यो अंकबाट ‘वर्गदृष्टि’ साप्ताहिक आफ्नो प्रकाशनको पाँचौ बर्षमा प्रवेश गरेको छ । जनपक्षीय पत्रकारिताको क्षेत्रमा एउटा अलग धार, पहिचान, संकल्प र आदर्शसहित हामीले हाम्रो यात्राको शुभारम्भ गरेका थियौं । यो छापा पत्रिका प्रकाशनसँगै सुरु भएको थियो– मूलबाटो डटकमको डिजिटल प्रकाशन । यी दुवै प्रकाशनहरु चार बर्षको यो अवधिमा जनपक्षीय पत्रकारिताका क्षेत्रमा केही अलग पहिचान छोड्न सफल भएका छन् । राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाका सवालहरुमा वर्गदृष्टि र मूलबाटो डटकम एउटा सच्चा पहरेदारको रुपमा प्रस्तुत हुँदै आएका छन् । र, पत्रकारिता सत्ता, शक्ति, कर्पोरेट हाउस तथा बहुराष्ट्रिय निगमहरुको स्वार्थ र प्रभावबाट निर्देशित नभई देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आम शोषित–उत्पीडित वर्ग र समुदायको मुक्ति र परिवर्तनप्रतिको आकांक्षालाई साथ दिने र दिशाबोध गर्ने उद्देश्यबाट समेत परिलक्षित हुनु पर्दछ भन्ने मान्यतालाई पनि स्थापित गर्दै आएको छ । आवाजविहीनहरुको आवाज बन्न सक्नु नै जनपक्षीय मिडियाहरुको मूल धर्म र कर्म हो । आफ्नो सापेक्षतामा यस अवधिमा हामीले आफूलाई खह«ो रुपमा उतार्ने कोशिसलाई जारी राख्यौं । हामी हाम्रो उल्लेखित संकल्प पुरा गर्ने दिशामा सफल रह्यौं या रहेनौं भन्ने कुराको मूल्यांकन गर्ने जिम्मा भने हामी हाम्रा विज्ञ पाठक वर्गलाई छोड्न चाहन्छौं ।
हामीले असाध्यै प्रतिकूलता र सीमित स्रोत साधनका बीचबाट हाम्रो प्रकाशन यात्राको शुभारम्भ गरेका थियौं । यो प्रकाशनलाई आजको स्थितिसम्म ल्याइपु¥याउन थुप्रै सहकर्मी साथीहरुले महत्वपूर्ण र अविष्मरणीय भूमिका खेल्नु भएको छ । हाम्रा पाठक वर्ग, विज्ञापन दाता, सहयोगी विभिन्न संघ, संगठन, संस्थाहरु, तिनका नेतृत्व वर्गहरुले न्यायो माया दिनुभएको छ । अमूल्य सहयोग गर्नु भएको छ । यस अवसरमा हामी हाम्रो यो प्रकाशनलाई प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नुहुने सबैप्रति विशेष धन्यवाद र हार्दिक आभार प्रकट गर्न चाहन्छौं । र, आगामी दिनमा पनि निरन्तर रुपमा सहयोग प्राप्त हुने अपेक्षा राख्दछौं ।
वर्ग सापेक्ष समाजमा हरेक चिज वर्गीय भएजस्तै पत्रकारिता पनि वर्गीय हुन्छ र जनपक्षीय पत्रकारिता भनेको आम श्रमजीवि शोषित तथा उपेक्षित वर्ग र समुदायको मुक्ति र स्वतन्त्रताको आवाज बन्नु पर्दछ । पत्रकारिता निरपेक्ष स्वतन्त्र हुँदैन, जहिल्यै सापेक्षिक स्वतन्त्र हुन्छ भन्ने सच्चाइलाई आत्मसाथ गर्दै देश र जनताप्रति उत्तारदायी र जवाफदेही बन्दै सत्य र तथ्यका आधारमा निष्पक्षताको वकालत गर्नुपर्दछ । सत्ता, शक्ति, कर्पोरेट हाउस तथा बहुराष्ट्रिय निगमहरुको दाना खाएर उनीहरुकै गाना गाउनु स्वतन्त्र पत्रकारिता होइन, न त जनपक्षीय पत्रकारिता नै । राष्ट्रियता, जनअधिकार तथा जनजीविकाका विकराल समस्याहरु सौदाबाजीका विषय बन्नुहुन्न, समाचारका शीर्षक बनिनु पर्दछ । यी र यस्तै मान्यतालाई हाम्रा प्रकाशनहरुले गहिरोगरी आत्मसाथ गर्दै आएका छन् ।
सूचना प्रविधिको अभूतपूर्व विकास भएको आजको वैज्ञानिक युगमा पत्रकारितामा पनि डिजिटल युग सुरु भएको छ । सूचना र प्रविधिमाथि मुठ्ठिभर ‘ हुनेखाने(एलिट वगर्)’को एकाधिकार रहेको छ । त्यही वर्गले आफ्नो वर्गस्वार्थको हितनुकूलको राजनीतिक व्यवस्था खडा गर्न त्यही सूचना प्रविधिको प्रयोग गर्दै आएको छ । र, विश्वका अरबौं मानिसमा एकसाथ ‘मस्तिष्क मन्थन(ब्रेन स्टोर्म)’ गर्ने सामग्रीहरु प्रकाशन प्रशारण गरिरहेको छ । यो साम्राज्यवादी सूचना भुमण्डलीकरणले हाम्रो देशभित्र पारेको प्रभाव, छरेको भ्रम, उपभोक्तावादी सोँच, चिन्तनका विरुद्ध आफूलाई उभ्याउनु र जनपक्षीय मूल्य, मान्यता र संस्कृतिको संरक्षण एवम् सम्बद्र्धनका लागि आवाज बुलन्द गर्नु जनपक्षीय पत्रकारिताको अधारभूत दायित्व बन्न गएको छ ।
यसर्थ, स्थायी प्रतिपक्षको भूमिकादेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालतसम्म आफूलाई खह«ो रुपमा उतार्दै तमाम राष्ट्र र जनविरोधी गतिविधिहरुको विरुद्धमा कलम चलाउँदै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाहरुमा असली पहरेदारको रुपमा निरन्तर आफूलाई बलियो बनाउँदै लैजाने संकल्प नै हाम्रो यात्राराम्भको संकल्प हो । यस अवसरमा फेरि पनि यो संकल्पप्रतिको प्रतिबद्धता जाहेर गर्दछौं र निरन्तर रुपमा रचनात्मक आलोचना, सुझावसहित अमूल्य सहयोगका लागि हामी सबै विज्ञ पाठक वर्ग तथा विज्ञापन दाताहरुमा हार्दिक अनुरोधका साथ कलम बन्द गर्ने अनुमति चाहन्छौं ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर