काठमाडौं । भारत विस्तारवादी मुलुकको रुपमा उसका छिमेकी मुलुकमाझ बद्नाम छ । छिमेकीहरुसामु भारतले हेपाहा व्यवहार देखाउँदै आएको छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत पूर्वमेचिदेखि पश्चिम महाकालीसम्मका सीमा क्षेत्रको नेपाली भूभाग अतिक्रमण गरेर आफ्नो विस्तारवादी चरित्रको भद्दा प्रदर्शन गर्दै आएको छ । ऐतिहासिक तथ्य प्रमाण, सन्धि सम्झौताका दस्तावेजहरु अनि नेपालको जनगणना तथा भोगचलन सबै हिसाबले नेपाली भूमि रहेको प्रष्ट हुँदाहुँदै भारतीय शासकले गत नोभेम्बरमा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग आफ्नो नक्सामा गाभ्यो, त्यतिमात्र होइन, अतिक्रमित क्षेत्रमा सडक निर्माण लगायत भौतिक संरचना निर्माणका साथै आफ्नो भौतिक उपस्थिति समेत जनाइरहेको छ । नेपालमा देशभक्त क्रान्तिकारीहरुले देशव्यापी विरोध जनाए । सडकबाट सरकारलाई झकझक्याइयो । चौतर्फी दबाब बढेपछि सरकारले उक्त भूमिसहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी ग¥यो । सिंगो देश एक ढिक्का भएर भारतले कब्जा गरेको भूमि फिर्ता गर्न सरकारलाई म्याण्डेट दियो । तर भारतले नेपालसँग कुनै छलफल बार्ता गर्न चाहेन । बरु उल्टै उक्त भूमि भारतकै भएको विस्तारवादी अभिव्यक्ति दिइरह्यो । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपालको छिमेकी मुलुक चिनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको नेपालविरोधी अभिव्यक्ति दिए । त्यति मात्र होइन लिपुलेक क्षेत्रमा सडक सञ्जाल निर्माण नरवणेकै अगुवाइमा भयो र कालापानीमा सेनाको संख्या यिनैले थपे । पटक पटक नेपालले कुटनीतिक तथा राजनीतिक वार्ताका लागि नेपालले गरेको प्रस्तावको ठाडै अस्वीकार गर्दै आएको भारतीय विस्तारवादले पछिल्लो समय आफ्नो खुफिया प्रमख र सेना प्रमुखलाई नेपाल भ्रमणमा पठाएको छ । नेपालका दलाल शासकहरुले भारतीय विस्तारवादका सामु घुुँडा टेकेपछि मात्र उनीहरु भ्रमणमा आएका हुन् । त्यो पनि विस्तारवादी ढाटबाठसहित ।

पाँच करोडसम्मका परियोजनाहरु भारतीय दूताबासलाई नेपालमा स्वतन्त्रतापूर्वक निर्वाध सञ्चालन गर्न दिने, लिम्पियाधुरासहितको नक्सा अंकित प्रकाशित पुस्तक विस्तरणमा रोक लगाउने, लिम्पियाधुरासहितको नक्साको प्रयोग सरकारी कार्यालय तथा आधिकारिक रुपमा प्रयोग नगर्ने बोलकबोलपछि मात्र विस्तारवादी खुफिया प्रमुख र सेना प्रमुखको भ्रमण भएको हो । यो भ्रमणले नेपालको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको खिल्ली उडाएको छ र नेपाली स्वाभिमानमाथि घोर अपमान गरेको छ । त्यसमाथि परम्पराभन्दै विस्तारवादी सेना प्रमुखलाई नेपाली सेनाको महारथी पदवीले सम्मान गर्नु नेपालका दलाल शासकहरुले नेपाल र स्वाभिमानी नेपाली जनतामाथि गरेको अपमानको अर्को भद्दा मजाक हो ।

त्यसैकारण दलाल शासकहरुले विस्तारवादी सेना प्रमुखको भव्य स्वागतको तयारी गरिरहँदा सच्चा देशभक्त क्रान्तिकारीहरुले व्यापक विरोध गरिरहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) लगायत २१ राजनीतिक संगठनले संयुक्त वक्तव्य निकालेर नरवणेको नेपाल भ्रमण खारेज गर्न जोडदार माग गरेको थियो र साथै भ्रमण खारेज नगरिए शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रने चेतावनी दिएको थियो । त्यसैगरी ९४ जना स्थापित लेखक, पत्रकार, प्राध्यापक तथा बुद्धिजीवीहरुले वक्तव्य निकालेर नरवणेको भ्रमणले नेपालमा भारतीय विस्तारवादी हस्तक्षेपलाई अझ वृद्धि गराउने भन्दै भ्रमण रद्द गराउन जोडदार माग गरेको थियो । त्यस्तै सामाजिक सञ्जालमा पनि नरवणे भ्रमणको व्यापक विरोध भइरहेको छ ।

प्राप्त जानकारी अनुसार देशभक्त क्रान्तिकारीहरुले नरवणेलाई कालो झण्डा देखाउनेदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

यता ओली सरकारले भने नरवणेका विरुद्ध कुनै गतिविधि गर्न नदिन प्रहरी प्रशासनलाई सक्रिय गराएको छ । मंगलबार अपरान्ह सैनिक मुख्यालयमा सबै सुरक्षा निकायबीच भएको छलफललगत्तै प्रहरीले भारतीय विस्तारवादका विरोधीको खोजी तीब्र बनाएको छ ।

बुधबार दिउँसो नरवणे काठमाडौं ओर्लनु पहिले नै त्यस्ता व्यक्तिलाई पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ । मंगलबार अपरान्ह सुरक्षा निकायका अधिकारीबीच उनको भ्रमण तालिका र आवश्यक सुरक्षा सतर्कताका बारेमा छलफल भएको थियो । भ्रमणका क्रममा प्रयोग हुने रुट तथा गतिविधिका बारेमा सेनाले सुरक्षा अधिकारीहरुलाई जानकारी गराएको छ ।

नरवणेको भ्रमणका क्रममा सडकमा कालोझण्डा देखाउन सक्ने तथा अन्य विरोधी गतिविधि हुन सक्ने भन्दै उनी हिंड्ने सडकमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । विरोधको स्थिति हेरेर आवश्यक परे हेलिकोप्टरबाटै आवातजावत गर्नेसम्मको तयारी रहेको सैनिक स्रोतले जनाएको छ ।

नरवणे बस्ने होटल सोल्टीमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । बुधबार अपरान्ह विशेष विमानमार्फत आउन लागेका नरवणे होटल सोल्टीमा चेक इन गरेपछि पशुपति दर्शनमा निस्कने छन् । उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँगै, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।
नेपाली सेनाको महारथीको दर्जानी चिन्ह भने नरवणेलाई बिहीबार प्रदान गर्ने कार्यक्रम रहेको छ । कालापानीबाट विस्तारवादी सेना हटाउनुपर्छ भनेर चर्को आवाज उठिरहेको बेला विस्तारवादी सेनाको प्रमुखलाई नै नेपाली सेनाको महारथी पदवीले सम्मान गर्नु घोर आपत्तिजनक र राष्ट्रहित विरुद्ध रहेको भन्दै यो परम्परा सदाका लागि अन्त्य गर्न पनि देशभक्त क्रान्तिकारीहरुले जोडदार माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर