दसैँको टीको

प्रकाशित मिति : २०७७ कार्तिक २

- मित्रलाल पंज्ञानी

–उहिलेका कुरा खुइलिए ?

अहँ खुइलिएका छैनन् । झन् झन् रङ्गीन भएर पो आइरहेका छन् त ती कतिपय उहिलेका कुराहरू । अहिले यो संसारमा दुई शय वर्ष अघिको एउटा पनि मान्छे ज्यूँदो छैन । तर यहाँ भएका कुनै पनि मान्छे तिनको वंश भन्दा बाहिरको पनि छैन । यी मान्छेहरूले बोकेको चरित्र उहिलेका मान्छेले बोकेकै चरित्र हो । फरक एउटा मात्रै कुराको छ—अत्युन्नत प्रविधिका कारणले अहिलेका मान्छेको चालढाल अत्यधिक गतिशील छ ।

हुँदैन यसरी । उहिलेका कुरा खुइलिए भनेर पुराना जति सबैलाई त्याग्नु हुदैन, त्याग्छु भनेर सम्भवै छैन । त्यसो भन्ने हो भने त यो पृथ्वीमा बस्न पनि त भएन नि । यो उहिल्यैको हो । हावा उहिल्यैको हो । सास फेर्न भएन । पानी उहिल्यैको हो पिउनु भएन । भन्दै जाने हो भने यस्ता कुरा हजारौँ छन् ।

प्रगतिशीलहरूले के गर्न हुने र के गर्न नहुने भन्नेमा हरेक वर्षजसो बहस भइरहन्छन् । चलनहरू भने जसरी चलेका छन् त्यसैगरी गइ्रहन्छन् । दसैँको कुरा गरौँ न । आमाबाको हातबाट टीका थाप्ने कि नथाप्ने ? छोराछोरीलाई टीका लगाइदिने कि नलगाइदिने ?

मैले कतै पढेको कुरा हो, पहिले कहिले हो, बर्माका भिक्षुहरूका बीच ‘चीवरलाई दाहिने कुममाथि राख्नु धर्मसम्मत हो कि देब्रेमाथि राख्नु धर्मसम्मत हो ?’ भन्ने विषयमा दसकौँसम्म चर्को मतभेद भयो रे । कहाँको बुद्धचिन्तन १ कहाँको चीवरलाई कुन कुमतिर राख्ने भन्ने विवाद १ हामी विज्ञानसम्मत चिन्तन र संस्कृतिलाई बोकेर बाँकी तमाम रूढिलाई ढलाउँदै अगाडि बढ्नु छ । हाम्रा लागि दसैँमा टीका लगाउने कि नलगाउने भन्ने प्रश्न प्रधान होइन । के सोचेर लगाउने वा नलगाउने भन्ने प्रश्न प्रधान हो । त्यसले समाजमा पर्ने प्रभावको प्र्रश्न प्रधान हो । त्यसले समाजलाई यथास्थितिमा राख्छ ? पछाडि धकेल्छ ? वा अगाडि बढाउँछ ? हामीले गरेका निर्णयले ल्याउने नतिजाको प्रश्न प्रधान हो । सारमा भन्नुपर्दा विचारको प्रश्न प्रधान हो ।

मैले अघिल्लो वर्ष मेरी छोरीलाई टीका लगाएर आशिर्वाद पनि दिएँ । ‘नानी देवी देउता भन्ने कुरा कहीँ पनि छैनन् । मान्छेको उन्नति प्रगति मान्छेकै बुद्धि, विवेक र कर्ममा भर पर्छ । कसैले कसैको रक्षा गर्र्दैन । आफ्नो रक्षा आफै गर्ने हो । मान्छेलाई कृपा गर्ने कुनै अदृश्य शक्ति छैनन् ।’

‘त्यस्ता देवी देवता हुन्थे भनी संसारका मानिसहरूले यति दुःख पाउने थिएनन् । तीर्थ गर्न भनेर बद्रीनाथ केदारनाथ गएका भक्तहरूले ज्यान गुमाउने थिएनन् । बच्चाका आमाबा मर्ने थिएनन्, असहाय भई कोही पनि सडकमा झर्ने थिएनन् ।’

‘ईश्वर हुन्थ्यो भने त्यसले यसो भन्थ्यो— ‘मलाई घाम पोल्दैनन् रुझाउन्नन् झरीहरू
मेरा मन्दिर चाहिन्नन् मान्छेकै घर हुन् बरु’

तेरो चार दिने चोला म ईश्वर अजम्मर
तेरो नैवेद्य खाएर मैले पालिन के छ र
टोलैपिच्छे मन्दिर बनाउन पर्ने थिएन । गिर्जाघर बनाउनु पर्ने थिएन । मस्जिद बनाउनु पर्ने थिएन ।’

‘जसले ईश्वर र स्वर्गको बयान गर्छन् उनैलाई ई्रश्वर र स्वर्गमाथि विश्वास छैन । विश्वास हुन्थ्यो भने आफूलाई निकै धार्मिक ठान्नेहरू छिटो भन्दा छिटो मर्न बल गर्थे स्वर्ग जानका लागि । सम्पूर्ण सुख स्वर्गमा पाइने भएपछि को बस्छ पृथ्वीमा ?’

