डबल नेकपामा ‘राष्ट्रिय स्वाधीनता’को अवसान

डबल नेकपामा ‘राष्ट्रिय स्वाधीनता’को अवसान


यतिखेरको नेपालमा राष्ट्रिय स्वाधीनताका सर्वाधिक चर्चित र संवेदनशील विषय हुन्– नेपाल सरकारले जारी गरेको लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा’ र ‘मिलेनिम च्यालेन्ज कर्पोरेशन (एमसीसी)’ । नेपालको नयाँ नक्सा भारतीय विस्तारवादसँग सम्बन्धित छ भने एमसीसी अमेरिकी साम्राज्यवादसँग सम्बन्धित छ । अर्थात् नेपालको राष्ट्रिय स्वाधीनताका लागि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद नै सबैभन्दा ठूला चुनौती (खतरा) हुन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक यतिबेला भारतीय कब्जामा छ । उसले आफ्नो नक्सामा उक्त नेपाली भूमि गाभेको मात्रै छैन, भौतिक रुपमा पनि त्यो क्षेत्रमा उसले उपस्थिति जनाइराखेको छ । कालापानीमा उसले बर्षौदेखि आफ्नो सेना तैनाथ गरिराखेको छ भने लिपुलेक क्षेत्रमा हालसालै सडक सञ्जाल निर्माण गरेको छ । जसको नेपालमा व्यापक विरोध भयो र जनदबाबकै कारण नेपालको सरकारले उक्त भूमिसहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्न बाध्य भयो र संविधान संशोधन गरी निशान छापमा समेत उक्त नक्सा परिमार्जन गरियो । तर भारतले उक्त नेपाली भूमि विना ऐतिहासिक तथ्य प्रमाण बलमिच्याईपूर्वक आफ्नो भएको दावी गरिरहेको छ र भारतसँग सीमा जोडिएका अन्य ६ दर्जनभन्दा बढी ठाउँमा सीमा अतिक्रमण जारी राखेको छ । जारी नयाँ नक्सा अनुसारको नेपाली भूमि भारतीय कब्जाबाट फिर्ता गर्ने दायित्व नेपाल सरकारको हो, राज्यको हो ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकी साम्राज्यवादी परियोजना हो । यो चीनलाई घेरा हाल्ने र एशियामा आफ्नो एकाधिकार स्थापित गर्ने अमेरिकी हिन्द प्रशान्त सैन्य रणनीतिको मिसनसँग सम्बन्धित परियोजना हो । सोही उद्देश्य हासिल गर्न अमेरिकाले एमसीसी परियोजनाअन्तर्गत नेपाल भूमि, यहाँको प्राकृतिक तथा मानवीय स्रोध साधन चीनका विरुद्ध प्रयोग गर्न खोजेको छ । एमसीसीमा उल्लेखित प्रावधानहरुले नेपाल अमेरिकी साम्राज्यवादको कठ्पुतली (गुलाम) देशमा परिणत हुने निश्चित देखिएको छ । यो परियोजनालाई रोक्ने र नेपालका कार्यान्वयन हुन नदिने मुख्य दायित्व र काम पनि नेपाल सरकारकै हो ।

