गणित विषयमा पिएचडी गर्ने पहिलो नेपाली आदरणीय गुरुवर प्रा.डा. राममान श्रेष्ठलाई भेट्न मन लागेकाले टेलिफोन गरियो । ‘टेलिफोनले मात्र भएन, घरमै आउनु होस’ भन्दै उहाँले बोलाउनु भयो । गत साल भाद्रमा हामी निकै उत्साहित भएर पुरानो बानेश्वरस्थित उहाँको घर पुग्यौँ । गणित विषयको गुरुको रूपमा उहाँका अनुभव, सुखानुभूति र दुखानुभूति बारे भलाकुसारी भयो । उहाँकी जीवन साथी राधा श्रेष्ठको ९ महिनाअघि र छोरीको दुई हप्ता अगाडि दुखद् निधन भएको रहेछ । जेठो छोरा केमिकल इन्जिनियर काठमाडौँ महानगरपालिकामा कार्यरत तथा कान्छो छोरा काजकिस्थानस्थित एउटा अन्तर्राष्ट्रिय परियोजनामा आर्किटेक्ट हुनुहुदो रहेछ । अत्यन्तै पारिवारिक वातावरणमा कुराकानी भइरहेको बेला सालको पातबाट बनाइएको बोतामा मीठा समोसा र रसबरी मगाइसक्नु भएको रहेछ । उहाँको आतिथ्य देखेर तथा उहाँसँगै खाजा खाँदा हामी दङ्ग परेका थियौँ त्यतिबेला ।
निकै सरल, मिठासपूर्ण, हक्की स्वभाव, खरो बोलीचाली तथा आफ्नो विषयवस्तुमा दरो पकड भएका गणितज्ञलाई फेरि भेट्नेभन्दा भन्दै कोरोना कहर सुरु भइहाल्यो । बन्दाबन्दीमा भेट्ने कुरो भएन । फेसबुकबाट उहाँको महाप्रस्थान (विसं १९९५ वैशाख –२०७७ असोज) बारे खबर पाउँदा अत्यन्तै मर्माहात भएका छौँ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै उक्त भेटघाटको आधारमा तथा उहाँका केही विद्यार्र्थी तथा गणित विषयका प्राध्यापकलाई टेलिफोन सम्पर्क गरेर यो आलेख प्रस्तुत गरिएको छ । लामो समय प्राध्यापन, गणितको उत्थान र राजीनामा गरेपछि राजनीतिमा पनि सक्रिय राममान सरको शैक्षिक योगदानको पाटोलाई मात्र विशेष रूपमा यसमा समेट्ने प्रयास गरिएको छ । प्रगतिशील प्यानलबाट नेपाल प्राध्यापक सङ्घको सभापति (२०४१–०४३), नेकपा एमाले समर्थित नेपाल बुद्धिजीवी परिषदको अध्यक्ष तथा राष्ट्रिय सभाको सांसद (२०५४–०६०) को भूमिकासमेत निर्वाह गर्नु भएका प्रा.डा. श्रेष्ठको राजनीतिक योगदानको यहाँ चर्चा गरिएको छैन ।

विद्यार्थी जीवन–आँखै आगाडि सहिद चिनियाँ काजीलाई गोली

विसं १९९५ साल वैशाख २२ गते बुवा चन्द्रलाल श्रेष्ठ र आमा तीर्थमाया श्रेष्ठको कोखबाट काठमाडौँको ओमबहालमा जन्मिनु भएका श्रेष्ठले ५ वर्षको उमेरमा रानीपोखरीस्थित दरबार हाई स्कुलको मन्टेस्वरी स्कुलबाट आफ्नो पढाइ सुरु गर्नुभएको थियो । दरबार स्कुलमा भारतीय मुसलमान गुरु भएकाले ३ कक्षासम्म पढ्दा त उर्दु भाषा पनि सिक्नुभएको थियो । उहाँको स्कुले जीवनमा राजनीतिक परिवर्तनको माहोल थियो । यसमा विसं २००७ सालको क्रान्ति र २००८ सालको विद्यार्थी आन्दोलन विशेष थिए । विसं २००८ सालमा भारतीय सुरक्षा कानुनको धारा १४४ नेपालमा लगाइएको विरोधमा विश्वनिकेतन स्कुलमा अध्ययनरत विद्यार्थी चिनिया काजीसँगै विद्यार्थीको जुलुसमा श्रेष्ठ पनि सामेल हुनुहुन्थ्यो । वसन्तपुरमा चिनिया काजी उहाँको आँखै आगडि गोली लागेर ढल्नु भएको थियो । उहाँ एक पाइला पछाडि हुनुहुन्थ्यो ।
