२ भदौ, काठमाडौं,
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार एकैदिनमा ८ जनाको मृत्यु भएको छ । काभ्रे, मोरङ, कास्की, तनहुँ, चितवन, नवलपरासी, बाँके र बर्दियामा १र१ जनाको मृत्यु भएको हो ।
काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्र्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । साउन २७ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २८ गते पुष्टि भएको थियो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा पुगेका थिए ।
यस्तै मोरङको बुढीगंगा गाउँपालिका– २ की ६५ वर्र्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाा मृत्यु भएको छ । उनको मंगलबार साँझ ५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । श्वासप्रश्वासमा पनि समस्या भएपछि आफन्तले मंगलबार बिहान उनलाई धरान पुर्याएका थिए । यसैगरी तनहुँको ब्यास नगरपालिका–१ अम्रेनिकी ५० वर्षकी महिलाको मृत्युपछि संक्रमण पुष्टि भएको हो । पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको थियो । मंगलबार विहानमात्र कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सञ्चालक डा। पदम खड्काले जानकारी दिए । डा. खड्काले भने, ‘क्रिटिकल अवस्थामा ल्याइएको थियो । अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’
मंगलबार नै पोखरा महानगरपालिका–१६ का ८७ वर्र्षीय वृद्धको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मधुमेह र मिर्गौलाको समस्या देखिएका वृद्धको स्वाब परीक्षण गर्दँ सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
मिर्गौलाको समस्याका कारण श्वासप्रश्वासमा समस्या देखिएको उपचारमा संलग्न डा.अर्जुनबहादुर बुढाले बताए । ‘प्रेसर र मिर्गौलाको समस्याले श्वासप्रश्वासमा समस्या रहेछ । पहिले उच्च ज्वरो पनि आएको रहेछ,’ डा. बुढाले भने, ‘हामीले इमर्जेन्सी विभागमै उपचार गरिरहेका थियौं । पछिमात्र कोरोना पुष्टि भयो ।’

यस्तै नवलपरासी पश्चिमका ३८ वर्र्षीय पुरुषको उपचारका क्रममा मंगलबार विहान पाटन अस्पतालमा मृत्यु भएको छ । उनी नवलपरासी कांग्रेस उपसभापति सुवासचन्द्र गिरी हुन । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा रेफर गरिएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले जानकारी दिए ।
यसैगरी चितवनको खैरहनी नगरपालिका–३ की १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वृद्धाको गएराति पौने एक बजे नै मृत्यु भएको र मंगलबार दिउँसो रिपोर्ट पोजेटिभ आएको उनका परिवारका सदस्य कमल पाठकले जानकारी दिए ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । साउन ३२ गते अस्पताल भर्ना भएका उनको सोमबार पीसीआर परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
यस्तै बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्र्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार विहान साढे १ बजे मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि मंगलबार दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलामी गएका सबैलाई क्वारेन्टिनमा राख्ने र सङ्क्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए । सङ्क्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ । मंगलबार मृत्यु भएको चितवनकी वृद्धा, बर्दियाका वृद्ध र मोरङकी ६५ वर्षीया महिलाको तथ्यांक भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा अपडेट गर्न बाँकी छ ।
एकै दिन १०१६ जनामा संक्रमण पुष्टि
यस्तै पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो ।

यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये १७ हजार ५८० जना निको भएका छन । १० हजार ५६३ जना सक्रिय संकमित आइसोलेसनमा छन । उनीहरुमध्ये ११८ जना आईसीयूमा छन भने ६ जना भेल्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २०५ जना संक्रमित थपिएका छन । उनीहरुमध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना छन ।
यस्तै पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१÷२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६÷१६ जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३र३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २र२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर