
ओ मेरो प्रिय दुस्मन !
मबाट तिमी
छुट्टिएर जाँदा
म एकदमै
खुसी भएको छु
एक्कासी तिमी
उँचो हिमालबाट
उठ्नै नसक्ने गरि
मरेको सिनोझैं
गहिरो खाल्डोमा
आफैं फालिएपछी
म साँच्चिकै
औधी खुसी भएको छु
तिम्रो यात्रा
छोट्टिएर
उद्देश्यहीन अर्थहीन
शब्दहीन रूपहीन
अनि क्रान्तिरागहीन
भएपछि
अर्थात्
तिमी विचारबाट
धमिलिएपछी
तिमीसँग धेरै टाढिदा
एकदमै प्रसन्न भएको छु
नाना संघर्षमा
मृत्युयुद्धमा
भीषण यात्रामा
शरीरका रोमरोममा
यातनाको स्मृति चित्र
बोक्न पाउँदा
र, तिमी जस्तो
बेइमान कपटी
गद्दार धोखेबाजसँग
अलग्गिई
निश्छल मानिसहरुसँग
गाँसिन पाउँदा
मुक्तिको गीत गाउँदा
जीवनको रङ्ग पाएको छु
र
असीम खुसी पाएको छु































