काव्यिक सिर्जनामा सक्रिय दिवंगत चन्द्रा थानीप्रति इच्छुक साँस्कृतिक प्रतिष्ठान र अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

काव्यिक सिर्जनामा सक्रिय दिवंगत चन्द्रा थानीप्रति इच्छुक साँस्कृतिक प्रतिष्ठान र अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा श्रद्धाञ्जली व्यक्त


काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ तथा अखिल नेपाल लेखक सङ्घको केन्द्रीय सचिवालय सदस्य, इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमिति सदस्य समेत रहनु भएकी नेपालको वामपन्थी आन्दोलनमा सदैव अग्रपङ्क्तिमा रहेर सङ्घर्षमा होमिएकी सुर्खेत बयलकाँढा गढी निवासी प्रगतिवादी लेखिका दिवंगत चन्द्रा थानीप्रति इच्छुक साँस्कृतिक प्रतिष्ठान र अखिल नेपाल जनसाँस्कृतिक महासंघले श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रतिष्ठानका अध्यक्ष तथा महासंघका महासचिव हिरामणि दुःखीले जारी गरेको वक्तव्यमा भनिएको छ, “यही २०७७ भाद्र २८ गते पित्तथैलीको पत्थरीको अप्रेसन पश्चात् उपचारकै क्रममा काठमाडौं स्थित मेडिसिटी अस्पतालमा अकल्पनीय रूपमा निधन भएकोले हाम्रो सङ्गठन निकै मर्माहत र स्तब्ध भएको छ । सर्वप्रथम यस दुःखद घडिमा प्रगतिवादी योद्धा चन्द्रा थानीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै उहाँको निधनबाट पर्न गएको अपुरणीय क्षतिबाट मर्माहत एवम् शोकसन्तप्त हुनुभएका उहाँका जीवनसाथी नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम कमरेड चक्रपाणी शर्मा र छोराछोरीहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।”


दिवंगत थानीले साहित्यिक तथा साँस्कृतिक आन्दोलनमा पु¥याएको योगदानको बारेमा वक्तव्यमा भनिएको छ, “नेपाली जनसांस्कृतिक आन्दोलनमा निरन्तर क्रियाशील लेखिका चन्द्रा थानीको जन्म २०१७ चैत १६ गते बुबा प्रजापति थानी र आमा भूमिदेवी थानीको कोखबाट पहिलो सन्तानका रूपमा बयलकाँडा गढी सुर्खेतमा भएको हो । उहाँ विद्यार्थी जीवनकालदेखि कम्युनिस्ट राजनीतिमा आबद्ध हुँदै साहित्य, कला र संस्कृतिको क्षेत्रमा क्रान्तिकारी धारासँग जोडिँदै आउनु भएको थियो । मूख्यतः काव्यिक सिर्जनामा सक्रिय चन्द्रा थानीका सङ्कल्प (कविता सङ्ग्रह) २०५१, नारी चेतना (खण्डकाव्य) २०५४ र कत्लेआम (खण्डकाव्य) कृतिहरू प्रकाशित छन् भने दर्जनौं पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित रहेका छन् । यस अतिरिक्त उहाँका आमा (गीतिनाटक), धर्ती (खण्डकाव्य), पुतली (खण्डकाव्य) कृतिहरू अप्रकाशित रहेका छन् ।

स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेकी चन्द्रालाई साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याए वापत सुर्खेती कल्याण समाज काठमाडौंले पुरस्कृत गरेको छ । त्यसैगरी इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा कृष्णसेन इच्छुक स्मृति पुरस्कार २०७३ बाट पुरस्कृत गरेको छ । विद्यालय तहदेखि नै कविता तथा निबन्ध प्रतियोगितामा भाग लिँदै काव्ययात्रामा सङ्गठित भएकी चन्द्रा थानीले प्रगतिवादी साहित्य कलामा कलम चलाइरहनु भएको थियो ।”