
समग्र मानवताको हितार्थ जागेको क्रान्तिकारीले आफ्नो निजी जीवनमा हुने प्राप्तिलाई मात्रै गणना गरेर बस्तैन । ‘आफू मरेपछि डुमै राजा’ भन्दै हिड्दैन । म मरे पनि मानव जाति बाँचोस, मानवता बाँचोस भन्छ । ‘मरेपछि डुमै राजा’ का दुई अर्थ लाग्छन—एक ‘म मरेपछि जेसुकै होस’ भन्ने । दुई, डुम जातिलाई होच्याउने । यी दुवै कुरा गलत छन । आफ्नो टाउको फुटेपछि मितको टाउको बेलैसरि भन्दै हिड्ने प्रवृत्ति पनि नितान्त गलत छ । मितको वास्तविक अर्थ दुःखमा सहयोग गर्ने साथी हो । वर्गमित्र हो । आफू मरेपनि यस्ता मित्रहरू बाँचिरहनु पर्छ ।
कृष्ण सेन इच्छुकले आफ्ना कविता, लेख तथा अन्तरर्वाताहरूमा त्यस्ता क्रान्तिकारी पात्रहरूको बिम्ब निर्माण गर्नु भएको छ जो जतिसुकै कठोर क्षणमा पनि विचलित हुँदैन । आफ्नो उद्देश्यमा दृढतापूर्वक डटिरहन्छ । बरु मर्न तयार हुन्छ, क्रान्तिलाई धोखा दिँदैन । वचन र कर्ममा अभेद्य एकत्व भएका कृष्ण सेनको चरित्र उहाँ स्वयंले परिकल्पना गर्नु भएको त्यही आदर्श योद्धाको जस्तै छ । उहाँले लेख्नुभएको प्रिय कमरेड शीर्षकको एउटा कवितांश हेरौँ—
प्रिय कामरेड
तिमी पहाड, जङ्गल, भङ्गाला र छालहरूलाई
दृढतापूर्वक पार गर्दै र तर्दै हिँड्दा रहेछौ
तिमी शत्रुका घेरा, पहरा र जालहरूलाई
निर्भीकतापूर्वक तोड्दै र छल्दै हिँड्दा रहेछौ
तिमी कष्टसाध्य कठोर क्रान्तिकारी जिन्दगी
स्वेच्छाले सगर्व लड्दै हिँड्दा रहेछौ
अनि हामीले पहिलोपल्ट थाहा पायौँ
तिमी जनताकै निम्ति बाँच्ने र मर्ने
आँखाका नानी जत्तिकै प्यारा र भरपर्दा साथी रहेछौ ।
(इतिहासको यस घडी कविता संग्रहबाट)
कृष्ण सेनको जम्मा ४६ वर्षको जीवनकालमा ९ वर्ष त जेलमै बित्यो । जेलभित्र रहँदा होस वा बाहिर सेनको जीवनको एक क्षण पनि क्रान्तिकारी कर्तव्यले खाली देखिँदैन । बन्दी र चन्द्रागिरि तथा शोकाञ्जली दुई काव्य तथा इतिहासको यस घडीमा कविता सङ्ग्रहका धेरैजसो कविताहरू उहाँले जेलमै लेख्नु भएको हो । जेल बाहिर रहँदा उहाँका दिनहरू अध्ययनमय, सिर्जनामय र सङघर्षमय भएर बितेका छन । जनताका माझमा गएर बितेका छन । जनादेश र जनदिशाजस्ता समाचार पत्रिका र कलम साहित्यिक पत्रिकाको सम्पादनमा बितेका छन ।
