
काठमाडौं । कोभिड–१९ संक्रमण नेपालमा भयावह रुपमा फैलिएको छ । समुदायस्तरमा फैलन पुगेको कोरोना भाइरसबाट अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरु पनि ठूलो संख्यामा संक्रमित हुन पुगेका छन् । प्राप्त विवरणमा तीन सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एक हजार ६३३ जनामा संक्रमण्मा देखिसकेको छ । त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन् । सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै संक्रमण देखिएको थियो । त्यसपछि संक्रमण दरमा एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ ।
सबैभन्दा बढी नेपाल प्रहरीमा संक्रमित भेटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७९५ जनामा संक्रमण देखिएको बताए । उनका अनुसार उपत्यकामा मात्रै १६३ जना फेला परेका छन् । पाँच सयभन्दा बढी निको भएर फर्किसकेका उनको भनाइ छ ।
सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४३५ सशस्त्र प्रहरी संक्रमित भएका छन् । त्यसमध्ये १८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ । उपत्यकामा मात्रै ७३ जनामा देखिएको उनले जानकारी दिए ।
नेपाली सेनामा आजसम्म ४०३ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ११६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५०० भन्दाबढी संक्रमित भइसकेका छन् ।
यसैबीच, सशस्त्र प्रहरीको प्रदेश २ मातहतबाट नेपाल–भारत सीमा सुरक्षामा खटिएका ५२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सीमा सुरक्षामा खटिएकामध्ये ११२ को पिसिआर परीक्षण गर्दा बिहीबार ५२ जनामा कोरोना संक्रमण देखिएको प्रदेश नम्बर २ का सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले बताए ।
केही दिनअघि स्वाब संकलन गरेपछि उनीहरूलाई बारास्थित ३९ नम्बर गणको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमण देखिएकाहरूलाई शुक्रबार बिहान काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको ब्रह्मचार्यले बताए ।
उनका अनुसार सो प्रदेशका आठ जिल्लामा सीमा सुरक्षामा खटिका करिब ३५ सय सशस्त्र प्रहरी छन्। संक्रमितहरू बारा, पर्सा र रौतहटका रहेको बताइएको छ । उनीहरूको सम्पर्कमा रहेका सशस्त्र प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ थालिएको छ ।































