निर्वाचन आयोगले नेकपा(एमाले)लाई १३२ औं दलका रुपमा दर्ता गरयो

निर्वाचन आयोगले नेकपा(एमाले)लाई १३२ औं दलका रुपमा दर्ता गरयो

३ भदौ, काठमाडौं,
निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत असार १४ गते आइतबार मदन भण्डारीको ६९ औं जयन्तीको साइत पारेर निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन परेको थियो ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता एमाले अस्तित्वमा थिएन ।
नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत प्रचण्डसहितका नेताहरुले लगाएका थिए ।
निवेदन परेको झण्डै दुई महिनापछि निर्वाचन आयोगले नेकपा(एमाले)लाई १३२ औं दलका रुपमा  दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन ।
पार्र्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको एक आयुक्तले बताए । उनका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्र्टी बनेको छ ।
निर्वाचन आयोगमा दर्ता भएको निवेदनमा प्रदेश २ का सचिवका रुपमा रौतहट घर भई भक्तपुर बस्ने जयराम राउतको नाम छ । उनी महेश बस्नेतका कार्यकर्ता हुन । उनले आफ्नो फेसबुकमा ‘आई एम विथ महेश बस्नेत’ भनेर तस्वीर राखेका छन । साथै उनले महेश र केपी ओलीसँग तस्वीर पनि खिचाएको देखिन्छ ।
त्यसैगरी खोटाङ घर भएकी अस्मिता सुनारलाई नयाँ एमालेको प्रदेश १ सचिवका रुपमा राखेर निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ । अस्मिता पनि महेश बस्नेतले टीका लगाइदिएकी कार्यकर्ता हुन ।
आयोगमा दिइएको आवेदनमा नेकपा एमालेको उपाध्यक्ष रहेकी भगवती खड्का पनि केपी ओलीको फ्यान रहेको मदन भण्डारीको जयन्तीका दिन फेसबुकमा लेखिएको स्टाटसले स्पष्ट पार्छ ।
नयाँ एमालेकी उपाध्यक्ष भगवतीले लेखेकी छिन, नयाँ पार्र्टी दर्ताकै दिन लेखेकी छिन,‘ कुर्र्सीको लागि हैन, देशको लागि ओली चाहिन्छ । सत्ताको लागि हैन, देश बचाउन ओली चाहिन्छ । पदको लागि हैन, विकासको लागि ओली चाहिन्छ । भारतीय विस्तारवादलाई तह लगाउन ओली चाहिन्छ । देशको सान मान र इज्जत हाम्रो बा केपी ओली जिन्दाबाद !’
पूर्वमन्त्री एवं सांसद महेश बस्नेत केपी ओली निकट नेता हुन । तर, उनका गतिविधिले प्रधानमन्त्री ओलीलाई बेलाबखत विवादमा पार्ने गरेको छ । पूर्वआइजीपी सर्वेन्द्र खनालको समेत मिलेमतोमा सांसद बस्नेतले मधेसबाट समाजवादीका सांसद सुरेन्द्र यादवलाई गाडीमा हालेर काठमाडौं ल्याएका कारण प्रधानमन्त्री ओलीले गम्भीर आलोचनाको सामना गर्नु परेको थियो ।
अहिले पनि सांसद बस्नेतसँग निकट रहेका कार्यकर्ताहरुले नै नेकपा एमाले दर्ता गरेर पार्र्टीभित्रको विवादमा आगोमा घ्यु थप्ने काम गरेका छन । केपी ओलीलाई बा भन्ने र सँगै तस्वीर खिचाउनेहरुले नै नेकपा दर्ताका लागि निवेदन दिनुले आशंका जन्माएको नेकपा नेताहरु बताउँछन ।
सांसद बस्नेतले त्यसमयमा भनको थिए–उनीहरुले एमालेको विचारसँग प्रतिवद्ध भएकाले पार्र्टीको डोमिन रक्षाका लागि निर्वाचन आयोग गएको आफूलाई जानकारी दिएको बस्नेतले सुनाए । बस्नेतले भनें ‘तर, मसँग सल्लाह भएर होइन, मैले पछि थाहा पाएर सोधेको हुँ ।’
पार्र्टी विभाजन हुने स्थितिमा एमालेलाई ब्युँताउने राजनीतिक उद्देश्यबाट प्रधानमन्त्री ओलीले नै एमाले दर्ता गर्न लगाएको स्थायी कमिटी बैठकमा वामदेव गौतमले आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले भने वामदेवको आरोपको खण्डन गरेका छन ।