कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३ पुग्यो, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६६ सहित थपिए ८१८ संक्रमित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३ पुग्यो, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६६ सहित थपिए ८१८ संक्रमित


काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३ पुगेको छ भने पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेको मन्त्रालयले जनाएको छ ।
पछिल्ला दिनमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । काठमाडौं उपत्यका पछिल्लो समय कोरोना संक्रमणको दृष्टिले ‘हटस्पट’ बन्न पुगेको छ ।