कसरी विश्वास गर्ने, युवाले देश बनाउंछन् भनेर ?

कसरी विश्वास गर्ने, युवाले देश बनाउंछन् भनेर ?

सत्य घटना लेख्नु जति समाज परिवर्तनमा सहि हतियार हुन सक्छ, त्यति नै ज्यानको जोखिम पनि । एउटा प्रगतिशिल लेखक समाजमा चेतनाको विजारोपण त गर्न सफल हुन्छ तर ऊ सधैं राज्यको नजरमा देशद्रोही, राजद्रोही वा अझ अगाडी बढेर आतंककारी घोषित हुन सक्छ र उसको र परिवारको समेत ज्यान सधैं जोखिममा रहन सक्छ । यति भनेर समाजमा रहेका विकृति र विसंगति विरुद्ध बोल्न वा लेख्न डरायो भने ऊ कसरी प्रगतिशिल, क्रान्तिकारी वा सहि अर्थमा पत्रकारको धर्म निर्वाह गरेको थहरिएला र ? एउटा पत्रकारको धर्म नै हो, सत्य, तथ्य समाचार बाहिर जनसमक्ष ल्याउनु । सत्य, तथ्य समाचार संप्रेषण गर्न निडर, साहस, दृढ विश्वास र जोखिमको समाचार लुकाउनु आफ्नो विश्वसनियता गुमाउनु हो र समाजलाई गुम्राहमा राखेर व्यक्तिगत फाइदामा लिप्त हुनु हो । प्रसंगवस यो विषय किन पनि उठान गर्न मनासिव हुन आयो भने केहि सत्यताका नजिक रहेका विषयवस्तुहरु आउने भएकाले थोरै संशय हुनु स्वभाविक मान्नु अतियुक्ति नहोला कि ? जसरी पृथ्वि नारायण शाहले नेपाल एकिकरण गर्नु अघि आफ्नो गोत्र परिवर्तन गरेका थिए । यसको उद्देश्य के थियो भने युद्धका समयमा आफ्नै कूल, डर सन्तान र आफन्तको समेत हत्या गर्नु पर्ने बाध्यता थियो त्यहां । उनले पापबाट बंच्नको लागि यस्तो गरेका हुन् भन्ने इतिहांसकारको मत छ । यहां पनि डरको कारणले सत्य घटना लेख्न सकिएन भने कसरी जनता जागरुक बनाउन सकिन्छ र देशमा आमूल परिवर्तन ल्याउन सकिन्छ ?
युवा एक उर्जा हो, उर्जाको मूल श्रोत हो । युवामा जोश हुन्छ, उसलाई लाग्छ बाघसंग पनि मुकाविला गर्न सक्छु । उनिहरुको बारेमा धेरै लेखक, साहित्यकार, कलाकार, गीतकार, राजनीतिक दल सबैले धेरै शव्द खर्चेका छन् । किन कि ऊ परिवर्तनको संवाहक हो । देशको एउटा जनशक्ति हो । ऊ विना देश निरिह, कमजोर, अपांग, लाटो हुन्छ । युवा भैकन पनि शक्तिहिन, उर्जाविहिन, सोंचविहिन, विवेकहिन, ज्ञानहिन, सीप कलाविहिन छ भने ऊ कायर हो, लुव्ध हो । देशलाई चाहिएको एउटा सक्षम, दक्ष, क्षमतावान, कर्मविर, उर्जावान युवा चाहिएको हो । हातमा विश्वविद्यालयको ३र४ वटा डिग्रीको सर्टिफिकेट बोकेर जागिर खोज्न झुठ नेता, भ्रष्ट ओहोदाका हाकिमको घरदैलोमा पुग्नु ऊ अयोग्य हो, अझ भनौं पढेर पनि अनपढ गवार हो, नीच, कायर हो । एउटा युवाको हातमा विश्वविद्यालयको सर्टिफिकेट हुनु भनेको ऊ दक्ष जनशक्ति हो, ऊ आफ्नो क्षेत्रको विज्ञ हो । जुन विषयमा विज्ञता हासिल गरेको छ, त्यस विषयको गुरु