महामारीमा कर्तव्य पूरा गर्न नसकेकोमा माफी माग्दै जापानका प्रधानमन्त्री सिन्जो अबेले दिए राजीनामा

प्रकाशित मिति : २०७७ भाद्र १२


एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो अबेले महामारीमा कर्तव्य पुरा गर्न नसकेकोमा माफी माग्दै पदबाट राजिनामा दिएका छन् । लगातार सबैभन्दा लामो समय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री अबेले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।
“भलै मेरो कार्यकालको एक वर्ष अझैं बाँकी रहेपनि मैले मेरो स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको छु”।, शुक्रबार टोकियोमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन् गर्दै प्रधानमन्त्री अबेले भने ।
अबेले जापानका नगारिकसँग कोरोना महामारीको समयमा आफ्नो कर्तव्य पूरा गर्न नपाएको भन्दै माफी समेत मागे । सन् २०१२ देखि लगातार प्रधानमन्त्री रहेका अबेले जापानको इतिहासमै सबभन्दा बढी समय लगातार सरकार प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

त्यसअघि पनि सरकारको नेतृत्व गरेका अबेले स्वास्थ्यकै कारण सन् २००७ मा एक वर्षमै पद छाडेका थिए । अबे पेटसम्बन्धी गम्भीर रोगबाट पीडित रहँदै आएका थिए ।

एनएचकेले आफ्नो अनलाइन पोर्टलमा उल्लेख गरे अनुसार अबे गत साता मात्र दुई पटक अस्पताल पुगेका थिए । जापानमा आएको प्राकृतिक विपत्ति र कोरोनाभाइरस संक्रमणको महामारीका कारण अबेले १४७ दिनसम्म अनवरत काम गरेको एनएचकेले आफ्नो समाचारमा उल्लेख गरेको छ ।