विसं २०११ सालमा एसएलसी पास गर्नु भएका श्रेष्ठले त्रिचन्द्र क्याम्पसबाट विज्ञान विषयमा विसं २०१३ सालमा आईएससी र २०१५ सालमा बीएससी गर्नुभएको थियो । विसं २०१८ सालमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट गणित विषयमा एमएससी गर्नुभएका श्रेष्ठले विसं २०२२ सालमा भारतको वनारस हिन्दु विश्वविद्यालयबाट (बीएचयू) गणित विषयमा पीएचडी गर्नु भएको थियो । विशेष रुचि तथा पूर्व योजनाको आधारमा उहाँले गणित पढ्नु भएको थिएन । त्यतिबेला कोलम्बो प्लान छात्रवृत्तिको रूपमा उहाँले महिनाको भारु १५० पाउनु हुन्थ्यो । बीएचयूमा अध्ययन तथा अनुसन्धानरत भएको बेलाका उहाँका नेपाली साथीहरू डा. हितनारायण झा (इतिहास), कालीप्रसाद रिजाल (अर्थशास्त्र) र वरिष्ठ अधिवक्ता गणेशराज शर्मा (कानुन) हुनुहुन्थ्यो ।
प्रा.डा. श्रेष्ठको सम्झनामा उहाँका गुरुहरू
राममान सर आफ्ना गुरुहरूलाई सारै सम्मान गर्नु हुन्थ्यो । कुराकानीका क्रममा उहाँले दरबार स्कुल पढ्दा उर्दु भाषा सिकाउने भारतीय गुरु, त्रिचन्द क्याम्पस पढ्दा श्रद्धेय गुरुहरू लक्ष्मीप्रसाद देवकोटा, यदुनाथ खनाल, सूर्यबहादुर शाक्य, आशुतोष गांगुली, नारायणबहादुर मानन्धर, भौतिक शास्त्र पढाउने डा. बलराम जोशी र आशुतोष सेन, वनस्पति शास्त्र पढाउने ब्रह्म्मीदत्त पाण्डे, फणिन्द्रप्रसाद लोहनी, शङ्करप्रसाद प्रधान र केशवदेव भट्टराईलाई विशेष रूपमा सम्झनुभएको थियो । गणित विषयका गुरुहरूमा उहाँले ध्ुवरत्न बज्राचार्य र इन्द्रनाथ अर्याललाई विशेष रूपमा सम्मानसहित नाम लिनु भएको थियो ।

भलाकुसारीको क्रममा प्रा. डा. श्रेष्ठसंगलेखक द्वय

साढे तीन दशकको प्राध्यापन सेवा
उहाँले विसं २०१९ सालमा अमृत साइन्स कलेज (अस्कल), काठमाडौँमा गणित विषय पढाउन सुरु गरेर आफ्नो जागिरे जीवन सुरु गर्नुभयो । त्यसबेला उहाँको तलब महिनाको १०० रूपैयाँ थियो । अस्कलमा ६ वर्ष काम गरेपछि विसं २०२५ सालमा उहाँ त्रिवि कीर्तिपुरमा सरुवा हुनु भयो र गणित विषयको उपप्राध्यापक, सहप्राध्यापक (२०३०) र प्राध्यापक (२०३९) को रूपमा लगातार पढाएर २०५३ सालमा राजीनामा दिनुभएको थियो । त्रिविको गणित विभागमा पढाउँदा सुरुको ४ महिना त उहाँ एक्लै हुनुहुन्थ्यो ।
नेपाल सरकारको जागिर नखाने भन्ने सोच राख्नु भएका प्रा.डा. श्रेष्ठमा त्रिविको पनि कुनै प्रशासनिक जिम्मेवारी लिने रुचि थिएन । तथापि ‘रुचि नहुँदा नहुँदै पनि २०४६ सालको राजनीतिक परिवर्तन पश्चात तात्कालीन परिस्थितिले गर्दा’ उहाँले विसं २०४८ सालमा त्रिविको शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेर काम गर्नु परेको थियो । त्यति बेला प्रा.विसी मल्ल उपकुलपति हुनुहुन्थ्यो ।
