल हुनु, कार्यदिशा सम्बन्धि विचार विमर्श हुनु, भए गरेका गल्ति कमजोरीलाई सच्याएर अगाडि बढ्ने विषयमा छलफल हुनु र कार्यदिशा अनुसार गतिविधिमा सरिक हुनु राम्रो मानिन्छ । तर यी विषयवस्तु भन्दा पर गएर पाएको जिम्मेवारी समेत बहन नै नगरी खुलमखुल्ला पदको बार्गेनिङ्ग गर्नु कत्तिको जायज होला त्यो सोंचनिय विषय हो । यस्तो प्रवृत्ति देखा पर्नु कार्यदिशा अनुसार गतिविधि भन्दा पनि ती गतिविधिलाई अबरोध हुने खतरा निम्तिन सक्छ । आफ्नै आंखा अगाडि यी कतिपय असोभनीय गतिविधि देख्दा पनि थाहा पाएर पनि थाहा नपाए जस्तो गर्ने म कस्तो कायर ? माओको सांस्कृतिक क्रान्तिको बारेमा अध्ययन गरेको सदस्यले समेत यस्तो कार्यलाई रोक्न नसक्नु म कसरी क्रान्तिकारी र अग्रगमनकारी हुन सक्छु ? यसरी त म क्रान्तिकारी हुनै सक्दैन ।
हो, म त्यतिबेलासम्म अक्रान्तिकारी थिएं जतिबेलासम्म हाम्रा महान नेताहरुको विचारधारा अध्ययन गरेको थिएंन । महान नेताहरु कार्ल माक्र्स, लेलिन र माओको विचारधारा र उनिहरुले गरेका क्रान्तिकारी मोडलहरु अध्ययनले के दखाउंछ भने जनताको बिश्वास र सहयोगबिना क्रान्ति असम्भव छ भन्ने पुष्टि हुन्छ । देशको भौगोलिक अवस्था, समय परिस्थिति, वैदेशिक कुतनीति÷रणनीति र देशभित्रका जनभावना, आर्थिक अवस्था, राजनीतिक अवस्था समग्रलाई अध्ययन विश्लेषण गरेर त्यसै अनुसारको क्रान्तिको बाटो तय गर्न सक्नु नै असली रुपमा क्रान्तिकारीता हो । जनताको मनोविज्ञानलाई बुझेर त्यसै अनुसारको रणनीति अंगिकार गर्न सकिएन भने क्रान्तिले धोखा खान पुग्छ । त्यसलाई सहि ढंगले परिचालन गर्नको लागि सम्पूर्ण टिम एकधिक्का भएर लाग्नु पर्छ । हो, अब नेपाली विशेषता अनुसारको क्रान्ति आवश्यक छ । गाउंको अर्थतन्त्र प्यारालाइसिस अवस्थामा छ । युवाहरु विदेशमा सस्तो श्रम बेच्न बाध्य छन् । अब यसरी विदेशमा सस्तो श्रम बेच्न र देशका दलाल, सामन्ति, नोकरशाही, नवऔपवेशिकता सबैलाई भत्काउनु आवश्यक छ । त्यसको लागि हामीले हाम्रा ती डांडापाखालाई हराभरा बनाउनु पर्छ र हाम्रै उत्पादनले नेपाललाई पेटभरि खाना लाउन पुग्ने बनाउनु छ र हाम्रो समाज परिवेश सुहाउंदो शिक्षा, स्वास्थ्यको विकास गर्नु छ । यो सब अरु कसैले गर्दैन । यो काम हामी आफैले गर्नु पर्छ र विदेशी उत्पादनको ठाउंमा हाम्रा उत्पादनले स्थानान्तर गर्नु पर्छ । हिजो हाम्रा पुर्खाहरुले त्यसै गरेर विश्व हल्लाउन सकेका होइनन् ? हिजो त्यसै गरेर विश्व हल्लाउन सक्ने हामीले फेरी त्यस्तै किन गर्न नसक्ने ? हामीलाई ती दलालहरुले भ्रम छरेका छन् । यसरी हुदैन भनेर तपाइहरुलाई भ्रममा पारिरहेका छन् । अब तपाई हामीले अरु कसले के भन्छ मतलव गर्न हुदैन । हामीले हाम्रो भौगोलिक, सांस्कृतिक परिवेश अनुसार आफ्नो स्वबिबेक प्रयोग गरौं र आत्मनिर्भरताको लागि सबैले हातमा हात मिलाऔं । कांधमा कांध मिलाऔं । अनि हाम्रा यी काममा बाधा अड्चन, भांजो हाल्न आउने वर्ग दुष्मनहरुलाई अरिङ्गाल र मौरी जस्तै सबैलाई एकैसाथ डसौं र कहिल्यै उठ्न नसक्ने गरि थला पारौं र हाम्रो देशलाई विश्वमा समाजवादी विकसित समुन्नत राष्ट्रको रुपमा परिचित बनाऔं । हो, अब म यहि योजनाका साथ तपाइहरुको माझमा आउदैछु र तपाइ र हामी मिलेर यो योजनालाई सफल बनाउंला । अब कसले के भन्छ त्यसको पछि नलागौं । आफ्नो स्वबिबेक प्रयोग गरौं । यसैमा हामी सबैको भलो छ । के तपाई हामी सबैलाई पहिलेकै जस्तो सुन्दर र शक्तिशाली अझ भनौं पहिलो समृद्धशाली समाजवादी नेपालको चाहना छैन होला र ?

प्रतिक्रिया

सम्बन्धित खवर