कोरोना संक्रमितको संख्या दश हजार नजिक, ११ सय ८६ निको भए, मृत्यु हुनेको संख्या २२ पुग्यो

कोरोना संक्रमितको संख्या दश हजार नजिक, ११ सय ८६ निको भए, मृत्यु हुनेको संख्या २२ पुग्यो


काठमाडौं । बिहीबार एकै दिन ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बिहीबार देखिएका नयाँ संक्रमितमध्ये ५९१ पुरुष र ८० महिला रहेका छन् ।

बुधबार मात्रै ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ । बिहीबारसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५१८ र आरडीटी विधिबाट २ लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बिहीबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार थप दुई जनाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ घर भएका ४६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएका उनको बुधबार राति मृत्यु भएको थियो ।

त्यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका–२ की ४३ वर्षीया महिलाको समेत कोरोनाकै कारण मृत्यु भएको छ । जेठ ३१ गते टाउकोमा चोट लागेको र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी महिलाको सर्जरी गर्नु अघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । उनको पनि बुधबार साँझ मृत्यु भएको थियो ।

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ जना, ललितपुरमा १ र भक्तपुरमा ३ जना गरी थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १ महिला र १ पुरुष र ललितपुरमा १ पुरुष र भक्तपुरका १ महिला र २ पुरुषमा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ७४६ र आरडीटी विधिबाट ९ हजार ५३२जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार १ लाख १६ हजार २१५ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ६ हजार ६४८ जना रहेका छन् । ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । रेडजोनमा ५०३ रहेका छन् । यस्तै बिहीबार थप ४ जना रेडजोनमा परेका छन् ।

यस्तै बिहीबार थप १९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट १९ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए । योसहित निको हुनेको संख्या ११ सय ८६ पुगेको छ । डिस्चार्ज हुनेमा १ हजार ७२ पुरुष र ११४ महिला रहेका छन् ।