त्रिविमै प्राध्यापनरत रहेको बेला उहाँले जर्मनीमा हम्बर्ट फेलो र इटलीको फिजिक्स अन्तर्राष्ट्रिय केन्द्रमा सिनियर एसोसियटको रूपमा पनि काम गरेर थप अनुभव बटुल्नु भएको थियो ।
आफ्ना चेलाचेली सम्झिँदै प्रा.डा. श्रेष्ठ
‘आफूले पढाएका विद्यार्र्थीहरू धेरै भएकाले नाम लिन कठिन छ’ भन्दै उहाँले केही चेलाचेलीको नाम लिनु भएको थियो । उहाँले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अस्कलमा पढाउनुभएको रहेछ भने नास्टका उपकुलपति भएका प्रा.डा. जीवराज पोखरेल र इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. सुदर्शनराज तीवारी पनि उहाँका विद्यार्थीहरू हुनुहुदो रहेछ । त्रिविका पूर्व उपकुलपति प्रा.डा. हीरा महर्जन, नेपाल गणित केन्द्रका अध्यक्ष तथा महेन्द्ररत्न क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. सिद्धिप्रसाद कोइरालास प्रा.डा. शिव पुडासैनी र प्रा.डा. सुदर्शन तिवारी (जर्मनमा प्रोफेसर), प्रा.डा. टङ्क धमला, गजेन्द्र थापा र प्रा.डा. शान्ति बज्राचार्य आदिलाई पनि उहाँले गणित पढाउनु भएको रहेछ । उहाँसँग गणित विषयमा तीन जनाले विद्यावारिधि गर्नु भएको रहेछ ।
गुरु प्रा.डा. श्रेष्ठलाई सम्झिँदै उहाँका चेलाहरू
प्रा.डा. राममान श्रेष्ठसँग गणित पढेका चेलाचेलीहरू धेरै जना प्राध्यापक बनिसकेका छन भने कति जना त प्राध्यापक पदबाट सेवा निवृत्त समेत भइसकेका छन । उहाँहरूमध्यकै एक प्रा.डा. सिद्धिप्रसाद कोइराला आफ्ना आदरणीय गुरु प्रा.डा. श्रेष्ठको सम्झना गर्दै भन्नुहुन्छ, ‘राममान सरले पढाउँदा कक्षामा कहिल्यै स्ट्रेस हुँदैनथ्यो । कक्षामा घुमिरहने, डान्सिङ मुडमा हल्लिने र रोचक ढङ्गले पढाउने गर्नुहुन्थ्यो । गणितलाई जीवनसँग सम्बन्धित बनाउनुपर्छ भन्नु हुन्थ्यो । उहाँले गणित सचेतना अभियान नै सञ्चालन गर्नु भएको थियो ।’

उहाँका अर्का चेला गणितका सहप्राध्यापक तथा महेन्द्ररत्न क्याम्पस ताहाचलका पूर्व क्याम्पस प्रमुख भोलानाथ भट्टराई श्रद्धेय गुरुलाई सम्झिदै भन्नुहुन्छ, ‘राममान सरमा गणितको ज्ञान अथाह थियो । एउटा बिन्दुको बारेमा पढाउँदा विभिन्न कोणबाट व्याख्या गर्दै, बुझाउँदै दुई पिरियडसम्म लिनुहुन्थ्यो । विद्यार्थीलाई सोध्दै उफ्री उफ्री पढाउनुहुन्थ्यो । विद्यार्थीलाई मर्का पार्न हुन्न भन्नुहुन्थ्यो । हदै माया गर्नुहुन्थ्यो । म्याथम्याटिक सोसाइटी सुरुवात गर्ने उहाँ नै हो ।’
प्रा.डा. श्रेष्ठको नजरमा शिक्षामा विशेष योगदान गर्नेहरू
