
रौतहट। पछिल्ला दिनमा दलित समुदायमाथि देशका विभिन्न भागमा दलित समुदायमाथि हत्या र हिंसाका घटनामा बढोत्तरी भइरहेको छ । विशेष गरी २ नंं. प्रदेशमा दलित समुदायमाथि श्रृङ्खलाबद्ध हिंसा र हत्याका घटनाहरु घटिरहेका छन् । घटनामा संलग्नहरुको पहिचान भए पनि राज्यले दोषीहरुलाई कारबाही नगरेको भन्दै दलित समुदायका अगुवाहरुले आक्रोश पोखिरहेका छन् । कोभिड–१९ का कारण सडकमा निस्कने स्थिति नभएपनि फेसबुकबाट घटनामा संलग्न अपराधीहरुलाई कारबाहीका लागि दबाब अभियान सञ्चालन गरेका छन् ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका थुनुवा विजय रामको प्रहरीको चरम यातनाका कारण मृत्यु भएको छ । बिहीबार बिहान गरुडा नगरपालिका–८ का विजयराम चमारको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उनी सोही ठाउँमा निरञ्जन रामको हत्याको आशंकामा पक्राउ परेका थिए । राष्ट्रिय मानवअधिकार आयोगले एक वक्तव्य जारी गरी घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गरेको छ ।
आयोग प्रवक्ता सचिव वेद भट्टराईद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी हिरासतमा रहेको व्यक्तिको मृत्यु हुनु अत्यन्त दुःखद् हो । उनलाई हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगबाट अनुसन्धान सुरू भएको छ ।’ हिरासतमा चरम यातना दिएपछि उनको मृत्यु भएको भन्ने जानकारी आएपछि आयोगको प्रदेश नम्बर २ कार्यालयले अनुसन्धान थालेको हो । सो क्रममा रामको स्वास्थ्य परीक्षण प्रतिवेदन र पोष्टमार्टम उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट र त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागलाई पत्राचार गरिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
यसअघि पनि प्रदेश नम्बर २ अन्तर्गत धनुषामा प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु भएको थियो । त्यसैगरी प्रादेशिक अस्पताल जनकपुरधाममा प्रहरी यातनाकै कारण राजु सदाको मृत्यु भएको थियो । सप्तरीमा त्रिभुवन रामको हत्या, सिरहामा रोशन रामको हत्यालगायत श्रृङ्खलाबद्ध रूपमा दलित समुदायमाथि हत्या, हिंसा तथा जातीय विभेदका घटनाहरू भइरहेको अनुगमनबाट पाइएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
पछिल्लो समयमा कालिकोट, कैलाली, रूकुम, इलामलगायतका जिल्लाहरूमा समेत दलित समुदायमाथि हत्या, हिंसाका घटनाहरू भइरहेको आयोगले जनाएको छ । ‘यी घटनाहरू जातीय विभेदको स्थितिलाई समाजबाट निर्मूल पार्न व्यवस्था गरिएको नेपालको संविधानको धारा २४ बमोजिमको छुवाछूत तथा भेदभावविरूद्धको हक, धारा १८ बमोजिमको समानताको हक, धारा ४० बमोजिमको दलितको हक, धारा १६ बमोजिमको सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ तथा नेपाल पक्ष भएको सबै किसिमका जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ विपरीत रहेको आयोगले जनाएको छ । आयोगले अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न, पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैबीच, रौटहट जिल्लाको इलाका प्रहरी कार्यालय गरुडाले हत्याको आरोपमा पक्राउ गरी हिरासतमा लिइएका सोही नगरपालिकाका स्थानीय विजय रामको प्रहरीको कुटपिटबाट मृत्यु भएको घटनाको दलित सरोकार मञ्च नेपालले घोर भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ । मञ्चका अध्यक्ष युक्तिलाल मरिकद्वारा बिहीबार जारी विज्ञप्तिमा कानुन कार्यान्वयन गर्ने राज्यको संरचनाबाटै भएको यस किसिमको जघन्य अपराधको घोर निन्दा गर्दै यस घटनाले व्यक्तिको बाँच्न पाउने मानवअधिकारको ठाडो उल्लंघन भएको, कानुन कार्यान्वयन गर्ने निकायबाटै दण्डहीनताले प्रश्रय पाई मानवअधिकारलाई ठाडो चुनौती दिएको ठहर मञ्चले गरेको छ । घटना विवरण अनुसार मिति २०७७ साउन ३१ गते रौटहट जिल्लाको गरुडा नगरपालिका–८ जिगडियामा रहको सच फलफुल नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन रामको हत्याको घटनामा आशंकाको आधारमा स्थानीय विजय रामलाई इलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएको थियो । हिरासतमा लिइएका विजय रामलाई अपराध स्वीकार गर्न दबाब दिदै मरणासन्न हुने गरी कुटपिट गर्दा उनको मृर्गौलामा क्षति पुगेको थियो । पीडितले त्यहाँका दलित अधिकारकर्मीलाई दिइएको जानकारी अनुसार प्रहरीले करेन्ट लगाएर याताना दिएकोले उनको मृर्गौलामा असर पुगेको पाइन्छ । प्रहरीको कुटाईबाट घाइते विजयलाई सोही जिल्लाको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा १० गते राती मृत्यु भएको थियो । उपचारका क्रममा प्रहरीले पीडितका परिवार र दलित अधिकारकर्मीलाई समेत भेट्न दिएको थिएन । धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासत भित्रै शम्भु सदाको हत्या भएको घटना सेलाउन नपाउँदै विजय रामको घटनाले दलितमाथि प्रहरीद्वारा गरिने दमन प्रष्ट भएकोले प्रदेश २ मा दलितमाथि भएको हत्या हिंसा, बलात्कार र प्रहरीद्वारा गरिएको हत्याको घटना छानविन गर्न सरकारसँग मञ्चले माँग गरेको छ ।































