सीमामा नेपाली सुरक्षाकर्मीमाथि भारतीयबाट पुनः आक्रमण, लकडाउनको ४ महिनामा दर्जनौं पटक आक्रमण

प्रकाशित मिति : २०७७ श्रावण १०


काठमाडौं । सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीयबाट पुनः आक्रमण भएको छ । शनिबार रौतहटको परोहा–९ स्थित नरकटिया नाकाबाट नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । सरमझुवास्थित बोर्डर आउट पोस्ट(बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय महिलालाई नआउन अनुरोध गर्दा प्रहरी टोलीमाथि हँसियाले आक्रमण गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजितले बताए । पूर्वी चम्पारण, कबैया ६ अर्सलवाकी सीमादेवी कुसवाहाले हँसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी हुन् । त्यसपछि आत्मरक्षाका लागि सशस्त्रले एक राउण्ड हवाई फायर गरेको एसपी कर्णजितले जनाए ।

आक्रमणबाट सशस्त्र प्रहरीका एक जना जवानको हाट काटेको उनले जानकारी दिए । घटनापछि सीमा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो । भारतीयहरुको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास समेत गरेका थिए ।

सरकारले चैत ११ गते देशभर लकडाउन घोषणा गरेसँगै भारतसँग जोडिएका सीमा नाका ’सिल’ भएपछि भारतीयहरुबाट श्रृङ्खलाबद्ध आक्रमण भएको छ । विभिन्न तस्कर समुहदेखि अन्य आपराधिक समूहको निसानमा सीमा सुरक्षाकर्मी परिरहेका छन् । गत शुक्रवार सुनसरीको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा खटिएको टोलीमाथि शुक्रवार आक्रमण भएपछि प्रतिकार गर्दा गोली चलाउनु प¥यो । भारतीय तस्करले विषयमा प्रहरीको हतियार खोस्न खोजेपछि झडप भएको थियो ।

झडपमा २० वर्षीय सवाज अन्सारीलाई पेटमा गोली लाग्यो । सशस्त्र प्रहरीका जवान जीवराज विसङ्खे घाइते भए । घाइते दुवै जनालाई धरानस्थित बीपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको लागि लाग्यो ।

जेठ १८ गते बिहान करिब साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडी स्थित दशगजा इलाकामा बोर्डर आउट पोस्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको टोलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्यो ।

एक जना पुरुष सुरुमा नेपाल छिर्न खोजेका थिए । प्रहरीले रोकेपछि उनी गाँउ फर्किए । तर, उनी फेरि सीमामा आए । यसपटक उनी एक्लै थिएनन् । उनको साथमा ३० र ४० जनाको समूह नै आएको थियो । उनीहरुले सशस्त्रको हतियार खोस्न खोजे अनि झडप भयो ।

लकडाउन सुरु भएपछि अहिलेसम्म सीमामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय समूहले चैत ११ गतेदेखि १७ ठाउँमा आक्रमण भएको छ । यसरी आक्रमण गर्ने धेरैजसो तस्कर समूह नै हुने गरेको प्रहरीको दावी छ ।

झापादेखि पश्चिम नवलपरासी जिल्लाको भारतीय सिमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मी र भारतीय समूहबीच पटकपटक झडप भएको छ । यही झडपमा प्रहरीको गोली लागेर जेठ ३० गते एक भारतीय नागरिकको मृत्यु भएको थियो । झडपमा तीन जना सशस्त्र प्रहरी घाइते भए । तस्कर समूहलाई प्रवेशमा रोक लगाएपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए । सिमामा विभिन्न समस्या भोगेर भएपनि पनि चौविसै घण्टा तैनाथ भएर सिमा ठप्प पारेपछि तस्करहरुले सशस्त्र माथि प्रहार गर्न थालेको प्रहरी अधिकृतहरु बताउँछन् ।

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ नारायणपुरमा रहेको सशस्त्र प्रहरी बलको सीमा निगरानी पोस्टले अबैध रुपमा नेपाल प्रवेश गर्न खोज्नेलाई रोकेपछि विवाद उत्पन्न भएको थियो । त्यही क्रममा भारतीय समूहले ढुङ्गामुढा र हतियार देखाउन थालेपछि गोली चलाउँदा भारतीयको मृत्यु भएको थियो ।

जेठ महिनामा सबैभन्दा धेरै झडपका घटना भएको देखिन्छ । लकडाउनमा यसरी भएको घटनामा सशस्त्र प्रहरीका १८ जना घाइते भएका छन् । केही पोस्टमा क्षति पुगेको छ ।