अक्टोबर समाजवादी क्रान्तिको आयाम र महत्वबारे चर्चा

अक्टोबर समाजवादी क्रान्तिको आयाम र महत्वबारे चर्चा

 

काठमाडौं । महान अक्टोबर समाजवादी क्रान्तिको १०३ वर्ष पुगेको सन्दर्भ पारेर यसको आयाम र महत्वबारे चर्चा गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)को मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यसबारे सघन चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले नेपाली क्रान्तिको सन्दर्भसँग जोडेर अक्टोबर समाजवादी क्रान्तिको उल्लेखनीय चर्चा गर्नुभयो ।

उहाँले अक्टोबर समाजवादी क्रान्तिका तीनवटा मुख्य पक्षलाई विशेष रुपले उल्लेख गर्नुभयो । अक्टोबर समाजवादी क्रान्तिको नारा, सरकारको प्रश्न र फौजी संघर्षको तयारीलाई विशेष रुपले चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “अक्टोबर समाजवादी क्रान्तिले विश्व इतिहासमा नयाँ युगको उद्घोष ग¥यो । पेरि कम्युन पश्चातको यो अत्यन्तै महत्वपूर्ण दिन हो । यही दिनलाई आधार मान्दै र यसै दिनलाई टेक्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि सशक्त रुपमा अगाडि बढ्यो । त्यसैले विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि अक्टोबर समाजवादी क्रान्तिको विशेष महत्व छ ।”

यसको महत्वबारे तीनवटा कुरा विशेष रुपले उल्लेखनीय रहेको भन्दै महासचिव किरणले भन्नुभयो, “पहिलो कुरा नारा के लगाउने भन्ने प्रश्न । माक्र्सले भन्नुभयो– संसारका मजदुरहरु एक होऔं । लेनिनले भन्नुभयो– मजदुर मात्र होइन है । संसारका उत्पीडित जनसमुदायहरु एक होऔं ।

उत्पीडित जनसमुदाय भनेपछि महिला, आदिवासी जनजाति सबै पर्ने भए । आ–आफ्नो देशमा, आ–आफ्नो ठाउँमा को को उत्पीडित छन्, ती सबै यो नाराको वरिपरि आए । संसारका मजदुरहरु र उत्पीडित जनसमुदायहरु एक होऔं । उत्पीडित जनसमुदाय भन्नाले तेस्रो विश्वका उत्पीडित मुलुकहरु भन्ने बुझिन्छ । एशिया, अफ्रिका र दक्षिण अमेरिकाका उत्पीडित मुलुकहरु । साम्राज्यवादको शोषण उत्पीडनमा परेका मुलुकहरु । उत्पीडित मुलुकहरुलाई पनि एकजुट बनाएर लैजानुपर्छ भन्ने अर्थ पनि यसमा सन्निहित रहेको छ । अक्टोबर क्रान्तिले आन्दोलनकारी शक्तिहरुलाई एकीकृत गरेर लैजाने एउटा सैद्धान्तिक अवधारणा विकास ग¥यो । यो धेरै महत्वपूर्ण कुरा हो । भन्दा सामान्य नारा मात्रै देखिए पनि यसमा सिद्धान्त, दृष्टिकोण, विचार, राजनीति रहेको छ ।

दोस्रो कुरा राजनीतिको क्षेत्रमा लोकतान्त्रिक गणतन्त्र भन्ने गरियो । अहिले खुब लोकतान्त्रिक गणतन्त्र भन्ने गरिएको छ । हामीले जनयुद्धको बेला नयाँ जनवादी गणतन्त्र भनेका थियौं । पार्टीका साथीहरुले संशोधनवादी बाटो अपनाइसकेपछि नयाँ जनवादी गणतन्त्रलाई छोडेर लोकतान्त्रिक गणतन्त्रलाई पकडिए । माक्र्सले परिस कम्युन खालको सरकार हुन्छ भन्नुभयो, एङ्गेल्सले पेरिस कम्युन भनेको सर्वहारावर्गको अधिनायकत्व हो भन्नुभयो । लेनिनले १९०५ र १९१७ को रसियन क्रान्तिको अनुभवको सार खिच्दै रुसमा लोकतान्त्रिक गणतन्त्र होइन, सोभियत गणतन्त्रको स्थापना गर्नुपर्छ भन्नुभयो । राजनीतिको क्षेत्रमा यसको धेरै विशेष महत्व छ ।

