प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्ति

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्ति

भाद्र ३ काठमाडौँ,
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्तिमा असन्तुष्टि जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कोटरीको व्यक्तिलाई नियुक्त गरेकोबाट सरकार नियन्त्रित प्रेसको बाटोमा श्रृंखलाबद्ध ढंगले अगाडि बढिरहेको भन्ने पुष्टि भएको उल्लेख गरेका छन ।
शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुविगतमा कुनै कमजोरी भएका थिए भने पनि त्यसलाई नजिरका रूपमा लिएर दोर्होयाउने होइन, सच्याएर काउन्सिललाई राजनैतिक आग्रह मुक्त स्वतन्त्र प्रेसको उच्च गरिमा राख्ने थलोका रूपमा परिस्कृत र विकसित गर्ने आजको समयको माग र आवश्यकता हो । तर, नियंत्रित प्रेसको बाटोमा सरकार श्रृंखलाबद्ध ढंगले कार्य गरिरहेको छ, नेपाली कांग्रेसले यसलाई गम्भीरतापूर्वक लिएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार दुर्गा भण्डारीलाई काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । एकदिन पछि बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।
भण्डारीलाई कार्यवाहक अध्यक्ष दिनका लागि काउन्सिलको नियमावली नै संशोधन गरिएको थियो । काउन्सिलका सदस्यहरूले वरिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने नियमावलीको व्यवस्थालाई संशोधन गरेर मन्त्रिपरिषद्ले कार्यवाहक अध्यक्ष तोक्ने व्यवस्था राखिएको थियो ।
कांग्रेसले कुन व्यक्तिलाई काउन्सिलमा ल्याइयो वा कसलाई हटाइयो भनेर नभई विधिमा आफ्नो विरोध रहेको जनाएको छ ।
भण्डारीको नियुक्तिलाई नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने नेकपा सरकारको पछिल्लो उदाहरण भएको कांग्रेसको ठहर छ । नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको छ । विवादास्पद मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस काउन्सिलको औचित्य र अस्तित्वलाई नामेट गराउने सरकारको दुस्प्रयाश विगतमा छँदै थियो, त्यसले मुर्तरुप पाउन नसकिरहेको बेला सरकारले ठाडै हस्तक्षेप मार्फत काउन्सिललाई नेकपाको, त्यहाँ भित्र प्रधानमन्त्री निकट गुटको अझ त्यहाँ भित्रपनि केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेसको प्रष्ट विमति छ ।
कांग्रेसले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका अन्य सरोकारवाला संस्थाहरूसँग संवाद र सहमति बेगर गरिएका र गरिने कुनैपनि कदममा आफ्नो समर्थन नरहेन जनाएको छ । ुगुटगत प्रचारको कोटरी काउन्सिललाई बनाउने निर्णय फिर्ता लिएर सरोकारवालाहरूसँग संवाद मार्फत समाधानमा पुग्न नेपाली कांग्रेस प्रधानमन्त्रीलाई सार्वजनिक रुपले अपिल गर्दछ,ु विज्ञप्तिमा भनिएको छ ।
सरकारले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।