कार्तिक २९ काठमाडौं,
सत्तारुढ नेकपाका केन्द्रीय समिति सदस्य एवं प्रधानमन्त्री केपी शमा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पार्र्टीका कार्यकारी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुन नसक्ने टिप्पणी गरेका छन । शनिबार सामाजिक सञ्जालमा प्रचण्डको प्रस्तावमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन ।
थापाले प्रचण्डको प्रस्ताव अराजनीतिक, अनधिकृत, गैरजिम्मेवार र भ्रमको पुलिन्दा भएको बताएका छन । उनले प्रचण्डको प्रस्ताव ‘लाञ्छना–पत्र’भएको भन्दै पार्र्टी कमिटीहरुमा छलफल हुन नसक्ने बताए ।
सामाजिक सञ्जालमा उनले भनेका छन, ‘अध्यक्ष पुष्पकमल दाहालले पार्र्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो । यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्र्टी कमिटीहरूमा छलफल हुनसक्दैन ।’
थापाका अनुसार प्रचण्डको प्रस्तावले पार्र्टी विधान, परम्परा र अभ्यासलाई उल्लंघन गरेको छ । उनका अनुसार यस्तो प्रस्ताव प्रचण्डले तत्काल फिर्ता लिनुपर्छ ।
‘पार्र्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो’ थापाले अगाडि भनेका छन, ‘यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’
सत्तारुढ नेकपाभित्रको विवाद चर्किदैं जाँदा शुक्रबार बसेको सचिवालय बैठकमा पार्र्टी अध्यक्ष प्रचण्डले छलफलको लागि १९ पाने प्रस्ताव अघि सारेका थिए । छलफलको लागि अघि सारिएको प्रस्तावमा ओलीले पार्र्टीभित्र विधि, पद्धति र सहमतीलाई उल्लंघन गरेको र सरकार मनामौजी रुपमा सञ्चालन गरेको आरोप प्रचण्डको छ । प्रस्तावमा सरकार जनताको अपेक्षाभन्दा बाहिर गएको उल्लेख छ ।






























