राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गर्ने गीतका गायककारसहित ८ जना पक्राउ

राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गर्ने गीतका गायककारसहित ८ जना पक्राउ


भाद्र ३ काठमाडौं,
राष्ट्रिय झण्डा जलाइएको गीतको भिडियो सार्वजनिक गर्ने समुहका ८ जना पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६ जना र महानगरीय अपराध अनुुसन्धान महाशाखाले दुई जनालाई पक्राउ गरेको हो ।
सीआईबीको टोलीले गीतका गायक ग्यालेन दोर्जे तामाङलाई पनि पक्राउ गरेको छ । तामाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत चुनौतिपूर्णं भाषा प्रयोग गर्दै झण्डा जलाइएको विषय स्वीकार गरेका थिए ।
सोमबार मङगोल होप नामक यूट्यूब च्यालनबाट सार्वजनिक भएको गीतको भिडियोमा राष्ट्रिय झण्डा जलाइएको देखाइएको छ । भिडियोमा बाहुन–क्षेत्री समुदायमाथि अत्यन्तै घृणायुक्त भावले गाली गरिएको छ । पूर्वराजा र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको फोटो जलाइएको छ ।
मंगोल हप अफिसियल नामक यूट्युब च्यानलबाट सोमबार अपलोड गरिएको उक्त भिडियोबारे सामाजिक सञ्जालमा निकै प्रतिक्रिया आएका छन । सबैले गीतमाथि तत्काल कारबाही गर्न माग गरेका छन ।
सामाजिक सञ्जालमा निकै प्रतिक्रिया व्यक्त भएको भएपनि गीतलाई हालसम्म यूट्युबबाट भने निकालिएको छैन । रयाप शैलीमा गाइएको गीतको सुटिङ्ग मकवानपुरको विष्णु आधारभूत विद्यालयको प्रांगणमा गरिएको देखिन्छ ।
के हुनसक्छ कारबाही ?
गीतमा अत्यन्तै आपत्तीजनक शब्दहरु पनि छन । गीतमा भएका आपत्तीजनक शब्दहरु प्रति सामाजिक सञ्जालमा अहिले निकै कमेन्टहरु गरिएका छन । गीत निर्माण र गायक गायीकामाथि तत्काल कारबाही गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका छन ।
नेपालको कानूनमा पनि यस्ता गतिविधि गर्नेमाथि कारबाही हुने कुरा छ । नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ ।