मानिसले आफ्नो पुरा जीवन बिताउँदा सामान्यतः बालक, युवा, प्रौढ र वृद्ध गरि चार अवधिमा जीवन चक्र पुरा गर्दछ । त्यसैले युवा अवस्था भनेको एउटा उमेर समुह हो । यी युवाहरु मजदुर, किसान, विद्यार्र्थी, महिला आदि इत्यादि तथा जाति, धर्म, समुदायमा रहेका छन । ती जाति समुदाय र संगठनमा युवाहरुको भुमिका महत्वपूर्ण हुन्छ । युवाहरुमा परिश्रम गर्ने क्षमता बढि हुन्छ । त्यसैले युवा भनेको देशको कर्णधार भनेर पनि चिनिन्छ । त्यो श्रमशक्ति उपयोगमा ल्याउन सक्नु भनेको रोजगारीको अवसर प्राप्त गर्नु हो । जसले रोजगार प्राप्त गर्दछ, ती मजदूरको रुपमा समाजमा देखा पर्दछ । युवाहरु सामान्यतया मजदुर हुन सक्छन तर मगदुरहरु युवा तथा प्रौढ पनि हुन सक्दछ । जब युवाले रोजगारी पाउँदैन र मजदुरहरुले रोजगारी गुमाउँदछन, त्यही बेला उनीहरु बेरोजगार बन्दछन । यो बेरोजगारी समस्या युवा र मजदूरको संयुक्त समस्या हो । समाज विकासको प्रक्रियामा जब पुँजीवादी व्यवस्थाको प्रारम्भ भयो, त्यही बेलादेखि समाजमा सर्वहारा मजदुर वर्ग र बेरोजगार युवा समुदाय देखा पर्न थाल्यो । जमिन्दारको उत्पीडन, सानो र टुक्रे कृषि उत्पादन, अर्ध–बेरोजगारको अवस्था, शहर र गाउँको भिन्नता, सामाजिक तथा साँस्कृतिक विभेद र निरन्तर रुपमा भइरहेको उत्पादक शक्तिको विकासका कारण बेरोजगार मानिसहरु कामको खोजीमा शहर पस्न थाले । पुँजीवादी उत्पादन प्रणालीमा उत्पादनका साधनमाथि निजी स्वामित्व भएको पुँजीपति र आफ्नो श्रमशक्ति विक्रि गर्न वाध्य भएको मगदुर हुन्छन । पुँजीवादको विकास क्रम संग–संगै उद्योग व्यवसायमा यन्त्रको प्रयोगबाट मजदुरहरुको कटौटी हुनु, साना उद्योगी, शिल्पी, ब्यापार–व्यवसायी र ठुला उद्योगपति बीचको असमान प्रतिस्पर्धा भई टाट पल्टिनु, जनसंख्या बृद्धिसंगै दिनहुँ बढ्ने नयाँ श्रमशक्ति आदि कारणले शिक्षित, दक्ष र अदक्ष बेरोजगारको संख्या बढ्ने गरेको पाइन्छ । यसरी बेरोजगारीको संख्या बढिरहँदा उद्योगपतीहरुका लागि जगेडा मजदुर प्राप्त गर्ने ठाउँ बन्दछ । साथै यी बेरोजगार युवाहरुलाई देखाएर पुँजीपतिले मजदुरहरुको ज्याला कटौती गर्ने गर्दछ । पुँजीवादी व्यवस्थामा मजदुरको श्रम शोषण हुनु र नाफाको लागि उत्पादन, यसको मुख्य चरित्र हो । यो व्यवस्थामा उत्पादन कार्य सामाजिक चरित्रको हुन्छ, उत्पादित वस्तुमा पुँजीपतिको निजी स्वामित्व हुन्छ । यहाँ बेरोजगार संग–संगै मजदूरको विषयलाई उत्थान गर्दै गर्दा मजदुर वर्ग सामूहिक श्रमसंग जोडिएको समाजवादी तथा साम्यवादी क्रान्तिका लागि सबैभन्दा भरपर्दो क्रान्तिकारी शक्ति हो भन्ने कुरा बिर्सनु हुँदैन । हाम्रो देशमा अहिलेसम्म पनि राष्ट्रिय पूँजीको निर्माण