सिद्धान्तप्रतिको मेरो निष्ठा

प्रकाशित मिति : २०७७ आश्विन २६

- कृष्णदास श्रेष्ठ


माक्र्स, एन्जेल्स, लेनिन, स्टालिन र माओ चतुङ्ग आधुनिक सर्वहारावर्गका महान गुरु तथा नेता हुन् भन्ने कुरा एउटा सर्वमान्य तथ्य हो । राजनीतिक क्षेत्रमा, कम्युनिस्टतर्फ मेरो संक्रमणको बेलादेखिन् नै उपरोक्त नेताहरुप्रति मेरो सम्मान र श्रद्धा र तिनका क्रान्तिकराी विचारहरुप्रति मेरो निष्ठा र आस्था अविचल रहेर आएको छ । सुरुमा मेरो सो श्रद्धा र आस्था एक प्रकारले भावनात्मक रहेको थियो । पछि, सैद्धान्तिक अध्ययनको सिलसिलामा उनीहरुका विचार तथा कार्यहरु र उनीहरुको उच्च आदर्शबारे वृद्धि हुँदै गएपछि, उनीहरुप्रतिको मेरो श्रद्धा र सम्मानको भाव र माक्र्सवादी सिद्धान्तप्रति मेरो निष्ठा अरु गहन तथा दरो हुँदै गयो । उनीहरु सच्चा सर्वहारा क्रान्तिकारी हुन् । उनीहरुका क्रान्तिकारी विचारहरु श्रमिक मानवजातिको मुक्तिका लागि र नयाँ वर्गहीन समाजको निर्माणका लागि सच्चा निर्देशन हुन् र साथै, समाजको क्रान्तिकारी रुपान्तरण चाहने र त्यसको लागि सक्रिय बनेकाहरुका लागि उनीहरु अनुकरणीय ऐतिहासिक व्यक्तित्व हुन् भन्ने मेरो दृढ धारणा र विश्वास रहेको छ । उपरोक्त कारणले गर्दा उनीहरुप्रति मेरो ठूलो श्रद्धा र सम्मान रहेको हो ।
माक्र्सवादका सैद्धान्तिक स्थिति तथा अवधारणाहरुलाई मैले प्राधिकारको रुपमा लिएको छु, र यसमा मेरो दृढ अडान छ । त्यसका सैद्धान्तिक स्थितिहरुको आधिकारिताप्रति मेरो अडान कति बलियो र दरो रहेको छ भने कसैले त्यसप्रति गर्ने विरोध, जथाभावी आलोचना वा शंकास्पद टिका टिप्पणी मेरो निम्ति अग्राहय हुन्छ र म त्यसको खण्डन गर्न प्रेरित हुने गर्छ । हाम्रो कम्युनिस्ट आन्दोलनका पंक्तिहरुमा रहेका कुनै कुनै बुद्धिजीवीहरुले माक्र्सवादको चिन्हपाटी राखेर गरिएका गलत व्याख्या विश्लेषण वा त्यसको मौलिक वा नयाँ ढङ्गले प्रयोग गर्नुपर्ने वा त्यसको संशोधन गर्नुपर्ने धारणाहरु समय–समयमा देखा पर्ने गरेका छन् र त्यस्तो प्रवृत्ति अहिले झन बढ्दो छ । त्यस्ता गलत धारणाहरुको प्रतिनिधित्व गर्ने केही लेख–रचनाहरु बारे मैले आफ्ना आलोचनात्मक टिप्पणीहरु प्रकाशित गरेको छ ।


आलोचनात्मक टिप्पणीहरु गर्दा मेरो प्रमुख ध्यान आलोचित लेखमा रहेका गलत विचार र धारणामा केन्द्रित हुने गर्छ । त्यसमा सो लेखका लेखक के कस्ता छन्, उनका कस्ता चारित्रिक विशेषता कुन खालका छन्, उनी को हुन्, भन्ने कुरासित मेरो कुनै मतलब र चासो रहेको हुँदैन । त्यस्तै सम्बन्धित लेखक आफ्नो नजिकका हुन् कि टाढाका हुन् भन्ने कुरासित पनि मेरो कुनै मतलब रहेको हुँदैन । टिप्पणीमा सम्बन्धित लेखकको नाउँ उल्लेख भएको हुन्छ, र सो उल्लेख हुने एकमात्र कारण के हो भने आलोचित विचार वा धारणा उनीमार्फत् अभिव्यक्त भएको हुन्छ, त्यस्ता आलोचनात्मक टिप्पणीहरु माक्र्सवादी सिद्धान्तप्रति मेरो निष्ठाका अभिव्यक्ति हुन् र साथै सो सिद्धान्तको पक्षपोषण गर्ने प्रयास पनि हुन् ।

