लागू भयो विदेशी च्यानलमा विज्ञापनरहित कार्यक्रम (क्लिनफिड)

लागू भयो विदेशी च्यानलमा विज्ञापनरहित कार्यक्रम (क्लिनफिड)


काठमाडौं । विदेशी च्यानलमा विज्ञापनरहित कार्यक्रम (क्लिनफिड) शनिबारदेखि लागू भएको छ । क्लिनफिड लागू भएको दिन अधिकांश विदेशी च्यानल बन्द भएका छन् ।

नेपालमा क्लिनफिड लागू भएसँगै विदेशी च्यानलहरुले अब क्लिनफिड कार्यक्रम उपलब्ध गराउनु पर्नेछ । खासगरी भारतीय टेलिभिजन च्यानलहरुले नेपालका वितरक कम्पनीहरुलाई क्लिनफिड कार्यक्रम उपलब्ध नगराएपछि अधिकांश च्यानलहरु बन्द हुन पुगेका हुन् ।

नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक डिसहोशमले केही विदेशी ब्रोडकास्टरहरुले क्लिन फिड च्यानलहरु उपलब्ध गराउन नसकेका कारणले ती च्यानलहरु क्लिनफिडमा उपलब्ध नहुन्जेलसम्मका लागि अवरुद्ध हुने जनाएको छ । डिसहोशले च्यानल नम्बर र प्याकेज अनुसार च्यानलहरु थपघट तथा परिवर्तन हुनेसक्ने पनि ग्राहकलाई जानकारी गराएको छ ।

त्यस्तै, अर्को केवलनेट सुबिसु केबलनेटले पनि नेपाल सरकारले लागू गरेको क्लिनफिड नीतिअनुसार विदेशी ब्रोडकास्टरहरुले आफ्ना च्यानलहरु उपलब्ध गराउन नसकेको हुनाले हाललाई ती च्यानलहरु प्रसारण हुन नसकेको जनाएको छ । उसले नेपालका कानुनअनुसार च्यानलहरु उपलब्ध भएपछि पुनः प्रसारण हुने समेत जानकारी दिएको छ ।

त्यस्तै, केवलबाट सञ्चालित च्यानलहरुमा क्लिनफिड बक्स प्रयोग गर्नुपर्ने हुन्छ । नेपाली च्यानल वितरक कम्पनीहरुले क्लिनफिड कार्यक्रम देखाउन क्लिनफिड बक्स नआएका कारण ८० प्रतिशत च्यानलहरु बन्द हुने उनीहरुको भनाइ छ ।

नेपालमा अहिलेसम्म सोनी, डिस्कोभरी, एनिमल प्लानेटजस्ता टेलिभिजन च्यानलले क्लिनफिड बक्स पठाइएसकेको भए पनि अन्यका बक्स आइनसकेको सम्बन्धित व्यवसायीहरुको भनाइ छ ।

सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मै एक वर्षमा लागू गर्ने प्रावधान ल्याएको थियो । विज्ञापन ऐन–२०७६ अनुसार नै शनिबारदेखि क्लिनफिड स्वतः लागू भएको छ ।

सरकारले एक वर्षको समयावधि दिए पनि अधिकांश विदेशी टेलिभिजन च्यानल सो अवधिमा तयारी नगरेका कारण च्यानल नै बन्द गर्नुपर्ने अवस्था आएको हो ।