तेस्रो भनेको क्रान्तिको तयारी हो । शान्ति, आजादी र रोटीको नारा बोल्सेभिक पार्टीले लगायो । क्रान्तिका निम्ति हतियार उठाउन तयार हुनुपर्छ भनेर फौजी हिसाबले पनि राम्रो तयारी गरियो । लडाकु दस्ताहरुको तयारी गरियो । सरकारकै युद्धपोतहरुले क्रान्तिकारीहरुलाई साथ दियो । अस्थायी क्रान्तिकारी सरकारलाई कब्जा गर्नेमा मजदुर, किसान र सिपाहीहरु थिए । अक्टोबर समाजवादी क्रान्तिको कुरा गर्दा मुख्यतः यी तीनवटा कुरालाई राम्रोसँग आत्मसात गर्न आवश्यक छ ।”

उहाँले नेपाली क्रान्तिको सन्दर्भमा भन्नुभयो, “अहिलेको स्थितिमा नेपालमा क्रान्ति कसरी गर्ने हो ? यो हाम्रो एउटा महत्वपूर्ण एजेन्डा हो । मजदुर, किसान, दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतका जनसमुदायका साथसाथै एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको पनि यो एउटा महत्वपूर्ण एजेण्डा हो ।”

नेपालमा मजदुर, किसान र उत्पीडित जनसमुदाय क्रान्तिका आधारभूत तत्व रहेको चर्चा गर्दै नेपाली विशिष्टतामा आधारित सशस्त्र विद्रोहको तयारीबाट मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिनेमा जोड दिनु भयो ।

उहाँले नयाँ जनवादी गणतन्त्र अर्थात् जनगणतन्त्रको नारामा नेपालमा छरिएर रहेका क्रान्तिकारीहरुलाई एकताबद्ध बनाएर क्रान्तिको प्रक्रिया अगाडि बढाउनु पर्नेमा पनि जोड दिनुभयो ।

अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा. ओम गुरुङले पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर, किसान र उत्पीडित जनसमुदाय एक भएर लडेर मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिने र अक्टोबर समाजवादी क्रान्तिबाट पनि यही शिक्षा, उर्जा र उप्रेरणा लिन सकिने कुरा बताउनु भयो ।

त्यसैगरी राजनीतिक अर्थशास्त्रका ज्ञाता तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङले सन् २००८ को विश्व महामन्दीपछि कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई जिरोमा पु¥याएको र आर्थिक संकटले राजनीतिक व्यवस्थाहरु उथलपुथल हुने परिस्थिति विकसित भएको चर्चा गर्दै नवउदारवादी साम्राज्यवादी व्यवस्थाको विकल्प विश्व सर्वहारावर्गले दिनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले अक्टोबर समाजवादी क्रान्तिको सफलता र असफलताबाट शिक्षा लिंदै नेपाली क्रान्तिको प्रक्रियालाई गतिशिल बनाउन र क्रान्तिकारीहरु एकढिक्का भएर अगाडि बढ्नुपर्ने समय आएको बताउनु भयो ।

“महान अक्टोबर समाजवादी क्रान्तिको आयाम र महत्वबारे चर्चा एवम् मजदुर विद्रोह विमोचन कार्यक्रम’लाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की महासचिव शारदा महतले अक्टोबर क्रान्ति नेपाली क्रान्तिका लागि उर्जा उत्प्रेरणाको बारेमा चर्चा गर्नुभएको थियो ।
महान अक्टोबर समाजवादी क्रान्तिको आयाम र महत्वबारे आयोजक महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले लिखित रुपमा संक्षिप्तमा प्रकाश पार्नुभएको कार्यक्रमलाई आन्दोलनरत घटक ट्रेड युनियन महासंघका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।
महासंघका महासचिव बसन्त बोगटीले सञ्चालन गरेको कार्यक्रमलाई समाजवादी ट्रेड युनियन महासंघका समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमिल्सना, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका इन्चार्ज कृष्णहरि भट्ट र महासंघका प्रतिनिधि शिशिर भट्टराईले सम्बोधन गर्नुभएको थियो ।
आयोजक संगठनका सचिवालय सदस्य बद्री चापागाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा सबै वक्ताहरुले ‘मजदुर विद्रोह’ प्रकाशन गरेकोमा महासंघलाई बधाई दिनुका साथै प्रकाशनको निरन्तरताको लागि शुभकामना दिनुभएको थियो ।
कार्यक्रम महान अक्टोबर समाजवादी क्रान्तिको १०३ बर्ष पुगेको अवसर पारेर आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा सागर, पार्टी पीवीएम तथा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ, क्रान्तिकारी युवा लिग नेपालका अध्यक्ष अमीर महर्जन, पार्टी केस क्षितिज, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालकी ललितपुर अध्यक्ष इन्दिरा अधिकारी लगायत आयोजक महासंघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।