मेरो आलोचनात्मक लेखहरु पढ्ने कसै कसैले आलोचना तीखो (sharp) रहेको बताएका छन् । उहाँहरुको भनाइ एक प्रकारले उचित रहेको छ, किनभने गलत विचार र धारणाको मबाट भएको आलोचना तीखो रहने गरेको छ र मलाई के लाग्छ भने सैद्धान्तिक आलोचना स्पष्ट, विषयगत र तीक्ष्ण हुनु पर्छ । लेखाइको यस स्वरुपमा पनि ममाथि परेको माक्र्स र एंगेल्सको प्रभाव अभिव्यक्त भएको छ । उनीहरुद्वारा रचिएका आलोचनात्मक रचनाहरु उपरोक्त कुरा हामी पाउँछौं र आलोचना तीखो हुनुको अर्थ कदापि निन्दा, गाली वा घृणा होइन, त्यो त गल्ती वा झुठ्ठलाई खुलस्त पारी यथार्थ र सत्यलाई स्पष्ट पार्नु हो । सबभन्दा मुख्य चाहिने कुरा त के हो भने आलोचना यथार्थपरक, तर्कयुक्त र सिद्धान्तगत हुनु पर्छ ।

सैद्धान्तिक–दार्शनिक विषयहरु र विभिन्न सामाजिक–राजनीतिक परिघटनाहरुको व्याख्या–विश्लेषण गरी मैले जुन रचनाहरु रचेको छु, त्यसको आधारको रुपमा मैले माक्र्सवादी दृष्टिकोण र तरिकालाई अपनाएको छु । मेरो दरो मान्यता र विश्वास के छ भने कुनै चीज, विषय तथा परिघटनाहरुको यथार्थता र सारतत्वलाई खुलस्त पार्ने सही वैज्ञानिक दृष्टिकोण र तरिका भनेको माक्र्सवादी सिद्धान्त नै हो । त्यसैले, कुनै विषयमा कलम चलाउँदा माक्र्सवादी सिद्धान्तको भित्ता समातेर अघि बढ्ने प्रयास मेरो रहेको छ । यस प्रयासमा म कतिसम्म सफल रहेको छु र मेरा लेख–रचनाहरु कतिसम्म यथार्थपरक र माक्र्सवाद सम्मत छन् भन्ने जाँच्ने काम पाठकहरुको हो ।

शब्दहरुले “विचारको यथार्थ” (precision of thought) प्रस्तुत गर्नुपर्ने कुरामा हेगेलले जोड दिएका छन् । मानिसले कुरा गर्दा उसले प्रयोग गर्ने शब्दबाट उसको मनको कुरा र भावना व्यक्त हुने गर्छ । त्यसैले भनिएको छ : शब्दहरु दिलको ढोका खोल्ने साँचो हुन् -“Words are the key to the heart” त्यस्तै, शब्दहरु भनेका विचारको यथार्थ प्रस्तुत गर्ने साधन हुन् । कुनै मानिसको धारणा वा विचार सही हुन् सक्छ, तर त्यसलाई ठीक र उपयुक्त शब्दहरुमा व्यक्त गरिएन भने त्यसको अनर्थ हुन् जान्छ । आफ्ना लेखहरुमा हेगेलको उपरोक्त निर्देशनलाई अनुशरण गर्नमा सजग र सचेष्ट रहने गरेको छु । लेख्दा यस पक्षमा पनि मेरो ध्यान र प्रयत्न रहेको छ । (मेरो जीवनको सेरोफेरो पुस्तकबाट)