वार्तालापको क्रममा प्रा.डा. श्रेष्ठले त्रिविमा राम्रो योगदान गर्ने उपकुलपतिहरूमा सरदार रुद्रराज पाण्डे, डा. त्रैलोक्यनाथ उप्रेती, प्रा रणधीर सुब्बा, प्रा सूर्यबहादुर शाक्य र प्रा.विसी मल्लको नाम लिनु भएको थियो । उहाँले भन्नुभयो, ‘म कतिपय कुराहरूमा प्रा.डा. सुरेशराज शर्मासँग विमति राख्छु । तथापि उहाँको शिक्षामा योगदान विशिष्ठ छ । उहाँ शिक्षा क्षेत्रको समग्र व्यवस्थापन, सञ्चालन तथा विकासका लागि आफ्नो विचार दिन सक्ने र योगदान गर्न सक्ने सक्षम व्यक्ति हुनुहुन्छ ।’ त्यसैगरी पृथ्वीनारायण क्याम्पस, पोखराका संस्थापक प्रिन्सिपल जर्ज जोन, विश्वनिकेतन माध्यमिक विद्यालयका गुरु तथा प्रधानाध्यापकहरू सत्यनारायण राजभण्डारी र गम्भीरमान मास्के तथा जुद्धोदय माध्यमिक विधालयका प्रधानाध्यापक रामजीप्रसाद शर्माको योगदानलाई पनि भुल्न नहुने कुरामा उहाँले जोड दिनु भएको थियो ।
साथै त्रिविमा उल्लेखनीय योगदान गर्ने प्राध्यापकको रूपमा उहाँले प्रा इन्द्रनाथ अर्याल (गणित), प्रा उपेन्द्रमान मल्ल (भूगोल), प्रा.डा. वासुदेव त्रिपाठी (नेपाली), प्रा.डा.पार्थिवेश्वरप्रसाद तिमल्सिना (अर्थशास्त्र), प्रा.डा. सुदर्शनराज तिवारी, प्रा.डा.राजेन्द्रध्वज जोशी र प्रा.डा. जीवराज पोखरेल (इन्जिनियरिङ) प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा.मनप्रसाद वाग्ले र प्रा.डा. केदारनाथ श्रेष्ठ –शिक्षा) को नाम लिन रुचाउनु भएको थियो । उहाँले भन्नु भएको थियो, ‘ अरू पनि धेरै छन तर मलाई झट्ट सम्झना भएका व्यक्तिहरू चाहिँ उहाँहरू नै हो ।’
प्रा.डा. श्रेष्ठको गणित शिक्षामा योगदान
प्रा.डा.श्रेष्ठले ३५ वर्षसम्म त्रिविमा प्राध्यापनरत रहँदा हजारौँ विद्यार्र्थीहरूलाई गणित विषय पढाउनु भयो । विद्यावारिधि र स्नातकोत्तरका कैयौँ अनुसन्धान तथा थेसिसहरूको लागि बाटो देखाउनु भयो । उहाँबाट ज्ञान प्राप्त गर्ने चेलाचेलीहरूले हज्जारौँलाई स्वदेशमा तथा विदेशमा ज्ञान बाँडिरहेका छन । ज्ञानको ज्योति बाल्ने गुरुको महिमा जति गरे पनि कम हुन्छ ।
विसं २०२८ मा नयाँ राष्ट्रिय शिक्षा पद्धति योजना लागू भएपछि उहाँले विद्यालय शिक्षाका लागि गणित विषयको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्नुभएको थियो । त्यस्तै, २०३० सालपछि त्रिविमा नयाँ पाठ्यक्रम बनाई गणित विषयको आधुनिकीकरण, परिवर्तन र परिमार्जन गर्नमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । प्रमाण पत्र तहदेखि स्नातकोत्तर तहसम्मका लागि गणितको पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामग्री नौलो ढाँचामा बनाउने कार्यमा योगदान गर्न पाएकोमा उहाँ गर्व गर्नु हुन्थ्यो ।
‘मलाई गणित समाजको स्थापना गर्न २०१९ सालदेखि नै मन लागेको थियो । तर केवल २०३५ सालमा मात्र आफ्नो गुरु प्रा. ध्रुवरत्न बज्राचार्यलाई अध्यक्ष बनाई आफू सचिव भएर नेपाल गणित समाजको स्थापना गर्न सफल भइयो । मैले नेपाल गणित शिक्षा परिषद्, नेपाल गणित केन्द्र, म्याथम्याटिकल साइन्सेज ट्रस्ट आदिमा मन लगाएर सहयोग गरेको छु’, पुरानो अनुभव उहाँले यसरी सुनाउनु भएको थियो ।