नेपालमा यतिखेर डबल नेकपाको सरकार छ । उक्त पार्टीको पहिलो नम्बरका अध्यक्ष समेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री छन् । ओली तिनै व्यक्ति हुन्, जसले भारतको हितनुकूलको महाकाली सन्धि गराउन ठूलो भूमिका खेलेका थिए । र, अहिले भारतले लिम्पियाधुरासहितको कब्जा गरिएको नेपाली भूमि आफ्नो भएको दावी त्यही महाकाली सन्धिलाई आधार मानेर गरिरहेको छ । त्यसभन्दा अघि तत्कालीन ब्रिटिश साम्राज्यवादसँग गरिएको सुगौलीसन्धियताका सबै ऐतिहासिक तथ्य प्रमाणहरुले उक्त भूमि नेपालको हो भन्ने स्पष्ट रुपमा देखाएको छ । त्यसमाथि उक्त भूमिमा बसोबास गर्ने नेपालीहरुको नेपालसँग जनगणना गरेको र नेपाल सरकारलाई तिरो तिरेको रसिदहरु पनि प्रमाणको रुपमा रहेका छन् । यी ऐतिहासिक तथ्य प्रमाणहरुका आधारमा उक्त भूमि फिर्ताका लागि नेपाल सरकारले जुन तदारुकता देखाउनुपर्ने हो, त्यस दिशामा माखो मारेको छैन । जेठमा नक्सा जारी गरेको सरकारले अहिले यो विषयमा शब्द उच्चारण नै समेत गर्न छाडिसकेको छ । करिब तीन चार महिनाको किचलो, आरोप प्रत्यारोप, सत्ता स्वार्थको झगडा मिलेको मिलाएको भनिएको पछिल्लो डबल नेकपाको स्थायी समितिको बैठकमा ओली र प्रचण्डको सहमतिको प्रस्तावमा ‘एमसीसी’ पास गर्ने विषय उल्लेख गरिएको भए पनि भारतले कब्जा गरेको भूमि फिर्ता गर्ने विषयमा उल्लेख नै छैन । र, यो विषयमा कसैले आवाज उठाएको पनि सुनिएन । आफैले जारी गरेको नक्सा अनुसारको जमिन कायम गराउने तथा अतिक्रमित फिर्ता गर्ने विषयमा एकातिर छलफल नहुनु तर अर्कोतिर राष्ट्रघाती एमसीसी सदनबाट पास गराउने विषयमा संस्थागत निर्णय हुनु भनेको डबल नेकपाभित्र ‘राष्ट्रिय स्वाधीनताको मृत्यु’ हुनु हो । यसअघि एमसीसी खारेजीका लागि आवाज उठाउने डबल नेकपाका नेताहरुको ‘राष्ट्रवाद’ पनि केवल पद र पैसाका लागि बार्गेनिङ मात्र रहेछ कि भन्ने भन्ने गम्भिर आशंका उत्पन्न हुन गएको छ ।

सिद्धान्त, विचार, आदर्श, मूल्य मान्यता, नैतिकता र इमान्दारिता सिद्धिएपछि पद र पैसाका लागि जे पनि गर्ने दलाल चरित्रको विकास हुने रहेछ । राज्य शक्ति र स्रोत साधनको चरम दुरुपायोग गरी देश र जनतालाई नै एक हिसाबले बन्दक बनाएर तीन छ महिनादेखि पार्टीभित्रको किचलोमा रमाएका र एकसाथ ‘भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद’को दलालीको प्रतिस्पर्धामा लागेका डबल नेकपाका नेताहरु अन्ततः एमसीसी पास गर्ने, भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत भूमि फिर्ताका लागि ठोस पहल नगर्ने सर्तमा पद र पैसाको भागबण्डा गरी नाटकीय सहमति कायम गरेको प्रचार गरिरहेका छन् । दास र भाट चरित्रका कार्यकर्ताहरु उत्सव मनाइरहेका छन् । माफिया र विचौलियाहरु भोज भतेरको खेती चलाइरहेका छन् । यता जनता भने दिनदिनै भोग र रोगले छट्पटाएर निकै कारुणिक र दर्दनाक मृत्यु बरण गरिरहेका छन् । सहरका सडक गल्लीहरुमा एक छाकका लागि श्रमजीवी मजदुरहरु तड्पीइरहँदा, छट्पटाइरहँदा शासकहरु भने चौरासी व्यन्जनमा स्वाद फेरिरहेका छन् । यो घडीमा शासकहरु, डबल नेकपाका नेताहरुमा कथित राष्ट्रवादको मात्रै होइन, मानवीय संवेदनाको पनि मृत्यु भएको महसुस सारा जनताले गरिरहेका छन् । मरता तो क्या नइ करता भनेजस्तै भोका नाङ्गा जनताको विद्रोहले अवश्य पनि एकदिन ‘त्यो मृत्युको’ दाहःसंस्कार गर्नेछ र त्यो खरानीबाट नयाँ युगको सुत्रपात गर्नेछ ।