हो । ऊ त्यसैमा बांच्न सक्नु पर्छ । त्यसै विषयलाई फुलाउनु फलाउनु पर्छ न कि जागिरको लागि कसैको कार्यालयमा भिख माग्न जानु । अझ एक कदम अगाडि बढेर के भन्न सकिन्छ भने ऊ समाज सुधारक हो । एक जना दक्षिण कोरियन नेपालको लागि राजदुतले एक अन्तर्वार्तामा भनेका थिए । प्रत्येक नेफाली युवाको हातमा एक एक उद्योग होस् । किनकि उनलाई थाहा थियो । नेपाल एक भूपरिवेष्ठित देश हो । यहां ठूला ठूला वहुराष्ट्रिय कम्पनी चल्न सक्दैन । उनिहरुको देश पनि त्यस्तै साना साना घरेलु उद्योगबाट नै सम्पन्न भएको हो । नेपालीहरु काम गर्न जाने पनि यस्तै उद्योगमा हो । त्यस विपरित हाम्रा देशका युवाहरु ती उद्योगीका विषयमा त सोंच्न त के प्रश्न मात्र गरे पनि पैसा नभएको बहाना वा अन्य कुनै बहान बनाएर त्यसै तर्किन्छ । अनि आफ्ना बाबु आमा वा आफन्तले साधरण जागिर गरेको भरमा करोडौं सम्पत्ति जोड्दा पनि उसले प्रश्न गर्न सक्दैन । एउटा सचिवको तलव मासिक साठी सत्तरी हजारले इज्जतदार जीवन वेतित मात्र गर्दैन ऊ करोडौंको मालिक पनि बन्छ । त्यति मात्र होइन, ऊ राजनीतिक नेताहरुलाई आम्दानी गर्ने चोर बाटाहरु पनि बनाई दिन्छ । एउटा राजनीतिक सदस्यता लिएको युवाले नेतृत्वलाई प्रश्न गर्न सक्दैन । आफु रातदिन खटेर पनि कुनै लाभको पद र चुनावमा टिकट पाउन सक्दैन, तर कहिल्यै पार्टी सदस्य नलिएको ठेकेदार, व्यापारी, दुई नम्वरी, गुण्डा, विभिन्न अनैतिक कार्यमा नाम आएको विचौलियाले त्यो पद कसरी पायो, कसरी सांसद टिकट वा मालदार अड्डाको पद पायो ? आफ्ना ती नेतृत्वले कुनै उद्योग, व्यवसायमा लगानी गरेको, कुनै कम्पनीको शेयर खरिद गरेको देखिदैन तापनि यति धेरै सम्पत्ति कसरी आयो ? ती माफिया, व्यापारी, व्यवसायी, ठेकेदार, विचौलियाको चाहना बमोजिम कानून, नियम, खरिद ऐन रातारात र बारम्बार किन र कसको स्वार्थमा परिवर्तन गरिन्छ ? देशको कुनै क्षेत्रमा विकास र उत्थानको लागि विज्ञ समूहले दिइएको सुझाव, राय, प्रतिवेदनलाई किन कसको स्वार्थमा लागू नगरि दराजमा थन्क्याइन्छ ? चाहे कुनै पनि राजनीतिक विचारधाराका राज्यसत्ताको कार्यपालिका होस्, त्यसको कार्यन्वयनमा सहयोगी भूमिका खेल्ने भनेको स्थायी सरकार भनिने कर्मचारी हो तर त्यो सधैं किन परिवर्तनको बाधक बनिरहेको छ, आफ्नो सेवा सुविधाको लागि बाहेक जनताको काममा किन ढिलासुस्ति गरिरहन्छ ? किन कसैले कार्यवाही गर्न सक्दैन ? किन एउटा देशको विधान बनाउने कार्यकारी प्रमुखलाई एउटा साधरण कर्मचारीलाई कार्यवाही गर्ने अधिकार पनि छैन होला ? एउटा साधरण जनता आफु अन्यायमा परेकोमा न्याय माग्न अदालत