
विश्व सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सका अनुसार कामदार वर्गले सम्पन्न वर्गले निर्माण गरेको पार्टीभन्दा बिल्कुलै भिन्नै र अलग्गै खालको राजनीतिक पार्टी निर्माण गरेर मात्र मजदुर वर्गको भुमिका खेल्न सक्दछ । कार्ल माक्र्सले सर्वहारा वर्गको पार्टी निर्माणको प्रश्नलाई किन यति महत्व दिनुभयो ? यो निर्णायक महत्वको प्रश्न हो । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले विश्व मानव समाजको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण सहित कम्युनिस्ट घोषणापत्र लेख्नु मात्र भएन तर त्यसलाई लागु गर्नका लागि विश्व सर्वहारा वर्गको क्रान्तिको समग्र रणनीति र कार्यनीति समेत निर्माण गर्नु भयो र उहाँहरुले सर्वहारा वर्गले गर्ने राजनीतिक संघर्ष भनेको पुँजीवादी सत्ताको सम्पूर्ण आधारहरुलाई समग्ररुपले निर्मुल पार्न गरिने सर्वहारावर्र्गीय सत्ताको लागि गरिने संघर्ष भएको बताएर समाजमा कम्युनिस्ट पार्र्टीको औचित्यलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा स्थापित गराउने काम गर्नुभयो ।
लेनिनले कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको वर्गसचेत संगठित अग्रदस्ता वताउनु भएको छ । लेनिनको यो भनाईका मुलतः तीन आयाम छन । प्रथमः आफ्नो वर्ग र वर्र्गीय दृष्टिकोणले सचेत सर्वहारा वर्गले मात्र कम्युनिस्ट हुने हैसियत प्राप्त गर्न सक्दछ, द्धितीय सर्वहारा वर्ग वर्गसचेत त हुनै पर्छ तर त्यति भएर मात्र पुग्दैन त्यो सर्वहार अनुशासनले युक्त पनि हुनु पर्दछ र तृतीय सर्वहारा वर्ग वर्र्गीय रुपले सचेत र अनुशासित हुनुले मात्र पनि सर्वहारा क्रान्तिको पूर्णतालाई पक्रन सक्दैन त्यसका लागि सर्वहारा संगठनको नेतृत्व र त्यसको सचेत पहलकदमी समेत उसैले निर्वाहा गर्न सक्नु पर्दछ भन्ने हो । लेनिनको भनाई अनुसार यस प्रकारको संगठित अग्रदस्ता वा संगठनलाई माक्र्सवादी सिद्धान्तले पैदा गर्ने अपराजित शक्तिले मात्रै लाखौं लाख श्रमजीवीहरुलाई मजदुर वर्गको विशाल सेनामा परिणत गरेर विजय प्रतिको आफ्नो श्रेष्ठता कायम गराउन सम्भव हुन्छ भन्ने हो ।
सर्वहारा क्रान्तिको लागि मजदुर वर्ग कति सचेत र अनुशासित हुनुपर्छ ? भन्ने प्रश्नमा लेनिन आफै संगठित नहुने मजदुरहरुले आन्दोलनलाई संगठित र नेतृत्व प्रदान गर्न सक्दैन भन्नु हुन्छ । लेनिनको यो भनाइले सर्वहारा वर्गको संगठनको महत्ववारे स्पष्ट हुन काफी हदसम्म मद्दत गर्दछ । कम्युनिस्ट पार्र्टीको आवश्यकता, त्यसको भुमिका र जिम्मेवारीको वारेमा लेनिनको अर्र्काे महत्वपूर्ण विचार राख्न यहाँ उपयुक्त हुन्छ । यस संदर्भमा लेनिन भन्नुहुन्छ ‘मजदुर वर्गको पार्टीलाई अनुशासित तुल्याउँदै माक्र्सवादले त्यस सर्वहारा अग्रदललाई अनुशासित गर्दछ, जो सत्ता आफ्नो हातमा लिन र समस्त जनतालाई समाजवादतर्फ अगाडि बढाउन सक्षम हुन्छ ।नयाँ व्यवस्थाको स्थापना र संगठन गर्न सामथ्र्य हुन्छ । जस्ले बुर्जुवा वर्ग विना र बुर्जुवा वर्गको विरुद्ध आफ्नो सामाजिक जीवनको निर्माणकालमा समस्त श्रमिकहरु तथा शोषितहरुको शिक्षक र अग्रणी नेता बन्ने क्षमता राख्दछ ।’ लेनिन सं र सं ३५ पृष्ठ २६ हिन्दी संस्करण । यहाँ लेनिनले कम्युनिस्ट पार्टीमा माक्र्सवादी सिद्धान्तको महत्व, त्यसको उदेश्य र लक्ष्यमा संगठनको भुमिकाको प्रश्नमा असाध्यै धेरै महत्वका साथ प्रकाश पार्नु भएको छ ।
समाजवादी समाज स्थापन गर्न सर्वहारा वर्गको पार्टीको भुमिकामाथि थप प्रकाश हाल्दै अर्र्काे एक प्रशंगमा लेनिन भन्नुहुन्छ, ‘संघर्षमा खारिएको र जब्बर भएको पार्टी बेगर, त्यस वर्ग(श्रमिक वर्ग) मा पर्ने सबै इमानदार व्यक्तिहरुको विश्वास प्राप्त गरेको पार्टी बेगर, जनसमुदायको मनोभावना बुझ्न सक्ने र उसमाथि प्रभाव पार्न सक्ने पार्टी बेगर, समाजवादको सफल निर्माणको कल्पना समेत गर्न सकिन्न ।’ लेनिन सं र सं खण्ड ४१ पृष्ठ २७ हिन्दी संस्करण। ।
यस प्रकारको पार्र्टी निर्माणको लागि सुस्पष्ट विचारधारतत्मक राजनीतिक कार्यदिशा सहितको सर्वहारा वर्र्गीय पार्टीको आवश्यकता प्राथमिक सर्त हुन्छ । आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवाद–लेनिनवाद–माओवादको सार्भभौमिक सिद्धान्तको मार्गदर्शनमा मात्र सर्वहारा क्रान्तिको रक्षा प्रयोग र विकास संभव छ । यो विषय नै पार्टी एकता सम्वन्धि प्रथम सर्त हुन्छ भन्ने कुरा आत्मसात गर्न जरुरी हुन्छ । विचारधारात्मक राजनीतिक कार्यदिशाको महत्व कति हुन्छ भन्ने कुरामा जोड दिदै कमरेड माओले ‘क्रान्तिकारी सिद्धान्त विना क्रान्तिकारी आन्दोलन हुन नसक्ने वताउदै, विचारधारात्मक कार्यदिशा सही हुनु र नहुनुले नै अन्ततः सम्पूर्ण कुराको फैसला गर्दछ ।’ भन्दै, जनतामा भर गर्ने, जनताको सेवा गर्ने, जनतासँग नकट्ने, जनतासँग एकाकार हुने, जनतासंग लिने र जनतालाई दिने, जननीति अख्तियार गरेको कम्युनिस्ट पार्टीले मात्र सर्वहार वर्गको समग्र रणनीति र कार्यनीतिको नेतृत्व गर्न सक्ने वताउनु भएको छ ।
कम्युनिस्ट पार्टीको लक्ष्य भनेको समाजवाद हुँदै वर्गविहीन, राज्यविहीन शोषणरहित समतामुलक साम्यवादी समाज स्थापना गर्नु हो । त्यसको प्रारम्भिक प्रक्रिया सर्वहारा अधिनायकत्वबाट हुन्छ । यश सम्वन्धि रुसी विद्वान तथा दर्शनशास्त्री भिक्टर अफ्फानोस्योभले उल्लेख गरे झै, ‘माक्र्सवादी हुनका लागि वर्गसंघर्षलाई स्वीकार गर्नु मात्रै पर्याप्त हुदैन । माक्र्सवादी त त्यतिबेला मात्रै बन्न सकिन्छ, जतिवेला वर्गसंघर्षका मान्यताहरुलाई सर्वहारा अधिनायकवादको मान्यतासम्म पुर्याएको हुन्छ ।’ सर्वहारा अधिनायकवाद सम्वन्धि लेनिन भन्नू हुन्छ,‘पुँजीवादवाट समाजवादतर्फ संक्रमणले अवश्यंमेव राजनीति रुपहरुको विविधता र वाहुल्यतालाई उत्पन्न नगरिरहन सक्दैन । तर जुनसुकै स्थितिमा पनि सारतत्व भने एउटै एउटै रहन्छ । त्यो हो सर्वहारा अधिनायकवाद ।’ लेनिन सं र सं खण्ड ३३ पृष्ठ ३५ । सर्वहारा अधिनायकत्वको अभावमा समाजवाद साम्यवादको सपना देख्ने राजनीति भनेको अवसरवादी तथा संसोधनवाद बाहेक अरु केही होइन भन्ने कुरा उक्त तथ्यले समेत स्पष्ट परेको छ । तसर्थ पार्टी एकताको आधारभुत सर्त सर्वहारा अधिनायकवाद र सर्वहारा पक्षधरतालाई मान्नु जरुरी छ ।