पल पलमा पैसा र पदको हिसाब गर्दै अतृप्त आत्मा बोकेर विक्षिप्तझैँ भौतारिँदै हिँडेका कम्युनिष्ट नामधारी पात्रहरू यत्रतत्र भेटिन्छन आज । तिनले बेलामौकामा कृष्ण सेनको नाम पनि लिन्छन । तर कृष्ण सेन नितान्त विपरीत देखिनुहुन्छ । अभाव र दुःख कष्टका हण्डरै हण्डरमा उहाँको जीवन बित्छ । तर उहाँमा कुनै गुनासो भेटिदैन । विचार, सिर्जना, संगठन र आन्दोलनका सङ्घर्षमय दिनचर्यामै तृप्त हुनुहुन्छ । उहाँमा कहाँबाट आयो यो तृप्ति र यिनमा किन आएन ? किन सामान्य पीडामा पनि बढ्ता कहराउँछन यिनी ? किन चरम यातनाले मृत्यको मुखमा परिसक्दा पनि कहराउनु हुन्न कृष्ण सेन ? कृष्ण सेनको चिन्तनको समग्र धारा क्रान्तितिर डोलिएर बगेको छ । उहाँको सौन्दर्य चेतनाको विकास पनि यसै गरी भएको छ । जनता, क्रान्ति र भविष्य प्रतिको उहाँको विश्वास मृत्यको भयभन्दा निकै बलवान छ । क्रान्तिकारी उद्देश्यमा समर्पित उहाँको जीवनको लय यातनाजन्य पीडाको लयभन्दा निकै गहिराईबाट घनीभूत भएर आएको छ । कृष्ण सेनको क्रान्तिकारिता वर्गसङ्घर्षको मैदानबाट मात्रै होइन, भीषण आत्मसङ्घर्षको भुङ्रोबाट समेत खारिएर निस्केको हुनाले चरम चञ्चलताबाट मुक्त छ । अधैर्य र अत्यासबाट मुक्त छ । साम्यवादको लक्ष्यप्रति दृढ प्रतिज्ञ छ । ढुक्क छ ।
भीषण आत्मसङ्घर्षको चरणबाट नगुज्रीकन कुनै पनि क्रान्तिकारी वर्गसङ्घर्षको मैदानमा खरो उत्रन सक्तैन । संसार बदल्ने भनेको पहिले आफूलाई बदल्ने भनेको हो । आफूलाई नबदलीकन अरूलाई बदल्न सकिँदैन । प्रमाणित ढाँटहरूले दिएको सत्यवादिताको सन्देश कसैले पनि ग्रहण गर्दैन । विश्वास लागे पो ग्रहण गर्नु । आफू बदलिनु भनेको आफूलाई जनसंस्कृतिमा ढाल्नु हो । जनताको हित गर्ने संस्कृति जनसंस्कृति हो । कृष्ण सेनले कठोर आत्मसङ्र्ष गरेर आफूलाई बदल्नु भएको थियो । त्यसै कारणले उहाँ विश्वासयोग्य हुनु हुन्थ्यो । त्यसै कारणले उहाँमा क्रान्तिकारी आस्थाको गुरुत्व निर्माण भएको छ ।
जागीर खाने कि राजनीति गर्ने ? आर्थिक रूपले अभावग्रस्त परिवारको गुजारा चलाउन न्यूनतम आम्दानीको बाटो खोज्नै पथ्र्यो । निकटको सम्भाव्य विकल्प थियो जागीर । नेसनल ट्रेडिङ कम्पनीमा जागीर पाउनु पनि भयो । संसार बदल्ने स्वप्नदर्शी चेतना हुर्कँदै गरेका इच्छुकलाई चेतनाको आगो सल्काउँदै जनताको माझमा जान मन थियो । जनतालाई चुसेर दीनहीन बनाउने शोषकहरूका विरुद्ध विशाल जनसागर उरालेर वर्गसङ्घर्षको मैदानमा लान मन थियो । जागीर बाध्यता थियो । जागृति अभियानमा संलग्नता स्वैच्छिक थियो । वाध्यता र स्वेच्छा आपसमा टकराउँथे । यो टक्कर उहाँको मनमैदानमा हुन्थ्यो । यो त एउटा उदाहरण मात्रै हो । उहाँलाई मनोद्वन्द्वको अवस्थामा पु¥याउने यस्ता अनेकौँ विषयहरू थिए । प्रश्नै प्रश्नका यस्ता सयौँ दोबाटा र चौबाटाहरूमा निर्णय लिनु अघि निर्णयलाई प्रभावित पार्न आफ्ना मनभित्र आएका लोभ र भयसित निर्मम युद्ध लड्नु भएको छ कृष्ण सेन । निष्ठा, निर्र्लोभ र निर्भयतालाई जिताउनु भएको छ । त्यसैकारणले उहाँको क्रान्तिकारिता सम्पुष्ट छ ।