पुग्छ तर विडम्वना ऊ मरिसक्दा पनि फैसला आउंदैन अनि उल्टै न्यायको गलत व्याख्या गरेर गलत फैसलाका कारण लाखौ अन्यायमा परेका थुप्रै घटना छन् । न्याय सम्पादनमा न्यायको जन्मकालदेखि नै यति धेरै ढिलासुस्ति छ कि मुद्धाको चांग बर्षौदेखि रहंदा पनि उसलाई जवाफदेहिता छैन । एउटा सरकारी शिक्षक एउटा बच्चालाई कसरी राम्रो बनाउने भन्दा पनि आफ्नो जीवन कसरी सुधार गर्ने भन्ने चिन्तामा देखिन्छ । शिक्षाको स्तर दिन प्रतिदिन खस्कंदा पनि कसैले कारवाही गर्न सक्दैन । के ती भगवान हुन, कार्यवाही गर्नै नसकिने ? एउटा राजनीतिक दलको नेतृत्व, सांसद, कार्यकर्ता, मन्त्रि, कुनै सरकारी उच्च ओहदाको पदमा आसिन व्यक्ति विचौलिया, ठेकेदार, व्यापारी, व्यवसायी, दुइ नम्वरी, गुण्डा, माफिया, अनैतिक धन्दामा नाम मुछिएर आउंदा पनि कसैले सजांय भोग्नु पर्दैन, अझ उसैको ठूलो स्वर हुन्छ र उसैलाई अर्को शक्तिशाली ठाउंमा पु(याइन्छ वा पुरस्कृत गरिन्छ । अझ अर्को विडम्वना आफै युवा ती अनैतिक कार्यमा प्रत्यक्ष संलग्न भएको समाचार आउदा पनि कार्यवाही हुदैन । नाम नलिई भन्नु पर्दा हामीसंग यस्ता युवा छन् जो जनताले भावि प्रधानमन्त्रिको रुपमा हेरेका छन् । जसको यवसायको नाममा करोडौं अनुदान हात पारेको घटनासंग जोडिएर आउंछ । अनि करोडौं अनुदान प्राप्त गरेपछि व्यवसाय नै बन्द गरिन्छ । एक जना गुण्डा नाइकेलाई सामाखुशीमा प्रहरीले इन्काउन्टरमा मार्दा ससुरा ज्वाइकै कोकोहोलो मच्चिएको थियो । चारैतिर विरोध भएपछि विरोधको स्वर मत्थर भएको घटना ताजै छ । दर्जनौं मजदुरहरुलाई जिउदै इंटा भट्टीमा जलाउनेलाई जेल सजांयमा पक्राउ गरिंदा प्रजातन्त्र, लोकतन्त्रका हिमायती राजनीतिक दलका सभापतिको रोदन कम्ता दया लाग्दो थिएन । तर त्यसैका युवा कार्यकर्ताका विरोधका आवाज सुनिएन । कम्युनिष्टका हालका शासकका थुप्रै होनहार र जनताबाट आशा र भरोसा गरिएका युवाहरुको मन्त्रि पदमा रहंदाका नाटक र चर्तिकला सायद लुकाउन त सकिदैन होला ? अझ उनिहरु को को माफियासंग सम्बन्ध जोडेका छन् र कस्ता व्यवसायमा संलग्न छन् भन्ने कुराहरुको बारेमा जनतालाई पनि जानकारी भएकै छन् र कतिपय समाचार बनेर पनि आएकै छन् । विकासका नाममा देशको ढुकुटी अरबौं सकिएको छ । हुदै नभएको विकासको प्रगति देखाएर करोडौं उच्च ओहदाका नाममा बैंक खातामा सर्लक्क ट्रान्सफर भएका वा करोडौ हिनामिनाका घटना कसले पो लुकाउन सक्छ र ? त्यस्तो गलत काममा ठीक छ भनेर सहिछाप गर्ने इन्जिनियर र हाकिम पनि हांसिखुशी यहि समाजमा शिर ठाडो बनाएर उच्च जीवन बिताइरहेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु