काठमाडौं  । बुधबारसम्म होम आइसोलेसनमा रहेका ३५ संक्रमितको मृत्यु भएको छ । घरमै मृत्यु हुनेहरू चारदेखि एक सय आठ वर्षसम्मका छन् । समयमा उपचार पाउन सकेको भए उनीहरूमध्ये धेरैको ज्यान बच्न सक्थ्यो ।
कोरोना भाइरसले फोक्सोलाई तीव्र गतिमा क्षति पु¥याउने भएकाले संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा समस्या हुन्छ । चिकित्सकका अनुसार यस्तो अवस्थामा तत्काल आइसियू–भेन्टिलेटर वा अक्सिजन दिन सकिएन भने बिरामीको मृत्यु हुन्छ । तर, अहिले अस्पतालमै पनि यस्तो सेवा पाउन निकै कठिन छ ।
संक्रमित बढ्दै गएपछि सरकारले बेहोस भएको खण्डमा वा पिसाब रोकिएको अवस्थामा मात्रै अस्पताल आउन निर्देशन जारी गरेको छ । जसले गर्दा होम आइसोलेसनमा बस्नेको संख्या दिनदिनै बढिरहेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म नौ सय चारजनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये करिब ६५ प्रतिशत वृद्धवृद्धा छन् । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले आइसियूभन्दा पनि कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको बताए । उनका अनुसार अक्सिजनको मात्रै सपोर्ट दिन सकेको खण्डमा धेरै व्यक्तिलाई बचाउन सकिन्छ ।
देशभर एक सय २५ सरकारी र निजी क्षेत्रका तीन सय ३६ गरी जम्मा चार सय ६१ अस्पताल सञ्चालन रहेपनि यी अस्पतालमा २७ हजार मात्रै बेड रहेको छ । जसमध्ये सात हजार मात्रै सरकारी अस्पतालमा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर