कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, शनिबार थपिए १ सय ९ संक्रमित

प्रकाशित मिति : २०७७ श्रावण १०

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ सय ९ जना संक्रमित थपिएका छन् । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १ सय ९ जनामा संक्रमण देखिएको जानकारी दिए ।

नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । त्यस्तै २४ घन्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् । ७० दशमलव ६ प्रतिशत संक्रमित निको भएको हो । शनिबारसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ ।

मुलुकका विभिन्न अस्पतालमा ४ हजार ७५ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८५ रहेको छ ।

यसैबीच, कोभिड–१९ संक्रमणबाट शनिबार थप एक जनाको मृत्यु भएको छ । बारा परवानीपुरकी १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पताल (नारायणी अस्थायी कोरोना)मा उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार स्वास्थ्यमा समस्या आएपछि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडीटी एन्टीबडी पोजिटिभ देखिएको थियो । त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।