प्रा.डा. सिद्धिप्रसाद कोइरालाका अनुसार प्रा.डा. श्रेष्ठ नेपाल गणित केन्द्रको संस्थापक अध्यक्ष हुनुका साथै दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ नेपाल म्याथम्याटिकल साइन्सेज ट्रस्टको पनि अध्यक्ष हुनुभएको थियो र ५ लाखभन्दा बढी आर्थिक सहयोग पनि गर्नुभएको थियो । नेपाल गणित केन्द्र, नेपाल गणित समाज र नेपाल गणित शिक्षा परिषद् मिलेर विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा लामो समय गणित विषय पढाएर ठोस योगदान गर्ने ७५ वर्ष नाघेका गुरुहरूलाई विशेष सम्मानसहित रथारोहण गर्ने गरेको छ । हालसम्म २३ जनालाई यो सम्मान दिइएको छ । पहिलो चरणमा प्रा.डा. राममानका पनि गुरुहरू इन्द्रनाथ अर्याल, ध्रुवरत्न बज्राचार्य लगायतकालाई सम्मान गरिएको थियो भने दोस्रो चरणमा प्रा.डा. श्रेष्ठ स्वयंको पनि रथ यात्रा गरिएको थियो ।
प्रा.डा. श्रेष्ठका अनुसार लामो समय पढाएका गुरुहरूको सम्मानसहित रथयात्रा गर्ने कार्यलाई ‘यस्तो त दुनियाँमा अन्त कतै छैन भनेर अन्तर्राष्ट्रिय म्याथम्याटिकल युनियनले पनि तारिफ गरेको’ थियो । नेपालमा गणित विज्ञानको इतिहास बारे खोजमूलक पुस्तक प्रकाशन गर्ने पनि योजना भएको र म्याथम्याटिकल साइन्सेज ट्रस्टमा हरेक ट्रस्टीले जनही पचास हजार दिने र साधारण सदस्यले पाँच हजार दिने व्यस्वस्था मिलाइएको छ । प्रा.डा. श्रेष्ठ र उहाँका सहकर्र्मीहरूकै जोडमा ‘विमिन अफ नेपाल इन म्याथ’ भन्ने संस्था पनि ५ वर्षअघि स्थापना भएको छ । राममान सरकै सुपरिवेक्षणमा पीचडी गर्नु भएकी प्रा.डा. शान्ति बज्राचार्य यो संस्थाको अध्यक्ष हुनुहुन्छ ।
दुई वर्षअघि म्याथम्याटिकल साइन्सेज ट्रस्टद्वारा प्रदान गरिएको ‘म्याथ एडुकेसन एचिभमेन्ट अवार्ड’ प्राप्त गर्नुहुने काठमाडौँ विश्वविद्यालयका गणित शिक्षाका प्राध्यापक डा. बालचन्द्र लुइँटेल भन्नुहुन्छ, ‘गणित विषयमा पिएचडी गर्ने पहिलो नेपाली श्रद्धेय राममान सर गणितलाई हाउगुजी बनाउनु हुन्न, जनताको हरेक काममा गणित जोडिएको हुन्छ भन्दै गणितको दर्शनबारे बहस चलाएर यसलाई आधुनिकीकरण गर्ने र दिशा निर्देश दिने गणितज्ञ हुनुहुन्थ्यो ।’ नेपाल गणित समाज, नेपाल गणित केन्द्र तथा म्याथम्याटिकल साइन्सेज ट्रस्ट जस्ता संस्थाहरू स्थापना गर्न तथा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा पनि उहाँको महत्त्वपूर्ण भूमिका रहेको यथार्थ पनि प्रा.डा. लुइँटेलले बताउनु भयो ।
प्रा.डा. श्रेष्ठका विधालय तह, प्रमाण पत्र तह तथा स्नातक तहका गणितका पाठ्यपुस्तकहरू प्रकाशित भएका छन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लेखहरू, सेमिनार तथा परियोजनाका रिपोर्टहरू प्रकाशित भएका छन । थुप्रै सङ्घ संस्थाले सम्मान गरेको भए पनि उहाँले सरकारी तहबाट कुनै पुरस्कार वा पदक लिनु भएको छैन । विद्यावारिधि गरेपछि राजाबाट प्राप्त हुने महेन्द्र विद्या भुषण लिन पनि उहाँले रुचि राख्नु भएन ।