हुन सकेन । कृषिमा साना र टुक्रे उत्पादन प्रणालीलाई निमिट्यान्न पारी बृहत मात्राको उत्पादनमा गएन । नयाँ उद्योग तथा कलकारखाना खोल्नु भन्दा पनि भएका राष्ट्रिय स्तरका कलकारखानाहरुलाई निजीकरणको नाममा बन्द तथा खारेज गरिएको छ । दलाल तथा नोकरशाही पुँजीपति र विदेशी लगानी कताएलाई भारी मात्रामा कर मिनाहा गरिएको छ । साना तथा मझौला र राष्ट्रिय स्तरको उद्योग, कृषि तथा ब्यापार ब्यवसायमा ठुलो मात्रामा करको वृद्धि गरिएको छ । उत्पादित वस्तुको उचित मूल्य नपाउनु, विक्रीवितरणमा विभिन्न अवरोध सिर्जना हुनुका कारण सर्वसाधारण नेपाली जनता स्वदेशमा लगानी गर्न पछि हटिरहेका छन । त्यसैले स्वदेशमा रोजगारको अवसर गुम्दै गएको छ । यसको विकल्पको रुपमा सामान्य जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बातावरण बनेको छ । जसले गर्दा नेपालको एक तिहाइ श्रमशक्ति विदेश पलायन भएको छ र नेपाल विकसित मूलुकको सस्तो श्रम बजार बनेको छ । हाल कोरोना महामारीको कारण उद्योग तथा प्रतिस्ठानहरुले भारी मात्रामा श्रमिकको कटौती गरेका छन । कयौ मजदूर, शिक्षक, स्वास्थ्यकर्मीहरुको सेवा सुल्कमा कटौती गरेका छन । मजदुर, किसान तथा व्यवसायीहरुको अवस्था दयनीय बनेका छन । यस्तो अवस्थामा राज्य मौन बसेको छ । राहतका क्रार्यक्रम ल्याउन सकेको छैन । महामारीका कारण वैदेशिक रोजगारीमा रहेका लाखौ नेपाली श्रमिकहरु स्वदेश फर्किएका छन ।
नेपालमा प्रत्येक वर्ष पाँच लाख भन्दा बढी नयाँ श्रमशक्ति थपिने गर्दछ । यसरी नेपालमा बेरोजगारको अवस्था भयावह हुने देखिन्छ । यस कोरोना महामारीले गर्दा रोजगार गुमेको वा बेरोजगार भएका सम्पूर्ण नेपालीले बेरोजगार भत्ताको लागि आवाज उठाउनु पर्दछ । सामान्य अवस्थामा नेपालबाट प्रत्येक वर्ष भारत बाहेक चार लाखको हाराहारीमा विदेशमा रोजगारीको लागि जाने गर्दछ । अब फेरि वैदेशिक रोजगारमा जाने अवस्था आएमा दश लाखको हाराहारीमा विदेशमा जाने छन । जसका लागि प्रत्येक व्यक्तिबाट एक लाखका दरले हिसाब गर्ने हो भने एक खर्ब रुपैंया ती मजदुरहरुले व्यहोर्नु पर्नेछ । जबकी नेपाल सरकार लगभग छपन्न अर्वको लागि एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पास गराउन खोज्दैछ । यसरी रोजगारका लागि विदेशिने अवस्था आउनु र देशमा बेरोजगारको अवस्था यति विकराल हुनुमा साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप हुनु, देश सामन्ती, दलाल नोकरशाही पुँजीपतिहरुको हातमा जानु, देशको आर्थिक सामाजिक अवस्था अर्धसामन्ती, अर्ध–औपनिवेशिक तथा नव–औपनिवेशिक अवस्थामा रही रहनु आदि कारण नै मुख्य हुन । यस्तो अवस्थामा आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन पनि सक्दैन । त्यसैले क्रान्तिकारीहरुले सामन्ती, दलाल तथा नोकरशाही पुँजीपतिको हातमा रहेको प्रतिक्रियावादी सत्तालाई ध्वस्त बनाएर सर्वहारा वर्गको अधिनायकत्व कायम हुने गरी कम्युनिष्ट पार्र्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु पर्दछ । जुन व्यवस्था साम्राज्यवाद, विस्तारवाद विरोधी हुन्छ । कृषिमा क्रान्तिकारी भूमि सुधार गरी सामन्ती उत्पादन सम्बन्धको अन्त्य गर्दछ । औद्योगिक पुँजीको निर्माणका लागि औद्योगिकरणको कार्यक्रम ल्याउँदछ । उत्पादन र वितरणलाई व्यवस्थित गर्दछ । रोजगारीको बातावरण सृष्टि गर्दछ । मजदुरहरुको हक अधिकारलाई सुनिश्चित गर्दछ । यस प्रकार देश आत्मनिर्भर अर्थतन्त्र निर्माणको प्रक्रियामा अघि बढ्दछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु हल गर्दछ । यसले समाजवाद उन्मुख आर्थिक आधार तयार पार्दछ । उत्पादक शक्तिको विकासले समाजलाई नयाँ जनवादी व्यवस्थाबाट उत्पादनका साधनमा सर्वहारा मजदुर वर्गको स्वामित्व रहने समाजवादी व्यवस्थामा पुग्ने वातावरण बन्दछ । समाजवादी व्यवस्थामा “हरेकबाट उसको क्षमता अनुसार काम, हरेकलाई उसको काम अनुसार दाम” को सिद्धान्त अवलम्बन गरेको हुन्छ । जस अनुसार शारीरिकरुपबाट सक्षम व्यक्तिहरुले श्रम गर्नुपर्ने आवश्यकता हुन्छ । जसले काम गर्दैन उसले माम पनि पाउँदैन । जसले श्रम गर्दछ, उसले गरेको श्रमको परिणाम अनुरुप दाम पाउँदछ र श्रम शोषण हुन पाउदैन। साम्यवादी व्यवस्था नआएसम्म वर्गहरु हुने हुँदा शोषणमूलक व्यवस्थाहरुको निषेध गर्नका लागि यो सिद्धान्तले भूमिका खेलेको हुन्छ । यसबेला वर्ग संघर्ष जारी रहने हुँदा प्रतिक्रान्ति हुने खतरा रहने कारणले सर्वहारा वर्गको अधिनायकत्व कायम रहन्छ । जव उत्पादनका साधनमाथि सम्पूर्ण जनताको स्वामित्वको कम्युनिस्ट समाज स्थापना हुन्छ, तब सबै वर्गहरु र सबै वर्र्गीय असमानताहरु पूर्णरुपले उन्मूलन हुन्छ । राज्य क्रमशः स्वतः लोप हुन पुग्नेछ । कम्युनिस्ट व्यवस्थामा उत्पादक शक्तिको प्रचुर मात्रामा विकास हुने हुँदा प्रयाप्त मात्रामा सामाजिक उपज पैदा हुन्छ । त्यतिबेला व्यक्तिगत उपोभोक्ता सामाग्रीहरुको वितरण मानिसहरुले समाजको लागि गरेको श्रमको आधारमा नभएर उनीहरुका आवश्यकताहरुबाट निर्धारण हुन्छ । साम्यवादी समाज सम्पूर्ण रुपले प्रगतिरशील समाज भएकाले मानिसका सवै अधिकारहरु सुनिश्चत हुन्छन । त्यसैले साम्यवादी व्यवस्था निर्माण गर्ने दृढ संकल्प सहित क्रान्तिकारी मजदूर, युवा लगायत सम्पूर्ण जनसमुदाय एकताबद्ध भई अघि बढ्नु जरुरी छ ।
(लेखक ः क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर