कमेन्ट गर्नुस्!
आँखा चिम्लनुस
बाहिर नहेर्नुस
माथी र तलतिर
कतैतिर पनि
हेर्दै नहेर्नुस
फगत
कमेन्ट गर्नुस
मजासँग सुत्नुस
उठ्नुस सुत्नुस
पढ्नुस नपढ्नुस
केही छैन
जरुरी छैन कि
अर्थ बुझ्नुस
तर भारी भरकम
कमेन्ट गर्नुस
जीवनप्रति
विचारप्रति
इमानदार
प्रतिबद्ध
आस्थाशील
हुनुस नहुनुस
तर
कमेन्ट चाहिँ
कडा गर्नुस
खिसिट्युरी गर्नुस
आत्मरतिमा
लीन हुनुस
चाकरी बजाउनुस
नाक बजाउनुस
स्तुति र भजन
बनाई गाउनुस
देवता र राक्षस
जन्माउनुस
मन्दिर मस्जिद
चर्च गुम्बा बनाई
तिनलाई थाप्नुस
अर्थ न बर्थको
बकबास गर्नुस
अज्ञानता
लुकाउनुस
कुनै पनि
लडाइँमा
भाग नलिनुस
सडकमा
कहिल्यै ननिस्किनुस
राष्ट्रको झन्डा
न उठाउनुस
बरु तिनलाई
धारे हात लगाई
बेला मौकामा
आन्द्रा निस्किने गरि
गाली गर्नुस्
सहिदहरूलाई
धिक्कार्नुस
एताको उता
पुर्याउनुस
अनि आफन्त
बन्नुस थाप्नुस
बेच्नुस बेचिनुस
फाइदामै रहनुस
तर
कमेन्ट गर्नुस्
धन्दा गर्नुस्
पुजा गर्नुस्
फाइदा गर्नुस्
सर्वज्ञ बन्नुस
कमेन्ट गर्नुस्
आफुलाई
महान अद्वितीय
ठान्नुस
अणुबम सरी
पड्कनुस
र कमेन्ट गर्नुस्
भर्चुअल स्नेह
देखाउनुस
थुक्नुस
तर आफुचाहिं
शुद्ध पवित्र
अलौकिक पात्र
बन्नुस
र, कमेन्ट चाहिँ
गर्नुस्
एउटा सिन्का
मुलुकका नाउँमा
नभाँचे पनि
राष्ट्रभक्त बन्नुस
जे भए पनि
कमेन्ट गर्नुस्

प्रतिक्रिया

सम्बन्धित खवर