
भाद्र २१ काठमान्डौ
६ ट्रेड युनियन महासंघको संयुक्त बैठक समाजवादी ट्रेड युनियन महासंघको कार्यालय बालकुमारी, ललितपुरमा सम्पन्न भएको छ । बैठकले भाद्र २५ गते काठमाडौको माइतीघरमा मजदुर पक्षीय सशक्त विरोध प्रदर्शन गर्ने सहित केही महत्त्वपूर्ण निर्णयहरु गरेको छ जो निम्न रहेका छनः
१.ऋषि कटेलले नेतृत्व गरेकोे नेकपा निकट अखिल नेपाल ट्रेड युनियनलाई ६ ट्रेड युनियन महासंघमा सहभागी र आबद्ध गराउने निर्णय गरेको छ । यो निर्णयसंगै अब ७ ट्रेड युनियन महासंघको संयुक्त मोर्चा बनेको छ ।
२. कोभिड–१९ को आतंक र राज्यद्वारा जारी लकडाउन र निषेधाज्ञाले रोजगारी कटौती, तलब सुविधाको कटौती र राज्य एवं पुँजिपति वर्गको मजदुर विरोधी नीतिले मुख्यतः मजदुर वर्गले अपुर्ब संकटको सामना गर्नु परेको आजको सन्दर्भमा उत्पीडित मजदुरको पक्षमा देशव्यापी संघर्ष अगाडि बढाउने निर्णय गरेको छ । सोहि योजना अनुरुप यहि भाद्र २५ गते माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन सम्पन्न गर्ने निर्णय गरेको छ ।
३. ७ ट्रेड युनियन महासंघले आयोजना गर्ने संयुक्त संघर्षमा गतिशील र सक्रिय भुमिका पुरा गर्न सम्पुर्ण उत्पीडित मजदुर वर्गलाई विशेष अपिल र आव्हान गरेको छ ।
यहि श्रावण १६ गते ६ ट्रेड युनियन महासंघले संयुक्त रुपमा मजदुरको रोजगारी कटौती, तलब सुविधा कटौती र मजदुर विरोधी सम्झौताको विरुद्ध काठमाडौमा सशक्त विरोध प्रदर्शन र मजदुर विरोध सभा सम्पन्न गरेका थिए ।
७ ट्रेड युनियन महासंघमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघ, नेकपा(माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोन्ट), माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन, नेकपा निकट अखिल नेपाल ट्रेड युनियन र स्वतन्त्र ट्रेड युनियन महासंघ रहेका छन ।






