इच्छुक सिद्धान्तनिष्ठ स्रष्टा हुनुहुन्छ । तर उहाँको सिद्धान्तमा कतै पनि यान्त्रिकता भेटिँदैन । उहाँको जीवनमा सिद्धान्त र सिद्धान्तमा जीवन त्यसरी आएको छ जसरी पातमा हरियो आउँछ । कृष्ण सेन जनताका कवि हुनुहुन्छ । जनतामै गएर कविता लेख्नुभएको छ । जनतालाई नै सुनाउनु भएको छ । वास्तविक अर्थमा जनवादी कवि हुनुहुन्छ । कृष्ण सेनको काव्यमा खास चमत्कार के हो ? भनेर सोध्नेहरूका मुखमा हेरेर खिस्स हाँस्न मात्रै सकिन्छ । कृष्ण सेनको जीवनदर्शन, आस्था र निष्ठाको सागरमा प्रवेश नगरीकन उहाँका कविताको वास्तविक अर्थ खुल्दैन ।
कृष्ण सेनको लेखकीय फलक व्यापक छ । राष्ट्रिय जीवनमा व्याप्त जाति, क्षेत्र, लिङ्ग आदि आधारमा भएका उत्पीडनको विरोधमा सशक्त आवाज उठाउनु भएकोे छ । त्यो पनि बाहिर बसेर होइन, उत्पीडितहरूको जीवनको मर्मस्थलमै पसेर, समग्र मुक्तिलाई वर्गसङ्घर्षको कडीमा दह्रोसित जोडेर । उहाँको चिन्तन यत्तिमा सीमित छैन । समकालीन विश्वमा चलेका मुक्तियुद्धबाट उहाँ राम्रोसित परिचित र प्रभावित मात्रै हुनुहुन्न त्यसको समर्थनमा आवाज बुलन्द गर्नु भएको छ । साम्राज्यवादको विरुद्धमा जोडदार ढङ्गले प्रतिरोधको वैश्विक आवाज पनि उठाउनु भएको छ ।
तिम्रा युद्ध र बन्दुकहरूका विरुद्ध
अकालग्रस्त अफ्रिका महादेशदेखि
अभावग्रस्त एशिया महाद्वीपसम्म
उत्पीडनग्रस्त ल्याटिन अमेरिकादेखि
विघटनग्रस्त पूर्र्वी युरोपसम्म
मृत्यु र महाविनासको पसल थापेर
मैले बेचिरहेको छैन बन्दुक
प्रत्येक अफगानका घरघर युद्ध भड्काउँदै
बोस्नियाका प्रत्येक टोलटोलमा रक्तपात मच्चाउँदै
मैले बेचिरहेको छैन बन्दुक
बोस्नियाका प्रत्येक टोलटोलमा रक्तपात मच्चाउँदै
मैले बेचिरहेको छैन बन्दुक
कैले जाति र सम्प्रदायका नाममा
फूट र विभाजनका रेखाहरू कोरेर
कतै धर्म र कतै वर्णका नाममा
घृणा र विद्वेषको बीजारोपण गरेर
रुवाण्डाली जनताको नरसंहार गराउँदै
प्रत्येक हुटु र तुत्सीका हात हात एकसाथ
मैले बेचिरहेको छैन बन्दुक
फूट र विभाजनका रेखाहरू कोरेर
कतै धर्म र कतै वर्णका नाममा
घृणा र विद्वेषको बीजारोपण गरेर
रुवाण्डाली जनताको नरसंहार गराउँदै
प्रत्येक हुटु र तुत्सीका हात हात एकसाथ
मैले बेचिरहेको छैन बन्दुक
कृष्ण सेनमा मितभाषिता छ । अर्घेलो एक शब्द पनि बोल्नुहुन्न । मृदुभाषिता छ । वर्गवैरीसित चट्टानभन्दा कठोर इच्छुक वर्गमित्रसित नौनीभन्दा नरम हुनुहुन्छ । स्पष्टवादिता छ । उहाँका मुखबाट मुखेन्जी एउटा कुरो र पिठ्यूँपछाडि अर्र्को कुरा सुन्नु सम्भव छैन । समय सचेतना छ । निर्धारित समयमा ठाउँमा नपुग्ने र अर्काको समयलाई अपमान गर्ने रोगबाट उहाँ मुक्त हुनुहुन्छ । इतिहासबोध छ । मानव सभ्यताको विकासमा श्रम र सङ्घर्षको भूमिकालाई राम्ररी अध्ययन तथा आत्मसात गर्नु भएको छ । कृष्ण सेनको जिम्मा जमानी अचुक छ । निर्णय गर्ने, जिम्मेवारी स्वीकार्ने अनि निर्णय र वचनबद्धतालाई बेवारिश छाडेर बतासिने गैरजिम्मेवार प्रवृत्तिले उहाँलाई चियाउन पनि सक्तैन ।
गल्ती गर्ने अनि त्यसलाई सच्याउनुको साटो ढाकछोप गर्नतिर दत्तचित्त हुने प्रवृत्तिको मनोवैज्ञानिक अर्थ हो—उसलाई निरन्तर गल्ती र निरन्तर ढाकछोपमै फाइदा छ । त्यसैकारणले गल्ती बताइदिँदा ऊ झडङ्ग रिसाउँछ । जलप जेको लगाए पनि भित्री उद्देश्य त व्यक्तिगत फाइदा नै हो । कृष्ण सेनलाई कहीँनेर पनि यस्तो ढाकछोप र ढाँटछलको सहारा लिनु परेन ।
इच्छुक एउटा ऐना पनि हो जसमा हामीले आफ्नो अनुहार हेर्न सक्छौँ । इच्छुक हाम्रो क्रान्तिकारिता जाँच्ने कसी पनि हो र क्रान्तिकारितालाई उध्याउने ढुङ्गो पनि हो । त्यो ऐनामा आफ्नो अनुहार नहेर्ने, त्यो कसीमा आफूलाई नघोट्ने र त्यो ढुङ्गामा आफूलाई नउध्याउने हो भने क्रान्ति सन्दर्भका तमाम बहसहरू बुद्धिविलासभन्दा बाहिर जाँदैनन ।
कृष्ण सेन आगोको अजम्मरी बीउ हो । एउटा कालखण्डको क्रान्ति असफल हुँदैमा कृष्ण सेनको औचित्य समाप्त हुँदैन । उचित अवसर पाउनासाथ आगो कुनै पनि बेला बडवानल भएर जाग्न सक्छ ।
गल्ती गर्ने अनि त्यसलाई सच्याउनुको साटो ढाकछोप गर्नतिर दत्तचित्त हुने प्रवृत्तिको मनोवैज्ञानिक अर्थ हो—उसलाई निरन्तर गल्ती र निरन्तर ढाकछोपमै फाइदा छ । त्यसैकारणले गल्ती बताइदिँदा ऊ झडङ्ग रिसाउँछ । जलप जेको लगाए पनि भित्री उद्देश्य त व्यक्तिगत फाइदा नै हो । कृष्ण सेनलाई कहीँनेर पनि यस्तो ढाकछोप र ढाँटछलको सहारा लिनु परेन ।
इच्छुक एउटा ऐना पनि हो जसमा हामीले आफ्नो अनुहार हेर्न सक्छौँ । इच्छुक हाम्रो क्रान्तिकारिता जाँच्ने कसी पनि हो र क्रान्तिकारितालाई उध्याउने ढुङ्गो पनि हो । त्यो ऐनामा आफ्नो अनुहार नहेर्ने, त्यो कसीमा आफूलाई नघोट्ने र त्यो ढुङ्गामा आफूलाई नउध्याउने हो भने क्रान्ति सन्दर्भका तमाम बहसहरू बुद्धिविलासभन्दा बाहिर जाँदैनन ।
कृष्ण सेन आगोको अजम्मरी बीउ हो । एउटा कालखण्डको क्रान्ति असफल हुँदैमा कृष्ण सेनको औचित्य समाप्त हुँदैन । उचित अवसर पाउनासाथ आगो कुनै पनि बेला बडवानल भएर जाग्न सक्छ ।






