बषौंदेखि अलपत्र पारिएका छन्, तिनलाई कुनै सजांय हुदैन । देशले त्यसैको कारण अरबौं रुपैंया नोक्सान भोगिरहेको छ । ती देशको विकासलाई अलपत्र पार्ने माफियालाई कार्यवाही गर्ने युवाको जन्म नै नभएको हो कि ? खै छन् हाम्रा देशका होनहार युवाहरु ? के यसको विरुद्ध बोल्नु पाप हो ? या बोल्नै दिइदैन ? यहां बयान गरि नसक्ने विसंगति, विकृति, अपराध, रोदन, पीडा, उत्पिदन, आंशु, कुण्ठा, बिलौनाहरु छन् कि यसको बयान गरिसाध्य छैन । यसलाई सुनिदिने पनि कोहि छैन । यहां कसैलाई पिडा सुन्ने फुर्सद छैन । पिडा त उनिहरुको समस्या अन्तर्गत विषयमा पर्दैन । जो पिडा, उत्पिदनमा छन्, जसलाई मर्का परेको छ त्यसमा ऊ एक्लै छ । यसमा साथ दिने कोहि छैन । अहिले समाजले जुन युवाहरुको विश्वास गरेका छन् त्यो भ्रम मात्र हो भन्ने अहिलेसम्मको घटना, यथार्थ र संलग्नताले प्रमाणित गरिसकेको छ । सबै नुनको सांक्षी बिरालो भने झैं छन् यहां ।
युवालाई मुख्य दुई संगतले प्रभावित गरेको हुन्छ, सकारात्मक र नकारात्मक । पहिलो उसको परिवार, उसले बांचेको वा सिकेको समाज र स्कूल, कलेजमा रहंदाको गुरु, साथी संगत । उसको सिक्ने वातावरण वा क्षेत्र यत्ति नै हो । यसैको वरिपरिको वातावरणले नै उसलाई कस्तो व्यक्तित्व बनाउने भन्ने उसको भविश्य निर्धारण हुन्छ । यदि राम्रो र उच्च विचारको परिवार, समाज र साथीसंगीसंग संगत भएमा उसले समाजमा राम्रो काम गर्छ र समाजलाई राम्रो नै बनाउने प्रयास गर्छ । यदि गलत परिवार, समाज र साथीसंगीसंग सम्बन्ध भयो भने उसले समाजलाई बिगार्ने काम गर्छ र उसलाई सुधार्न निकै कठिन हुन्छ । गलत साथीसंगीको संगतकै कारण ऊ कुलतमा फस्न पुग्छ र त्यहांबाट निस्कन उसलाई कठिन हुन्छ । संगतकै कारण ऊ पैसा कमाउन समाजमा हुने सबै खालका व्यक्तिसंग जोडिन पुग्छ र समाजलाई विकृत बनाउन पुग्छ । तैपनि उसलाई त्यहि समाजले संरक्षण गरिरहेको छ । समाजको अहिलेसम्मको घटना र अनुभवलाई केलाएर हेर्दा के देखिन्छ भने जो राज्यसत्ता वा कुनै उच्च ओहदा र शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निभाएका छन्, तिनैबाट समाज पनि गाइडेड भएको देखिन्छ । त्यो समाज एउटा सानो वर्ग उत्थानलाई मात्र फाइदा पुग्ने गरि नीति नियम र राज्य सञ्चालन गरेको देखिन्छ । यो समाजलाई प्रभाव पार्ने व्यक्तित्वहरु जहिले पनि देश वा संस्थालाई राम्रो बनाउने भन्दा पनि कसरी आफ्नो र आफ्नो वरिपरिको आफन्तलाई सुरक्षा गर्न सकिन्छ र उच्च ओहदामा पु(याउन सकिन्छ भन्ने सांघुरो कुण्ठाले घर गरेको देखिन्छ । नेपालमा प्रथमतः शिक्षाको शुरुवात नै त्यसरी