अहिलेको राष्ट्रिय समस्याको विकल्प के हो ?

प्रकाशित मिति : २०७७ श्रावण १२

- रामसिंह श्रीस


आज नेपाली जनता कोभिड–१९, बाढीपहिरो र सलहको आक्रमणबाट आक्रान्त भएका छन् । यो त भयो प्राकृतिक प्रकोप । यो प्राकृतिक प्रकोपको बिरुद्ध राज्यको नेतृत्वमा सम्पूर्ण मानव समूदाय लड्नुपर्ने आजको आवश्यक्ता हो । तर राज्यको गलत नीतिका कारणले नेपाली जनताले अरू बढी दुःख पाइरहेका छन् । स्वास्थ्य, शिक्षा लगायत हरेक क्षेत्रमा नेपाली जनताले दुःख पाइरहेका छन् । हरेक क्षेत्रमा भ्रष्टाचार बढीरहेको छ । भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम भइरहेको छ । ज्यानमारा, हत्यारा, बलात्कारीहरूलाई अदालतले नै उन्मुक्ति दिने काम भइरहेको छ । जातीय भेदभाव, छुवाछुत हटेको छैन । गरीबी, बेरोजगारी बढीरहेको छ । उपचार गर्न नसकेर मानिसहरू बाटाघाटामा भिख माग्ने, आत्महत्या गर्ने सम्मको स्थिति पैदा भएकोछ । अहिले यस्तो मध्य वर्षामा बाढीपहिरोले उत्पात गरिरहेको अवस्थामा राज्यले सुकुम्बासीको घरमा आगो लगाइरहेको छ । हात्ती लगाएर घर भत्काइ दिने खेतीबाली नस्ट गरिदिने काम भइरहेकोछ । यसले राज्यसँग सामान्य मानवीय समबेदना नभएको कुरा स्पस्ट बुझिन्छ । समग्रमा एकातिर आम श्रमिक वर्गका मानिसहरूको जनजीवन झनझन कस्टकर बन्दै गइरहेकोछ । अर्कातिर देशको सीमाहरू मिचिरहेका छन् । यो एउटा पाटो हो ।
समाजमा अहिले अर्को पाटो पनि छ । समाजका केही मुठ्ठीभर मानिसहरू दलाल तथा नोक्करशाही पुँजीपति र सामन्तवर्गका मानिसहरू एवम् राज्यसत्ताको पहँुचमा भएका मानिसहरू, तस्करहरू, माफियाहरू, भ्रष्टाचारीहरू दिन दुइ गुणा रात चौ गुणा धनाढ्य बन्दै गइरहेका छन् । उनीहरू अरबपति खरबपति बन्दै छन् । मजदुर किसानहरूले बिरामी हुँदा सिटामोल सम्म खान नपाइरहेको अवस्थामा उनीहरू करोडौंको गाडीमा चढेर हिड्छन् । राष्ट्रको ढुकुटीमा राज्यको पहुँचमा भएका केही सिमित व्यक्तिहरूले मोज मस्ती गरिरहेका छन् । समग्रमा नेपालमा धनी र गरीब विचको खाडल बढ्ने क्रम तिब्र गतिमा बढीरहेको छ ।
यस प्रकारको अवस्था अहिले मात्र देखा परेको हो त ? होइन, पञ्चायत कालमा पनि यो सिलसिला चलिरहेको थियो । पञ्चायती व्यवस्थालाई फालेर ल्याएको राजासहितको संसदीय व्यवस्थामा यो सिलसिला कायमै थियो र गणतन्त्र आए पछिको यो ‘‘संघीय लोकतान्त्रीक शासन व्यवस्था”मा पनि यो जारी छ । पञ्चायती व्यवस्थामा पनि चुनाव हुन्थ्यो र जनताले भोट हालेर नेता छानेकै हुन् । नयाँ संविधान जारी भएपछि त कम्युनिस्ट नाम गरेको पार्टीलाई जनताले करिव दुई तिहाइको हाराहारीमा मत दिएर जिताएकै हुन् तर जनताले राहत कतै पाएनन् । गरीबी बढेको बढ्यै छ । भष्टाचार, बेरोजगारी, बढेकै छ । ज्यानमारा बलात्कारीहरूलाई अदालतले नै सफाई दिइरहेको छ । वि.सं. २०४६ साल देखि अहिले सम्म नेकपा एमाले र प्रचण्डले नेतृत्व गरेको माओवादी कहिले एकल त कहिले संयुक्तरूपमा सरकार चलाएकै हुन । अहिले एमाले र प्रचण्ड नेतृत्व गरेको माओवादी मिलेर बनेको डबल नेकपाले शासन सत्ता चलाइरहेको छ तर समाजमा गरीबी, बेरोजगारी भ्रष्टाचार, अन्याय, अत्याचार, हत्या, लुट आदि बढीरहेकैछन् । देशको सीमाहरू मिचिरहेका छन् । आखिर यस्तो किन भइरहेको छ ? अव नेपाली जनताले यसको सही उत्तर खोज्नु पर्छ ।
राणा शासन देखि जनताले समाजमा रहेको अन्याय, अत्याचार, भ्रष्टाचार, गरीबी, बेरोजगारी हटाउन र आफ्ना मौलिक हक, अधिकार प्राप्त गर्न निरन्तररूपमा संघर्ष गर्दे आइरहेका छन् । ठुलाठुला जनआन्दोलन, सशस्त्र विद्रोह, जनयुध्द भए । यीनै संघर्षको कारणले जहानीया राणाशासन गयो, पञ्चायत गयो र अन्ततः राजतन्त्र नै गयो । संघीय गणतन्त्र आयो तर पनि अगाडी उल्लेख गरिएका समस्याहरू बढ्ने कुरा रोकएन । आखिर जनआन्दोलन, जनयुध्द गर्ने जनताहरू कहाँ चुके र अहिले यस्तो अवस्था आईरहेको छ ? आफ्नो कमजोरीलाई पनि संघर्षसील जनताले पत्ता लाउन जरुरी छ ।
अहिले पनि देशभक्त न्यायप्रेमी जनताहरू संघर्षमा नै छन् आन्दोलनमा नै छन् । अब यहाँ गरीबी हटाउनका लागि भ्रष्टाचार, रोक्नका लागि, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नका लागि पनि संसदीय व्यवस्था भित्र कुनै एउटा व्यक्ति वा पार्टीलाई विकल्पको रूपमा ल्याएर समस्या समाधान हुँदैन । यहाँ ओलीको ठाउँमा प्रचण्ड, माधव वा अरू कुनै पात्र ल्याएर नेपाली जनताको समस्या समाधान हुनेवाला छैन् । त्यसरी नै यही संसदीय व्यवस्था भित्र एउटा पार्टीको ठाउँमा अर्को पार्टी ल्याएर पनि नेपाली जनताका समस्याहरू समाधान हुनेवाला छैनन् । डबल नेकपाको ठाउँमा नेपाली काँग्रेस वा अन्य कुनै अर्को पार्टीलाई सरकारमा ल्याएर पनि राष्ट्र र जनताको समस्या समाधान हुने वाला छैन् समस्याहरू अरु बिकराल बन्दै जाने छन् । यो कुरा वि.सं.२००७ साल देखि अहिले सम्मको ब्यवहारले पुष्टि गरी सकेको छ ।
त्यसो भए यो सरकारको विकल्प के हो त ? अबको विकल्प भनेको यो व्यवस्थाको विकल्पसहितको सरकारको विकल्प हो । नेपालको सन्दर्भमा यो संसदीय व्यवस्थाको विकल्प भनेको जनताको जनवादी अधिनायकत्व भएको ब्यवस्था हो । अहिलेको यो संसदीय व्यवस्था भनेको दलाल तथा नोक्करशाही पुँजीपति र सामन्तवर्गको अधिनायकत्व भएको राज्य व्यवस्था हो । वि.सं. २००७ सालदेखि अहिले सम्म राज्यव्यवस्थाको रूपमा वा मोडेलमा जति परिवर्तन भए पनि सारमा दलाल तथा नोक्करशाही पुँजीपति र सामन्त वर्गको राज्यसत्ता नै कायम रह्यो । यो राज्यसत्तालाई ध्वंस गरेर नयाँ जनताको राज्यसत्ता निर्माण गर्नु पथ्र्यो । त्यो हुन सकेन । यहीनेर चुके नेपालका आन्दोलनकारी जनताहरू । जुन वर्गको हातमा राज्य सत्ता छ त्यही वर्गको अधिनायकत्व हुन्छ । त्यसकारण अहिलको विकल्प भनेको दलाल तथा नोक्करशाही पुँजीपति र सामन्त वर्गको अधिनायकत्व भएको राज्यव्यवस्थालाई ध्वस्त पारेर जनताको जनवादी अधिनायकत्व भएको राज्यव्यवस्था स्थापना गरी देश भक्त तथा जनगणतान्त्रीक शक्तिहरूको सरकारकार निर्माण गर्नु हो । यो काम सर्वहारावर्गको नेतृत्वमा मात्र सम्भव छ ।
२०७७÷०४÷१०