वरवर राव र सामाजिक सञ्जाल

वरवर राव र सामाजिक सञ्जाल

जुलाई ११, २०२० शनिबार राति अबेर एकजनाले पी। वरवर रावको मृत्युको खबर श्रद्धाञ्जलि सहित फेसबुकमा पोष्ट गरेपछि संसारभरि यो अनपेक्षित खबरको पुष्टिबारे वरवर रावका भतिजा तेलगु भिक्षानाम मासिकका सम्पादक–पत्रकार एन। वेणुगोपाल रावका सबै सञ्चार माध्यममा जिज्ञासाका ओइरो लागे । वेणुगोपालले तत्कालै नवी मुंबईको तलोजा जेलमा सम्पर्क गरेर समाचार सत्य नभएको आश्वस्त पारेपछि फेसबुक पोष्ट गर्नेले क्षमायाचना सहित पोष्ट डिलिट गरे । भोलिपल्ट जुलाई १२, २०२० वरवर रावकी श्रीमती पी। हेमलता र छोरीहरू पी। सहजा, पी। अनला, पी। पावनाले फोनबाट सम्पर्क गरेपछि वरवर रावको बोली लरबराएको थाहा पाए । तत्कालै परिवारले अनलाइन प्रेस कन्फ्रेन्स आयोजना गरेर वरवर रावकी श्रीमती हेमलता र छोरी पावनाले सम्बोधन गर्दै उनीहरूको एउटै माग वरवर रावलाई जेलमा मार्न पाइँदैन भन्दै तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने माग राखे । ८१ वर्षिय वरवर राव जून १, २०२० देखि स्वास्थ्य समस्याका कारण तलोजा जेलको अस्पताल वार्डमा थिए तर जेलको अस्पताल काम चलाउ मात्र थियो ।
जुलाई १२, २०२० मा वरवर रावको रिहाइ र उपचारको माग गर्दै रोमिला थापर, प्रभात पटनायक, देविका जैन, माजा दारुवाला र सतीश देशपाण्डेले विज्ञप्ति निकाले । भारतको सबैभन्दा ठूलो मानव अधिकारवादी संगठन पीयूसीएलका केन्द्रीय अध्यक्ष रविकिरण जैन र महासचिव डा। भी। सुरेशले वरवर रावलाई तुरुन्त राम्रो अस्पताल भर्ना गर्न अपिल गरे । विश्वभरिका २ हजारभन्दा बढी बुद्धिजीवीहरूले वरवर रावको रिहाइ र उपचारका लागि सामाजिक सञ्चालमा अभियान नै चलाए । नेपालका बुद्धिजीवी विशेषगरी साहित्यकर्मीहरू सामाजिक सञ्जालमा सक्रिय देखिए । भारतको संघीय भाजपा मोदी सरकार र महाराष्ट्रको उद्धव ठाकरेको नेतृत्वमा रहेको शिवसेना कांग्रेस गठबन्धनको सरकार क्रान्तिकारीहरूको दमन गर्नेमा एउटै सोच भएको देखियो । जनदवावका कारण हिजो बेलुका वरवर रावलाई उनको परिवारको सहमतिमा मुंबईको जेजे अस्पताल भर्ना गरिएको जानकारी रावका कानुनी सल्लाहकार सुसन अब्राहमले दिएका छन् ।
को हुन त पी। वरवर राव ? आन्ध्रप्रदेशका कलेजहरूमा ४० वर्ष तेलगु साहित्यको प्राध्यापन, १५ कविता संग्रह प्रकाशित भारतको क्रान्तिकारी आन्दोलनमा ६० वर्षदेखि समर्पित व्यक्तित्व हो वरवर राव । भारतीय जनक्रान्तिमा समर्पित रावलाई भारत सरकारले सन १९७३, १९७५, २००५ र भीमा कोरेगाउँ केसमा २०१८ मा गिरफ्तार गर्यो । रावको रिहाईका लागि अप्रिल १५, २०२० मा गुलजार, अशोक वाजपेयी लगायत ४० कविहरूले उनको रिहाईको माग गरेका थिए । जून १४, २०२० मा विश्वका ९८ उम्दा विश्वविद्यालयका प्राध्यापकहरूले वरवर रावको रिहाइको माग गरेर विज्ञप्ति निकालेका थिए । विज्ञप्ति निकाल्नेमा नोम चोमस्की अरिजोना विश्वविद्यालय अमेरिका, नुगी वा थोङ क्यालिफोर्निया विश्वविद्यालय अमेरिका, जुडिथ बटलर क्यालिफोर्निया विश्वविद्यालय अमेरिका, ब्रुनो लातोर पेरिस विश्वविद्यालय फ्रान्स, पल गिलरोय विश्वविद्यालय कलेज बेलायत, लियो प्यानिच योर्क विश्वविद्यालय क्यानाडा आदि । वरवर रावको स्वास्थ्य लाभको कामना साथै रिहाइका लागि हाम्रो पनि ऐक्यबद्धता ।