भएको देखिन्छ । जहां थोरै जाति विशेष र वर्ग विशेषले मात्र शिक्षाको अवसर प्राप्त गरे । अहिलेसम्मको परिवर्तन र शक्ति आर्जन त्यसैकौ लागि भएको देखिन्छ । जसरी हुन्छ, आफ्नो रक्षा गर्ने र आफु सुरक्षित रहने । यो सिद्धान्त भनेको प्लेटो र अरस्तुको राजनीतिक, शैक्षिक र न्यायमा आधारीत शासन व्यवस्था र चाल्र्स डार्विनको विकासवादी सिद्धान्तको वरिपरि घुमेको विचारले घर गरेको देखिन्छ । हुन त उनीहरुले यी दर्शन आदर्श राज्यका लागि प्रतिपादन गरेका थिए । तर यहां ती आदर्शका विपरीत विकृत राज्य सञ्चालन गरेको देखिन्छ । यदि मैले शासन शक्ति र आम्दानीको श्रोत मेरो वरिपरिको समाजको विकासमा मात्र नलगाउने हो भने हामी सकिन्छौं भन्ने सांघुरो मानसिकताले डेरा गरि बसेको देखिन्छ । सायद उनीहरुलाई यो पनि थाहा हुनु पर्ने हो कि यहि व्यक्तिवादी अवसरवादी सोंचकै कारण मेरो अहिले चलिरहेको राज्यसत्ता गल्र्याम गुर्लम ढल्छ भन्ने । यो व्यक्तिगत स्वार्थ केन्द्रित राज्यसत्ता हो, जसको शिक्षाबाट दिक्षित युवा पिंढी पनि अपवाद बन्न सक्ने देखिदैन । किन भने अहिलेका युवाहरुमा झन छिटो धन कमाउने र जसरी हुन्छ उच्च जीवन बिताउनेमै केन्द्रित रहने । यस्तो सानो घेराको मनस्थितिले कसरी देशलाई राम्रो बनाउन सक्छ र समाज समानताको बाटोमा अगाडि बढ्नमा रोकावत बन्न सक्छ भन्ने ज्वलन्त उदाहरण समाजमा घटिट् प्रत्येक घटनाले बोलिरहेको छ । व्यक्ति केन्द्रित स्वार्थ र तानाशाहि राज्यसत्ताकै फलस्वरुप विश्वका ठूला ठूला शक्तिहरु ढलेको इतिहांस नपढेकालाई मात्र छल्न सकिन्छ । अहिलेसम्म लुकाएर छलकपट गरेर चलाएकोमा अब सबैले पढेर त्यसको रहस्य बाहिर आउन लागेकोले त्यसको विरुद्धमा आवाज उठाउन थालेकोले मुटुमा ढ्यांग्रो बज्न थालिसकेको छ । किन कि उनिहरुले लेखेका चिरपरिचित पुस्तकहरुमा लेखिएका छन् सधै सत्यको जित हुन्छ । लेख्ने पनि आफै अनि त्यसको उलंघनकर्ता पनि आफै भएपछि त्यसको खाल्डोमा तिनै नपरेर को पछ त ? नेपालका युवाहरु यहि सांघुरो घेराको कुण्ठित समाजको शिक्षाको सिकारले गर्दा यी सब विसंगति र विकृतिका बावजुद ऊ पनि त्यसैमा साथ लाग्नु पर्ने लाचार छांया बनेको तितो यथार्थ छ । अब, नेपाली जनताले यहि युवालाई देशको बागडोर सम्हाल्न दिंदा देश राम्रो हुन्छ र देशमा सुख, शान्ति र समृद्धि हुन्छ भनेर कसरी विश्वास गर्ने ? यसको जवाफ खोज्नु भन्दा अगाडी नेपाली जनताको विकासको मनोभावना र अहिलेका युवाहरुको मनोदशालाई केलाउन नबिर्सनुहोस् । अहिलेको युवा जन्मेको छैंठौ दिनमा बावु आमाले. जोतिषीलाई सोधिने प्रमुख प्रश्न हो, मेरो छोराको