नयाँ पुस्तालाई प्रा.डा. श्रेष्ठको सन्देश उहाँकै शब्दमा
–दर्शन बारे स्पष्ट नभईकन उच्च शिक्षा कता जान्छ भन्न सकिन्न । उच्च शिक्षामा नेपालको दर्शन के हो ? सिद्धान्त के हो ? निक्र्यौल हुनु पर्छ । त्यसपछि राजनीतिक, सामाजिक तथा शैक्षिक नेतृत्वले नीति निर्मातालाई सुझाव दिएर नीति निर्माणको खाका बनाउनुपर्छ । नीतिको आधारमा संसदले ऐन, कानुन बनाउनुपर्छ । यसबारेको छलफल शून्य भयो । तसर्थ व्यापक छलफल तथा बहस चलाउन जरुरी छ ।
–अहिलेको प्रतिस्पर्धात्मक विश्व तथा भूमण्डलीकरणको परिवेशमा परम्परागत खालको गणितमा टाँसिएर वा पुरातन प्रकृतिका म्याथले अब चल्दैन । इन्टरनेट, सूचना सञ्चार प्रविधिको समुचित प्रयोग हुने ‘ल्याब याट वर्क’ चाहिन्छ अब ।
–न्यूनतम मानवीय गुण पनि हराउँदै गयो । अबको गणित मानवता विकास गर्न सघाउने हुनुपर्छ । गणितको ज्ञानलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।
निष्कर्ष
जीवनका पैँतीस वर्षसम्म विद्यार्थीहरूको दिल दिमाग छुने गरी गणितीय ज्ञान र सीपको ज्योतिलाई सल्काउँदै, झरिलो र दिगो बनाउँदै सिङ्गो मुलुकलाई उज्यालो पार्ने कार्यमा अनवरत लाग्नु भएका प्रा.डा. राममान श्रेष्ठले उच्च शिक्षा र खासगरेर गणित विषयको उत्थानका लागि गर्नु भएको योगदान प्रशंसनीय छ । गणित जस्तो कठिन विषय पढाउँदा पनि आफ्नो जीवन्त शिक्षण शैली, हाउभाउ, सरलता, अन्तक्र्रियात्मक तथा विद्यार्थी–मैत्री व्यवहारले कक्षा कोठा र अध्ययन तथा अनुसन्धानमा विद्यार्थीहरूको ध्यान आकृष्ट गरिरहन सक्ने उहाँको शिक्षण कौशलताबाट सबैले पाठ सिक्नु श्रेयस्कर हुनेछ ।
खास गरेर २०२० को दशकको उत्तराद्र्ध र तीसको दशकको पूर्वाद्र्धमा विद्यालय, महाविद्यालय र विश्वविद्यालय तहमा गणितको पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्य सामग्रीको आधुनिकीकरण, परिवर्तन र परिमार्जनमा उहाँको भूमिका महत्वपूर्ण रहेको तथ्य जगजाहेर छ । गणितसम्बन्धी सचेतना अभियान मार्फत सरोकारवालाहरूको ध्यान तान्न सफल प्रा.डा. श्रेष्ठ गणितसम्बन्धी विभिन्न संस्थाहरू स्थापना गरेर गणित विषयमा अनवरत सेवा गर्नेहरूको सम्मान गर्न, पुरस्कार मार्फत नयाँ पुस्ताको गणितप्रतिको रुचिमा बढोत्तरी गर्न तथा यो विषयलाई विज्ञान तथा प्रविधिसम्मत बनाउनुका साथै यसलाई मानवीयता र सामाजिकतासँग सन्निकट राख्न उहाँको योगदान स्तुत्य छ । गणितमा विद्यावारिधि गर्ने पहिलो नेपाली, गणितका रत्न गुरुदेव प्रा.डा. राममान श्रेष्ठले गणित शिक्षाको आधुनिकीकरण, मानवीयकरण तथा सामाजिकीकरणमा पुर्याउनु भएको योगदानको राज्यले उचित सम्मान गर्न सकोस ।
साभारः रातोपाटी डट् कम

प्रतिक्रिया

सम्बन्धित खवर