काठमाडौं । सत्तारुढ दल डबल नेकपाभित्र सत्ता स्वार्थको शक्ति सन्तुलन अनुसार मन्त्रीहरु हेरफेरदेखि भागबण्डा पु¥याउन मन्त्रालय टुक्र्याउनेसम्मका गृहकार्य भइरहेका छन् । मन्त्रिमण्डल पुनर्गठनका लागि दुई अध्यक्ष निरन्तर छलफलमा जुटेका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्ला केही दिनदेखि यही विषयमा बालुवाटारमा छलफल चलिरहेको छ । छलफल हाल खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त गर्ने, तीनवटा मन्त्रालय टुक्य्राएर ६ वटा बनाउने र करिब एक दर्जन मन्त्रीलाई फेरेर नयाँलाई मन्त्री बनाउने विषयमा केन्द्रित रहेको स्रोतको दावी छ ।

हाल सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय खालि रहेका छन् । त्यसैगरी ऊर्जा जलस्रोत सिँचाइ, उद्योग वणिज्य र आपूर्ति र भौतिक पूर्वाधार तथा यातायातलाई टुक्य्राएर ६ वटा बनाउने छलफल चलिरहेको स्रोतले दावी गरेको छ ।

साथै दुई अध्यक्षबीच आवश्यकताको सिद्धान्तका आधारमा केही मन्त्री हेरफेर गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको छ । जसमा झन्डै एक दर्जनजति मन्त्रालयका हालका मन्त्री फेरेर नयाँलाई ल्याउन प्रचण्डले जोड दिएका छन् भने ओलीले ६÷७ जना मात्रै फेरबदल गर्न चाहेको स्रोतले जनाएको छ ।

मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि छलफलमा कति मन्त्री हेरफेर गर्ने र कसरी पार्टीभित्रका पूर्व गुटहरुको प्रतिनिधित्व हुने गरी भागबण्डा गर्ने भन्ने विषय सबैभन्दा पेचिलो बनेको स्रोतले बतायो ।

अहिले डबल नेकपामा मन्त्री बन्नका लागि पूर्व गुटहरु परिवर्तन गर्ने देखि नयाँ गुटको सिर्जना गर्नेसम्मका गतिविधिहरु बाक्लिएका छन् ।

यसैबीच, उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्री बनाउने रोजाइमा पूर्व माओवादी खेमाका दुई जना व्यक्ति परेका छन् । पार्टीभित्र समस्या पर्दा आफूलाई सघाएका नेता टोपबहादुर रायमाझी र जनार्दन शर्मा प्रभाकरलाई ओलीले मन्त्री बनाउन खोजेको स्रोतको दावी छ । यसो गर्दा केही मन्त्रीका पद धरापमा पर्ने भएका छन् । तीमध्ये भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री गिरिराजमणी पोखरेलको मन्त्री पद धरापमा पर्ने लगभग निश्चित जस्तै देखिएको स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर