
आस्विन ३० काठमान्डौं,
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय समितिका पूर्व सल्लाहकार र हाल पार्टी सदस्य कमरेड राममान श्रेष्ठको उपचारको क्रममा आज बिहान ९ः३० बजे सिभिल अस्पताल बानेश्वरमा दुःखद निधन भएको छ । कमरेड राममान श्रेष्ठको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.किरणद्धारा निम्नअनुसार प्रेस–वक्तव्यमार्फत हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएकोछ ः
प्रेस–वक्तव्य
नेपाली कम्युनिस्ट आन्दोलनका एकजना इमान्दार बौद्धिक व्यक्तित्व, हाम्रो पार्टीको केन्द्रीय समितिका पूर्व सल्लाहकार र हाल पार्टी सदस्य कमरेड राममान श्रेष्ठको उपचारको क्रममा आज बिहान ९ः३० बजे सिभिल अस्पताल बानेश्वरमा दुःखद निधन भयो । उहाँ क्यान्सर रोगबाट पीडित हुनु हुन्थ्यो । उहाँका १ छोरा, १ बुहारी र १ नाति हुनुहुन्छ ।
सानै उमेरबाट कम्युनिस्ट आन्दोलनमा जोडिनु भएका कमरेड राममान २०६० सालमा हाम्रो पार्टीमा आवद्ध भई ०६२ सालमा संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको संयोजकका हैसियतले मुख्यतः उपत्यकामा पार्टी तथा आन्दोलनका कामलाई अगाडि बढाउने एकजना क्रान्तिकारी व्यक्तित्व हुनु हुन्थ्यो । पार्टीका सबै विचार सङ्घर्षहरुमा उहाँ जीवनभर क्रान्तिको पक्षमा अविचलित रहनु भयो । साधा जीवन, उच्च विचार तथा क्रान्तिकारी आशावादका धनी एकजना योद्धा कमरेड राममान श्रेष्ठको निधनले हाम्रो पार्टी र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुग्न गएको छ । यस दुःखद घडीमा हाम्रो पार्टी कमरेड राममान श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)
मितिः २०७७ असोज ३० गते





