माथिका यावत तथ्य र प्रश्नहरुले के स्पष्ट पारेको छ भने साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा विकास भएको मालेमावादको बैचारिक आलोकमा सर्वहारा वर्गद्वारा गठित सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको समाजवाद र साम्यवादी समाजको लक्षमा पुग्ने अनिवार्य राजनीतिक सर्त हो सर्वहारा अधिनायकवाद । तर सर्वहारा अधिनायकवाद प्राप्त गर्ने क्रान्तिको साधन के हो ? यो प्रश्नले यतिवेला निर्णायक महत्व राख्दछ । दुनियाँभरिका दक्षिणपन्थी संसोधनवादी र अवसरवादीहरुले शान्तिपूर्ण संसदीय तरिकावाट नै समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने तर्क सहित भ्रम पैदा गरिरहेका छन भने क्रान्तिकारीहरुले सशस्त्र संघर्षको वाटो र बल प्रयोगको सिद्धान्त विना उक्त लक्षमा पुग्न नसक्ने बताउदै आइरहेका छन । तसर्थ क्रान्तिकारी पार्र्टीको एकताको संदर्भमा बल प्रयोगको सिद्धान्त अनिवार्य सर्त बन्नु पर्दछ ।
माथि नै बताइसकियो कि कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको वर्गसचेत संगठित अग्रदस्ता हो । यसमा सर्वहारा अनुशासन अनिवार्य हुने गर्दछ । सर्वहारा अनुशासनले नै माक्र्सवादी सिद्धान्तलाई सबल सक्षम र सम्वृद्व पार्दछ भने सर्वहारा अधिनायकवादलाई समाजवाद र साम्यवादको लक्ष्य तर्फ निरन्तर अगाडि बढाउने कार्य गर्दछ । यस प्रकारको सर्वहारा अनुशासनलाई लेनिनवादी संगठनात्मक सिद्धान्त वा जनवादी केन्द्रीयता भनिन्छ । यसले कम्युनिस्ट पार्र्टीको व्यक्तिदेखि संगठन र सत्ता सम्मलाई नीति, विधि, प्रकिृया र पद्धतिमा हिडाउने कार्य गर्दछ । साथै संगठन र सत्तालाई दक्षिणपन्थी र तथा अराजकतावादी गतिविधिवाट बचाएर रक्षा, संतुलन र विकासको प्रकिृयामा निरन्तर अगाडि बडाउने गर्दछ । तसर्थ जनवादी केन्दीयता सम्वन्धि संगठनात्मक सिद्धान्तको प्रश्न पनि पार्र्टी एकताको अनिवार्य सर्त हुन जरुरी हुन्छ ।
कम्युनिस्ट पार्टीको साम्यवाद सम्वन्धि घोषित उदेश्य पूरा गर्नका लागि सर्वहारा अधिनायकवाद अनिवार्य सर्त हुन्छ । सर्वहारा अधपनायकत्व भीषण वर्गसंघर्षको प्रकिृयावाट अगाडि बढ्छ । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले सर्वहारा वर्गको महान दस्तावेज कम्युनिस्ट घोषणापत्रमै स्पष्टरुपमा भन्नू भएको छ कि ‘आज सम्मको मानवसमुदायको समग्र इतिहास भनेको वर्गसंघर्षको इतिहास हो ।’ वर्ग संघर्ष सम्वन्धि माओ भन्नुहुन्छू वर्गहरु हुन्छन, तिनीहरूविच संघर्ष चल्छ, एउटाले विजय प्राप्त गर्छ र अरुहरु पराजित हुन्छन, ईतिहास यस्तै छ, हजारौं वर्षदेखिको मानव सभ्यताको ईतिहास यहि हो । यो दृष्टिकोणलाई स्वीकार गर्ने विचार ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो भने यसको विपक्षमा खडा हुने विचार चाहिँ ऐतिहासिक आदर्शवाद हो । यी भनाइवाट के स्पष्ट हुन्छ भने मानव समाजको समग्र इतिहास र आजसम्म विकास हुदै आएको मानव सभ्यताको जननी नै वर्ग संघर्ष हो र यस वास्तविकतालाई आत्मसात गर्नु नै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो । यस्मा सर्वहारा अधिनायकवाद प्राप्त गर्ने वर्गसंघर्षको प्रकिृया के हुन्छ भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण हुन्छ । आज विश्व कम्युनिस्ट आन्दोलन र स्वयं नेपालको कम्युनिस्ट आन्दोलनमा समेत प्रभाव जमाएर बसेको दक्षिणपन्थी अवसरवाद तथा वामपन्थी विसर्जनवादले वर्ग संघर्षको अस्तित्वलाई अस्वीकार गर्दै सर्वहारा अधिनायकत्वको कुरा गर्दछन । उनीहरु शान्तिपूर्ण तरिकाले संसदीय बाटोवाट समाजवाद र सम्यवादमा पुग्न सकिने भ्रम छर्दै आइरहेका छन । उनीहरुका यसप्रकारका झुट र राजनीतिक बकवासको विरुद्धमा भीषण संघर्ष र भण्डाफोर जरुरी छ । समाजवादी सत्ता र सर्वहारा अधिनायकत्व वारे थप व्याख्या गर्दै लेनिन भन्नुहुन्छ ‘सर्वहारा अधिनायकत्व भनेको अति शक्तिशाली दुश्मन विरुद्ध, बुर्जुवा वर्ग विरुद्ध नयाँ वर्ग(सर्वहारा वर्ग) द्वारा गरिने अति निस्वार्थ र भीषण युद्ध वाहेक अरु केही होइन ।’ कमरेड माओ त क्रान्तिकारी पार्र्टी, संयुक्त क्रान्तिकारी मोर्चा र त्यस पार्र्टीद्वारा नियन्त्रीत र निर्देशित नियमित सेनालाई क्रान्तिका जादुगरि तीन हतियार मान्दै सर्वहारा क्रान्तिको नियमित ससश्त्र सेना र सशस्त्र संघर्ष अनिवार्य भएको बताउनु हुन्छ । सर्वहारा क्रान्तिलाई रक्षा प्रयोग र विकास गर्नको लागि रणनीतिक रक्षा, रणनीतिक संतुलन र रणनीतिक प्रत्याक्रमणको प्रकिृयामा अगाडि बड्ने क्रान्तिकारी पार्र्टीको योजना र निर्देशनमा गठित सेनाद्वारा गरिने युद्ध अनिवार्य भएको कुरामा दुई मत हुन सक्दैन । मालेमावादको पथप्रदर्शनमा गठित सर्वहारा पार्र्टीले जनवादी केन्द्रीयताको आधारमा बल प्रयोग(सशस्त्र संघर्ष)को सिद्धान्तद्वारा स्थापना गरिने सर्वहारा अधिनायकवादले मात्रै मानव समाजलाई निरन्तर क्रान्तिको नियमित र अनिवार्य प्रकिृया पूरा गर्दै समाजवाद र साम्यवादको समुन्नत सामाजिक सभ्यताको युगमा पदार्पण गराउन सक्षम हुन्छ र यो विषयलाई पार्र्टी एकताको अनिवार्य सर्त बनाउनु पर्दछ । यहाँ मालेमावादको विकास प्रकिृयामा निरन्तर क्रान्तिको सिद्धान्तको अपरिहार्यता असाध्यै ठूलो महत्वको विषय भएको छ । सर्वहारा अधिनायकत्वको वारेमा थप स्पष्ट पार्दै लेनिन भन्नुहुन्छ, ‘सर्वहारा अधिनायकवाद वर्गसंघर्षको अन्त्य होइन, यो त वर्गसंघर्षका नीयमहरुको क्रमिक विकास मात्र हो । सर्वहारा अधिनायकवाद भनेको पराजित तर अझै निर्मुल नभइसकेको तथा पुरानो अस्तित्वको आडमा निरन्तर प्रतिरोधमा संलग्न हुँदै त्यसलाई बढाउदै लगिरहेको बुर्जुवा वर्गको विरुद्धमा विजेता बनेर आफ्नो हातमा राजनीतिक सत्ता लिइसकेको सर्वहारा वर्गको वर्गसंघर्ष हो ।’ लेनिन स.ंर.स.ं खण्ड ३८ । यस सम्वन्धी गोथा कार्यक्रमको आलोचनामा माक्र्स लेख्नुहुन्छ, ‘पुँजीवादी र साम्यवादी समाजको विचमा पहिलोलाई दोस्रोमा परिवर्तन गर्ने अवधि अनुरुप नै एउटा राजनीतिक संक्रमणकाल पनि कायम रहने गर्दछ । जस्मा राज्य सर्वहारा अधिनायकत्व अनिवार्य सर्त हुन्छ ।’ यी तथ्यहरुले के कुरा स्पष्ट पार्दछन भने प्रथम सर्वहारा अधिनायकत्व भनेको वर्ग संघर्षको अन्य नभएर त्यसकै एउटा नियमित प्रकिृया हो। द्धितीय वर्गसंघर्षका नीयमहरु नियमित विकास प्रकिृयामा अगाडि बडिरहेका हुन्छन, जस्ले पुँजीवादी तथा बुर्जुवा वर्गका सम्पूर्ण आधारहरु निर्मुल पार्न जरुरी हुन्छ । तृतीय पँुजीवाद र साम्यवाद विचको संक्रमण काल भएको हुनाले पुँजीवादलाई साम्यवादमा रुपान्तरण गर्न यो अनिवार्य हुन्छ । र चतुर्थ आफ्नो उदेश्य (पुँजीवादलाई साम्यवादमा रुपान्तरण गर्नु) लाई पूरा गर्न आफ्नो लुटको पुरानो सत्ता र स्वर्ग कायम गराउन प्रतिरोध बढाउदै लगेको पुरानो प्रतिकिृयावादी राज्यव्यवस्थामाथि पूर्ण विजय प्राप्त गर्न बाकि नै रहन्छ । मानव समाजमा साम्राज्यवादको अस्तित्व कायम रहेसम्म समाजवादी मुलुकलाई साम्यवादी समाजमा रुपान्तरण गर्न संभव नहुने बताउँदै माओ भन्नुहुन्छ, ‘समाजवादी समाजले निकै लामो ऐतिहासिक अवधिलाई ढाक्छ । यस अवधिमा वर्गहरु, वर्ग–अन्तरविरोध र वर्गसंघर्ष, समाजवादी बाटो पुँजीवादी बाटोबिच संघर्ष र पुजीवादी पुनःस्थापनको खतरा निरन्तर रुपमा विद्यमान रहिरहन्छ । साम्राज्यवाद र सामाजिक साम्राज्यवादद्वारा विध्वंस र आक्रमणको खतरा रहिरहन्छ । सर्वहारा अधिनायकतन्त्र अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त व्यवहारमाथि यी अन्तरविरोधहरुको समाधान अन्तरसम्बन्धित हुन्छ ।’
यस प्रकारको संक्रमणकालिन व्यवस्थाको पुँजीवादी र सर्वहारा मध्ये कुन वर्गले जित्छ भन्ने टुङ्गो लाग्न बाँकी नै रहने भएको कारण निरन्तर क्रान्ति र यसको अनिवार्यताममा जोड दिदै कमरेड माओ सर्वहारा वर्गले सर्वहारा अधिनायकत्वलाई माक्र्सवादी सिद्धान्तले लैस सर्वहारा संगठनले सुसज्जित र सशस्त्र रुपले आक्रमक भई सर्वहारा सांस्कृतिक क्रान्तिलाई आत्मसात गर्नु पर्ने बताउनु हुन्छ । जुन सर्वहारा अधिनायकत्वले निरन्तर क्रान्तिको सिद्धान्त र त्यसको मार्गद्वारा मानव समाजलाई समाजवाद हुँदै सम्यवादको चरणमा सर्वहारा अन्तर्राष्ट्रियतावाद लागू गर्न सक्षम बनोस । निरन्तर क्रान्तिको सिद्धान्तसंग सर्वहारा सांस्कृतिक क्रान्ति अनिवार्य रुपमा जोडिएर आउछ । विश्व कम्युनिस्ट आन्दोलनमा सर्वहारा सांस्कृतिक क्रान्तिलाई हेर्ने दृष्टिकोणमा काफी मात्रामा मतभिन्नता र भ्रम कायम छ र त्यसको नेपालको कम्युनिस्ट आन्दोलनमा समेत जबर्जस्त प्रभाव परेको पाइन्छ । महान सर्वहारा सांस्कृतिक कान्तिको आवस्यकताको संदर्भमा कमरेड माओले भने झै ‘पुरानो समाज र पुरानो वाटोवाट आएका मानिसहरुलाई पुरानो जीवनशैली, आनीबानी र तिनै कुराहरुको सम्झनाले लामो समयसम्म सताउने र पिरोल्ने हुनाले सर्वहारा सांस्कृतिक क्रान्तिको आवस्यकता अनिवार्य बन्न जान्छ र निरन्तर क्रान्तिको सिद्धान्त अनुसार यसलाई अगाडि बढाउनु पर्दछ ।’
यतिवेला संसारभरिका सच्चा मालेमावादी र कम्युनिस्ट क्रान्तिकारीहरु महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई सर्वहारा अधिनायकत्वको माध्यमवाट समाजवाद हुँदै साम्यवादसम्म पुर्याउने निरन्तर क्रान्तिको सिद्धान्तको महत्वपूर्ण अंशको रुपमा लिने गर्दछन । यसप्रतिको एकरुपतालाई पार्र्टी एकताको सर्त वनाउनु समेत उत्तिकै जरुरी हुन्छ । यतिवेला विश्व कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा रहेको छ । यसको प्रभाव संसारका सम्पूर्ण मूलुक र त्यहाँका क्रान्तिकारी आन्दोलनमा समेत परेको छ । त्यहि कुरा नेपालको संदर्भमा समेत सत्य हो । यो स्थितिको अन्त्यको लागि एकातिर क्रान्तिकारीहरुको अन्तराष्ट्यि केन्द्र निर्माण गर्नु आवस्यक छ भने अर्र्काेतिर भिन्नाभिन्नै देशहरुले पनि आ–आफ्नो देशमा सर्वहारा क्रान्तिको विकास गर्नु अनिवार्य छ । त्यसका लागि छरिएर रहेका सच्चा मालेमावादी र कम्युनिस्ट क्रान्तिकारी बिच एकता र ध्रुवीकरणको प्रकिृयामा जानू पर्दछ । तर यसप्रकारका एकता वा ध्रुविकरण क्षणिक आवेस र भावनाको आधारमा नभएर विचार, राजनीति, संगठन र त्यसप्रतिको रणनीति कार्यनीति र कार्यशैली समेतको एकरुपतालाई ध्यान दिन जरुरी हुन्छ । नेपालको संदर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई क्रान्तिको मार्गदर्शक र सार्वभौमिक सिद्धान्तको रुपमा स्वीकार गर्ने, जनवादी केन्द्रीयताको सिद्धान्त मान्ने, सर्वहारा वर्र्गीय पक्षधरता र सर्वहारा अधिनायकत्व स्वीकार गर्ने , बलप्रयोगको सिद्धान्तमा विश्वास गर्ने, निरन्तर क्रान्तिको सिद्धान्तलाई मानेर समाजवाद र साम्यवादप्रति समर्पीत भाव सहित सर्वहारा क्रान्ति र त्यसका समग्र रणनीति र कार्यनीतिको पक्षमा अगाडि बढ्न तयार हुने, सर्वहारा अन्तर्राष्ट्यितावादप्रति विश्वास गर्ने तथा यसको लागि संघर्षमा अविचलित रहने र नयाँ जनवादी क्रान्ति र महान सर्वहारा सांस्कृतिक क्रान्तिका पक्षधर शक्तिहरुसंग एकता र ध्रुवीकरणको प्रकिृयामा अगाडि बड्नु पर्छ । तर यो वाद, विवाद, संवाद, छलफल, वहस, निष्कर्ष र एकता संघर्ष रुपान्तरणको द्वन्द्वात्मक प्रकिृयाको विचवाट हुन जरुरी हुन्छ ।
२०७७ र्काितक






