विदेशको ग्रहदशा कस्तो छ ? नेपाली प्रत्येक शिक्षित युवाहरु सबैको साझा प्रश्न हुने गर्छ, अब नेपालमा बसेर भविश्य छैन, केहि गर्न सकिदैन । राजनीति गर्नेले देश बिगारे । यहांका युवाहरु राम्रो स्कूल कलेजमा पढ्नेहरुको पहिलो रोजाई युरोप, अमेरिका र विकशित देश जाने हुन्छ । साधरण स्कूल पढेका र नपढेका पनि सके जति विदेशमै जाने र जस्तो काम गरेर भए पनि पैसा कमाउने । अहिलेका युवाहरुको चाहना नै विदेश जाने हुन्छ । उसले सोंच्न सक्दैन वा विश्लेषण गर्न सक्दैन, कक्षा एकदेखि पढेको नेपाल स्वर्ग छ, प्राकृतिक रुपले नेपाल अपार सम्भावना बोकेको देश हो । फेरी विकासमा किन पछाडि ? कसले बिगा(यो ? यसमा कसको दोष छ ? के हामी युवा या मैले यो गाउं या देशलाई केहि गर्न सक्दैन ? यसको न त प्रश्न गर्छ न त उत्तर खोज्ने प्रयत्न नै गर्छ । ऊ खाली देश बिगारेको राजनीतिक दललाई मात्र देख्छ । तर आफु केहि गर्न सक्दैन । केहि नगरि अरुलाई दोष मात्र दिनु पनि त म पनि दोषी छु भन्ने सोंच्दैन । ऊ त फगत वषौं पढेको सर्टिफिकेट बोकेर शहर र विदेशमा भौतारिन मात्र जानेको छ । उसलाई थाहा छैन वा विश्वासै लाग्दैन आफ्नै देशमा आफ्नै पौरखले विकासको मूल फुटाउन सकिन्छ । किन कि उसलाई थाहा छ ती नेतृत्वले गद्दार गरेका छन्, भ्रष्टाचार गरेका छन् र आफ्नो देशको विकास सम्भावनालाई कुण्ठित पारेका छन् तापनि ऊ किन यति बिघ्न निरिह हं ? नेपालसंग के छैन ? प्राकृतिक सुन्दरताले भरिएका विभिन्न प्राकृतिक श्रोतहरु छन् । विविध भाषा, संस्कृतियुक्त जातजातिको बसोबास छ । जल, जंगल, जमिन, मिहिनेती सोझासिधा जनता छन् । त्यसलाई सहि सदुपयोग नगरेको कारण र राजनीतिक विकृतिका कारण नै आजसम्म देशको नाजुक अवस्था रहिरहेको हो भन्ने सोंच्न किन सक्दैन ? व्यक्तिगत संकुचित सोचाइकै कारण देश पछाडि परेको हो भन्ने कारण ऊ किन खोज्न सक्दैन ? यहि व्यक्तिगत सांघुरो सोंच नै पतनका कारक हो भन्ने उसले किन बुझेन हं ? यो सब हाम्रो शिक्षा र समाजको उपजका कारक हो । यसलाई बदल्न युवाले यसको प्रश्न मात्र होइन अब उत्तर पनि संगसंगै खोज्नु जरुरी छ । यहां त खालि नेपालका युवाहरुको मनोवैज्ञानिक विश्लेषण मात्र गर्न खेैजिएको हो । त्यति मात्र होइन, नेपाली जनतामा परेको मनोवैज्ञनिक असर के हो भने जुनै जोगी आए पनि कानै चिरेको भन्ने चरितार्थ भएको छ । के सांच्चै नेपालका युवाहरु यी सबै समस्यालाई चिरेर देश विकासमा कोशेढुंगा सावित हुन सक्छन् ? यहां नेपाली जनतामा रहेको राजनीतिक दलभित्रको विकृति र विसंतिले ल्याएको मनोवैज्ञानिक असरलाई केलाउने जमर्को गरिएको हो । यहां यो प्रसंग किन पनि उठाइएको हो भने नेपालका सबै जसो राजनीतिक दलका नेताहरु वृद्ध छन्, देशका समस्यालाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त रहने र तिनै उच्च वर्गको मात्र हित हुने गरि शासनसत्ता रहिरहेकोले अब यिनीहरुबाट देश चल्दैन । तल्लो वर्गको हित गर्ने भनिएको कम्युनिष्टको शासनमा समेत उनै वर्गको उत्थान हुने गरेकोले र तत्काल अर्को विकल्प नदेखिएकोले पनि अब जनता युवाले गर्छन् भन्ने लागेर विकल्पको रुपमा युवालाई अघि सारेको देखिन्छ ।
के सांच्चै नेपालले भोगेको विसंगति, विकृति, कुरितिले गांजेको समस्याबाट पार लगाउन नेपालका नव जवानहरु योग्य छन् त ? अहिले सबैको मुखबाट आउने प्रश्न यहि हो । अहिले सबै विकल्प असफल भैसकेको अवस्थामा नेपाली जनतामा नयां विकल्पको खोजिमा तिव्र रुपमा लागेको देखिन्छ । यसको अर्थ हो, नेपाली जनता परिवर्तनको कति भोका छन् भन्ने दर्शाउंछ । देश चलाउन अब युवालाई दिनु पर्छ भन्ने जमात दिन प्रति दिन बढिरहेको देखिन्छ । यसको सहि समाधान भनेको अब सर्बप्रथम शिक्षामा आमूल परिवर्तनको खांचो छ । त्यसपछि समाजमा बलियो गरि घर गरेर बसेको व्यक्तिगत स्वार्थ, कुण्ठा, ममात्र बन्नु पर्छ (मबाद) अथवा मेरो मात्र भन्ने कुण्ठित मनोदशालाई चिर्नु पर्दछ । त्यसको लागि फेरी समाजमा रहेका भ्रष्ट, विचौलिया, स्वार्थी, छलकपटी, झुठको खेति गर्नेहरुलाई समाजबाट बहिस्कार गर्नु पर्छ, घृणा पैदा गराउनु पर्छ, तिनीहरुलाई समाजमा तिरस्कार गर्नु पर्छ जसको कारण उसलाई ऊ बसेको समाजमा बस्नै नसक्ने गरि लज्जित बनाउने बाटो अपनाउनु पर्दछ । समाजमा राम्रो काम गर्नेलाई परस्कृत र नराम्रो काम गर्नेलाई घृणा गर्ने विकासको शुरुवात आजैबाट गर्नु पर्दछ । जसले समाजमा नराम्रो काम गर्न कसैले आंट गर्न नसकोस् । अहिलेसम्मको राजनीतिक र शासनसत्तामा जति नै परिवर्तन आयो भनिएता पनि वास्तविक परिवर्तनको अनुभुति हुन नसक्नुको प्रमुख कारण पनि व्यक्ति र पात्रमा परिवर्तन आयो तर चरित्र उहि रहिरह्यो । नेपाली जनताको धैर्यताको बांध टुट्न आंटेको छ, नयां शक्तिको खोजिमा छतपतिएको अवस्था छ, अहिले नेपाली जनतामा राजनीतिक शक्तिको विश्वास टुटेको अवस्थामा युवालाई शक्ति हस्तान्तरण गरेमा परिवर्तन हुन सक्छ भन्ने आधार पनि नरहेको अवस्था छ । किन भने आलु रोपेको बोटमा भेण्टा फल्न सक्दैन । यो वैज्ञानिक सत्यता हो । नेतृत्वलाई गल्टि गरेको देख्दा देख्दै पनि उहि गलत नेतृत्वलाई स्वीकार्नु भनेको त्यो गल्तिलाई ढाकछोप गर्नु हो र यथास्थितिमै रमाउनु हो । त्यो परिवर्तनको वाहक युवा शक्ति नेतृत्वको