काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए । सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन् । मुखर्जी ८४ वर्षका थिए ।

भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए । मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए । गत अगस्ट १० मा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छन् । लामो समयदेखि बिरामी रहेका मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ । मस्तिष्कको सर्जरी गरेर दिल्लीस्थित आर्मी आरआर अस्पतालमा उपचाररत उनी कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमितसमेत बनेका थिए । सोमबार उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।

लगतै राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज भएको दुःखद् निधनबाट मर्माहत भएको छु । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुखर्जीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालले एक महान् मित्र गुमाएको बताएका छन् । ‘सार्वजनिक जीवनको विभिन्न तहमा नेपाल–भारतको सम्बन्ध बलियो बनाउनका लागि उनको भूमिकालाई सम्झनेछौं’ ओलीले ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर