भारतले एकतर्फी रुपमा सीमा नाका खोल्यो, बढ्यो नेपालतर्फ आउनेको भिड

प्रकाशित मिति : २०७७ कार्तिक ८


विराटनगर । भारतले एकतर्फी रुपमा सीमा नाका खोलेपछि नेपालतर्फ आउनेको भिड बढेको छ । भिड बढेपछि विराटनगरस्थित जोगवनी नाकामा थप सुरक्षा सतर्कता बढाइएको छ ।
भारतको गृहमन्त्रालयले अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेको भीडलाई रोक्न सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको मोरङको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाल सरकारले आगामी कात्तिक ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका खुला नगर्ने यस अघिनै निर्णय गरेकाले भारतले खुला गरे पनि नेपाल आउन नमिल्ने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
मोरङका प्रजिअ कोषहरि निरौलाले नेपालतर्फ भने सिल जारी भएकाले भारतबाट नेपालीबाहेक कोही आउन नपाउने बताए ।
भारतले एकतर्फी नाका खोलेपछि नेपाली सीमानामा सुरक्षा चुनौती थपिएको छ । नेपालमा कोरोना महामारी झनै बढेको समयमा नाका खोल्दा सीमानामा भारतबाट अनाधिकृत रुपमा पस्न खोज्नेलाई रोक्न सुरक्षा निकायलाई चुनौती थपिएको हो ।
भारतले नाका खोल्दा शनिबार पनि नेपाल पस्न खोज्ने ठूलो समूह जोगवनी नाकामा आएका थिए । उनीहरुलाई नेपालमा सीमा सिल कायमै रहेकाको अवगत गराउँदै फर्काएको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिएका छन् ।