राजनीतिक सिद्धान्तलाई नै चुनौति दिनु भन्न खोजिएको होइन, त्यो अधिकांश नेतृत्व गलत आचरणमा फसेका छन्, जसरी युवा कुलतमा फसेको हुन्छ । ती नेतृत्वको आचरणलाई परिवर्तन गर र विसंगति र विकृति विरुद्ध उठ र देशको विकासको एउटा आधार बनाउ भनेर नेपाली जनताको उत्कत चाहना राखेका छन् । जुन कुरा असम्भव प्रायः किन पनि देखिन्छ भने उहि पुरानै विचार र सिद्धान्तबाट प्रेरित युवा वर्गको हातबाट परिवर्तन सोेंच्नु दिउसै वत्ति बालेर चोरलाई खोजे सरह हो । अब यसको नेतृत्व हामी क्रान्तिकारीले गर्नु पर्छ । हामी क्रान्तिकारीसंग छ सहि नेतृत्व अनि सहि राजनीतिक विचारधारा । अब हाम्रा युवा उठ्नु पर्छ । तर अहिल्यै हतियारसहित नउठौं । त्यो अहिले जन अनुमोदन पनि हुन सक्दैन र प्रविधि पनि हाम्रो अनुकुल छैन । समय, परिस्थिति र देशको भूगोल अनि देशको आर्थिक, सामाजिक परिस्थितिको मूल्यांकन गरेर क्रान्तिको मोडल तयार गर्न सक्नु नै क्रान्ति सफलताको परिपक्वता हो । अहिले समय हाम्रो अनुकुल देखिएको छ । देशलाई सांच्चै भित्रैदेखि माया गर्ने, भित्रैदेखि देशको विकास हुनु पर्छ भन्ने हाम्रा युवा शक्तिहरु अहिलेको कोरोनाको महामारीको कारण देश फर्कदै छन् । यो युवा शक्ति सांच्चै परिवर्तनको भोको छ । देश खाई शेष पल्टिएको छ । तर उसको आर्थिक अवस्था नाजुक छ । पेटभर खान पाएको छैन । राज्य शक्तिले विदेशमा वेरोजगार र भोकै रहेको अवस्थामा पनि उसलाई फर्किन खोज्दा पनि भाडावापतको महंगो टिकट भाडा मागेर पीडामा पीडा थपिरहेको छ । उसलाई नेपालमै राखेर हामी सबै क्रान्तिकारी र त्यो पिडित युवासंगै मिलेर हातमा हात कांधमा कांध जोडेर रोजगारको ग्यारेन्टिसहित कृषि र पशुपालन व्यवसायको उत्पादनसंगै कृषि र पशु उत्पादन सम्बन्धित उद्योग संचालन गर्दै देशमै रोजगारको अवसरको साथ यो दुषित राज्यशत्ताको अन्त्यको तयारी पनि गर्दै जानु पर्छ । अनि हामीसंग रहेको प्राकृतिक सौन्दर्यता र विभिन्न जाति जनजातिको भाषिक, सांस्कृतिक धरोहरले पर्यटकलाई नलोभ्याइ रहन सक्दैन र अर्को प्रकृतिले नै उपहारमा निशुल्क दिएको अथाह जलस्रोतलाई उपयोग गर्दै देशको विकासलाई मजवुत बनाउनु पर्छ । यहि नै अहिलेको समयको सच्चा क्रान्तिको नेपालको मात्र होइन, विश्व कम्युनिष्टको उदाहरणीय सफल मोडल तयार हुन सक्छ । अनि ती यथास्थितिवादीका पिछलग्गु युवाले होइन, हामी परिवर्तनकामी विश्व सर्वहारा वर्गको शक्तिले देशमा आमूल परिवर्तनको आधारशिला तयार पार्नु पर्छ र अबको यो निराशावादी समयको परिवर्तनको संजिवनी बुटी बन्नु हाम्रो कर्तव्य पनि हो र अहिलेको आम जनताको माग पनि ।