‘निर्धालाई सबैले हेप्छन् । बलियालाई आदर गर्छन् । आफू बलियो बन्न सक्नू । शरीरको बल मात्रै बल होइन । बलियो हुन बुद्धिबल पनि चाहिन्छ । शरीर बलियो राख्न तागतिलो खाने कुरा खानु पर्छ । फेरि खाएर मात्रै पनि बलियो भइदैन । खाएको राम्ररी पच्नु पर्छ । त्यसरी पच्नलाई आवश्यक परिश्रम गर्नु पर्छ ।’

‘बुद्धि बलियो बनाउन बौद्धिक खुराक आवश्यक पर्छ । धेरै भन्दा धेरै अध्ययन गर्नु पर्छ । अध्ययन गर्नु भनेको पुस्तक पढ्नु मात्रै होइन । देश, काल र परिस्थिति थाहा पाउनु पनि हो । पढेर मात्रै पनि बुद्धि बढ्दैन । त्यसलाई पचाउन सक्नु पर्छ । प्रशस्त बौद्धिक खुराक प्राप्त गर्ने तर पचाउन नसक्ने हो भने त्यसबाट कुनै ऊर्जा आउँदैन । बौद्धिक खुराकलाई पचाउनका लागि प्रशस्त चिन्तन र मनन गरिनु पर्छ ।’

‘दसैँमा टीका लगाएर केही बिग्रन्न । हुँदै नभएकी देवीको भर परियो भने कुरो बिग्रन्छ । आफ्नै योग्यता विकसित गर्न र त्यसैमा भर पर्न सिकियो भने धोका हुँदैन ।’

‘कुलतलम्पट तथा कुबुद्धिले ग्रस्त आफूभन्दा जेठालाई अग्रज भनेर आदर गर्नु अनर्थ हो । कहिल्यै भलो नगर्ने, माथि उठ्ने बाटाहरू सदैव बन्द गर्ने, सोझा र श्रमजीवीहरूलाई डस्ने, अनि अभावमा आनन्द मान्ने वर्गवैरीकहाँ टीका थाप्न जानु अनर्थ हो । आर्थिक रूपले शोषित र सामाजिक रूपले अपमानितहरू सचेत र सङ्गठित भई अन्यायका विरुद्ध लड्नु अर्थपूर्ण हो । दसैँलाई पैसा लेनदेनको विषय बनाउनु अनर्थ हो । सद्भाव फैलाउने र जागरण मौलाउने विचारको लेनदेन सार्थक हो ।’

‘पिता पुर्खादेखि मानिआएको कुरो यसरी एक्कासि तोड्न हुँदैन, जोगाउनु पर्छ भन्लान् कतिले । भने भनून्, कसैले जोगाइदिएर जोगिँदैन संस्कृति, मान्छेहरूका आवश्यकताले जोगिने हुन् । जीवननोपयोगी छन् भने तिनलाई बोकेर हिड्छन् । छैनन् भने कुनै पनि बेला मिल्काइ दिन्छन् । मोहबस एउटा पुस्ताले बोक्ला, फेरि अर्को पुस्ताले बोक्दैन । कदाचित् बोक्यो भने अब आउनेले फालिदिन्छ । मेरा आग्रहले केही पनि जोगिनेबाला छैन । जुन बलियो छ त्यसैले जित्ने हो । कुन बलियो छ भन्ने कुरा त्यसको अन्तर्यको गुणले निर्धारण गर्छ । मेरो आग्रहले निर्धारण गर्दैन । सामथ्र्यवान संस्कृति आफै जोगिन्छ । सान्दर्भिकता सकिएका संस्कृति समाप्त हुन्छन् । हुनैपर्छ । बेला बेलामा जनचेतनाका हुरी चलिरहन्छन्, रुढिका जर्जर वृक्षहरू ढलिरहन्छन् । बाबु बाजेको पालादेखि चलेको चलन भनेर नसकी नसकी कुप्रथाको कुर्कुच्चै भारी बोकेर हिडिरहन सकिँदैन ।’

‘जीवन विविधतामय छ । एकरसताको जीवन नारकीय जीवन हो । नित्य नवीनताको खोजीले नै मान्छेलाई नयाँ नयाँ आस्वाद र अनुभूति दिएको छ । नयाँ प्रयोग नै प्रगतिको कारण हो । नत्रभने मान्छे सधैँभरि जहाँको तहीँ रहन्छ ।’

‘छोरी १ यो संसार द्वन्द्वमय छ । त्यसैकारणले नित्य गतिशील र परिवर्तनशील पनि छ । यो द्वन्द्व, यो गति र यो परिवर्तनलाई बुझ्नको लागि प्रकृतिविज्ञान, समाजविज्ञान र मनोविज्ञानलाई गहिराइमा अध्ययन गर्नु आवश्यक छ । तिमी अन्धविश्वासलाई त्यागी वैज्ञानिक बाटो समातेर हिँडे ।’ कुरा उहिलेका हुन् वा अहिलेका जाँच परख गरेर मात्र स्वीकार वा अस्वीकार गर्नुपर्छ ।