एमसीसीको विरोधमा काठमाडौं उपत्यकालगायत ३ नं. प्रदेशका सबै जिल्लामा क्रान्तिकारी माओवादीले आज गर्दैछ प्रदर्शन

प्रकाशित मिति : २०७७ असार १५

काठमाडौं । अमेरिकाको साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग गरिएको सम्झौता खारेजीको संघर्ष वृहत् बन्दै गएको छ । संघर्ष देशव्यापी समेत बन्दै गएको छ । दिनहुँजसो एमसीसीका विरुद्ध सडकमा प्रदर्शनहरु भइरहेका छन् । आइतबार मात्र प्रगतिशील जनसाँस्कृतिककर्मीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सोमबार (आज) नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौं उपत्यका लगायत ३ नं. प्रदेशका १३ वटै जिल्लामा एमसीसी खारेजीका लागि विरोध प्रदर्शन गर्दैछ ।

काठमाडौंले रत्नपार्क शान्तिबाटिकाबाट दिनको १२ बजेबाट विरोध प्रदर्शन सुरु गरी असन इन्द्रचोकमा पुगेर विरोधसभा गर्ने तयारी गरेको छ । त्यसैगरी ललितपुर, भक्तपुर, चितवन, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर, दोलखालगायतका जिल्लामा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शनको तयारी गरिएको छ । एमसीसीका विरुद्ध एकल र संयुक्त आन्दोलनलाई एकसाथ अगाडि बढाएको नेकपा (क्रान्तिकारी माओवादी)ले देशव्यापी रुपमा दिनहुँजसो विरोध प्रदर्शन गर्दै आएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), नेकपा (माओवादी केन्द्र), नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जागरण मञ्च, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, जनसमाजवादी पार्टीलगायत ११ वटा दलले एमसीसी खारेजीका विरुद्ध घोषणा गरे अनुसार जिल्ला जिल्लामा संयुक्त संघर्षका कार्यक्रमहरु पनि भइरहेका छन् । ११ दलीय मोर्चाको कार्यक्रमलाई विभिन्न संघ संस्थाले सञ्चालन गरिरहेका आन्दोलनहरुलाई जोडेर बनाइएको संयुक्त संघर्ष समितिले पनि ऐक्यबद्धता जाहेर गरेको छ । एमसीसी सम्झौता खारेजीको पक्षमा देशव्यापी रुपमा जागरण बढेर गएको छ र जनता स्वतःस्फूर्त सडकमा निस्कने स्थिति बलियो बन्दै गएको छ ।

क्रान्तिकारी माओवादीको पछिल्लो स्थायी समितिको बैठकले एमसीसीको विरोधमा कार्यगत एकतामा सम्मिलित र अन्य सम्भव राजनीतिक दलहरूसित मिली संयुक्त सङ्घर्ष सञ्चालन गर्ने निर्णय लिएको थियो । बैठकले कार्यगत एकतामा सामेल एघार राजनीतिक दलहरूको बैठक बसी अमेरिकी साम्राज्यवादद्वारा थोपरिएको एमसीसी सम्बन्धी आर्थिक योजनाको विरोधमा संयुक्त सङ्घर्ष सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकले सङ्घर्षलाई निरन्तरता दिने निर्णय अनुसार कार्यक्रम थप गर्दै जाने समेत निर्णय गरेको छ । कोरोना महामारीको जटिलताका बीच देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाका खातिर गम्भीर एवं क्रियाशील बन्नुपर्ने ऐतिहासिक कार्यभार क्रान्तिकारी माओवादीसामु रहेको ठहर बैठकले गरेको थियो । र, सोही निर्णय अनुसार अहिले नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्नो सम्पूर्ण शक्ति एमसीसी खारेजीको संघर्षमा लगाएको छ ।