अमेरिकी राष्ट्रपति चुनाव स् बाइडेन विजयी हुने सम्भावना बलियो

अमेरिकी राष्ट्रपति चुनाव स् बाइडेन विजयी हुने सम्भावना बलियो


कार्तिक २१ न्युयोर्क,
अमेरिकी इतिहासकै निकै प्रतिस्पर्धात्मक मानिएको यसपालिको राष्ट्रपतीय चुनावको परिणामको पर्खाइ तेस्रो दिनमा प्रवेश गरेको छ । पूर्वउपराष्ट्रपति जो बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निर्वाचन परिणाम घोषणाको निकट पुगेको बताइएको छ । स्थानीय समयअनुसार बिहीबार रातिसम्ममा आगामी चारवर्षे नेतृत्वको स्पष्ट चित्र आउने अनुमान छ ।
जितका लागि निकै महत्त्वपूर्ण मानिएका मध्यपश्चिमी दुई ‘ब्याटलग्राउन्ड’ राज्य मिसिगन र विस्कन्सन आफ्नो पक्षमा पारेसँगै बाइडेन जितको निकै नजिक पुगेका छन । तर हरेक मतको गणना नहुन्जेल स्थिति ‘तरबारको धारमा’ रहेको विश्लेषण पनि गरिँदै छ । ‘ब्याटलग्राउन्ड’ राज्यहरू एरिजोना, नेभादा, पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा मतगणना जारी छ । जितका लागि २ सय ७० इलेक्टोरल कलेज भोट चाहिन्छ । बाइडेन एरिजोना र नेभाडा राज्यको मतगणनामा अगाडि छन भने ट्रम्पले पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा अग्रता लिइरहेका छन । सीएनएनका अनुसार बिहीबार बेलुकासम्म बाइडेनले २ सय ५३ र ट्रम्पले २ सय १३ इलेक्टोरल कलेज भोट आफ्नो पक्षमा पारेका छन ।
समाचार संस्था एपीले भने एरिजोना पनि बाइडेनको पक्षमा जाने बताएको छ । एरिजोनाको १३ इलेक्टोरल भोट बाइडेनको पक्षमा जाने एपीको दाबी छ । एपीका अनुसार बाइडेन २ सय ६४ इलेक्टोरल भोटसहित जितको नजिक छन भने राष्ट्रपति ट्रम्प २ सय १४ इलेक्टोरल भोटसहित पछ्याइरहेका छन ।
सन १९९६ मा बिल क्लिन्टनको जितपछि डेमोक्य्राट उम्मेदवारका रूपमा बाइडेन एरिजोना राज्यमा जितनजिक रहेको सीएनएननले उल्लेख गरेको छ  । त्यसैगरी, सन १९९२ को क्लिन्टनको जितपछि कुनै उदारवादी उम्मेदवारले जित्न नसकेको रेड स्टेट जर्जियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिइरहेका छन । विजयी घोषणा लम्बिँदै गर्दा निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउन पनि थालिएको छ । जर्जियामा राष्ट्रपति ट्रम्प करिब ३ हजार मतले मात्रै अगाडि रहेका छन । अझै केही काउन्टीमा मतगणना जारी रहेकाले डेमोक्रेटिक उम्मेदवार बाइडेनले जर्जिया पनि जित्न सक्ने अनुमान गरिएको छ ।
विशेषगरी राष्ट्रपति ट्रम्प र उनको चुनावी अभियान टोलीले केही राज्यको सम्भावित परिणामलाई प्रभावित पार्ने नियतले रिट दायर गरिसकेका छन । समाचार संस्था एपीका अनुसार ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको दाबी गर्दै पेन्सलभेनिया, मिसिगन र जर्जियामा मतगणना स्थगित गर्नुपर्ने माग गर्दै रिट दायर गरेको हो । राष्ट्रपतिमा निर्वाचित हुन यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्न जरुरी देखिएको छ । पछिल्ला मतगणनामा डेमोक्रेटिक पार्र्टीका जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजुरी गरिएको हो । उजुरीमा मतपत्र राखिएका स्थान र मतगणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।
ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिसिगनको एक मतगणना स्थलमा भने दुवै पक्षका प्रतिनिधिहरूको रोहबरमा गणना भइरहेको एपीले जनाएको छ । मिसिगनमा डेमोक्य्राटले जित हासिल गरेको जनाइएको छ । औपचारिक घोषणा भने भइसकेको छैन । ट्रम्पले आफूअनुकूल रहेको अमेरिकी सर्र्वोच्च अदालतमा जाने धम्कीसमेत दिइसकेका छन । ट्रम्पका चुनावी उपव्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्योल बढाएको उल्लेख गर्दै यसको निरूपण अदालतबाट हुने बताएका छन ।
राष्ट्रपति ट्रम्पले हुलाकबाट प्राप्त हुने मतपत्रमार्फत चुनावमा धाँधली हुने भन्दै आफू कानुनी बाटो रोज्न पछि नपर्ने बताएका छन । ट्रम्पको चुनावी अभियानले विस्कन्सिन राज्यमा पुनः मतगणनाका लागि आग्रह गरिनेसमेत जनाएको छ । ट्रम्पका चुनावी व्यवस्थापक बिल स्टेपियानले विस्कन्सिन राज्यमा धेरै अनियमितता भएको दाबी गरे पनि कहाँ र कसरी धाँधली भयो भन्नेबारे उल्लेख गरेका छैनन ।
यस पटक निर्वाचन र मतदानको संरचनालाई कोभिड–१९ ले अत्यधिक प्रभावित गर्दा परिणाम घोषणामा ढिलाइ भएको हो । कोभिड–१९ लाई ख्याल गर्दै मतदान सहज बनाउन धेरै कानुनी प्रक्रियालाई परिमार्जन गरियो । मतदानको तौरतरिकामा व्यापक फेरबदल गरियो । ब्याटलग्राउन्ड मानिएको पेन्सलभेनियामा शुक्रबारसम्म प्राप्त हुने मतलाई समेत मान्यता दिने गरी कानुन परिमार्जन गरिएको छ । चुनावी दिनमा खसेका मतको गणना विद्युतीय प्रविधिले केही घण्टामै गर्न सक्छ । तर हुलाकबाट प्रेषित करोडौं मतको गणनामा धेरै समय लागिरहेको छ ।
चार वर्षअघिको निर्वाचनमा ‘अर्ली भोटिङ’ अन्तर्गत साढे चार करोड हाराहारी मतदान भएको थियो । यस पटक यो तथ्यांक करिब दस करोड हाराहारी पुग्यो । जसमा साढे ६ करोड मत हुलाकबाट पठाइएको छ ।