सन्दर्भ ः इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस

आगोका अजम्मरी बीउ इच्छुक

प्रकाशित मिति : २०७७ जेष्ठ १३

- मित्रलाल पंज्ञानी


समग्र मानवताको हितार्थ जागेको क्रान्तिकारीले आफ्नो निजी जीवनमा हुने प्राप्तिलाई मात्रै गणना गरेर बस्तैन । ‘आफू मरेपछि डुमै राजा’ भन्दै हिड्दैन । म मरे पनि मानव जाति बाँचोस, मानवता बाँचोस भन्छ । ‘मरेपछि डुमै राजा’ का दुई अर्थ लाग्छन—एक ‘म मरेपछि जेसुकै होस’ भन्ने । दुई, डुम जातिलाई होच्याउने । यी दुवै कुरा गलत छन । आफ्नो टाउको फुटेपछि मितको टाउको बेलैसरि भन्दै हिड्ने प्रवृत्ति पनि नितान्त गलत छ । मितको वास्तविक अर्थ दुःखमा सहयोग गर्ने साथी हो । वर्गमित्र हो । आफू मरेपनि यस्ता मित्रहरू बाँचिरहनु पर्छ ।
कृष्ण सेन इच्छुकले आफ्ना कविता, लेख तथा अन्तरर्वाताहरूमा त्यस्ता क्रान्तिकारी पात्रहरूको बिम्ब निर्माण गर्नु भएको छ जो जतिसुकै कठोर क्षणमा पनि विचलित हुँदैन । आफ्नो उद्देश्यमा दृढतापूर्वक डटिरहन्छ । बरु मर्न तयार हुन्छ, क्रान्तिलाई धोखा दिँदैन । वचन र कर्ममा अभेद्य एकत्व भएका कृष्ण सेनको चरित्र उहाँ स्वयंले परिकल्पना गर्नु भएको त्यही आदर्श योद्धाको जस्तै छ । उहाँले लेख्नुभएको प्रिय कमरेड शीर्षकको एउटा कवितांश हेरौँ—
प्रिय कामरेड
तिमी पहाड, जङ्गल, भङ्गाला र छालहरूलाई
दृढतापूर्वक पार गर्दै र तर्दै हिँड्दा रहेछौ
तिमी शत्रुका घेरा, पहरा र जालहरूलाई
निर्भीकतापूर्वक तोड्दै र छल्दै हिँड्दा रहेछौ
तिमी कष्टसाध्य कठोर क्रान्तिकारी जिन्दगी
स्वेच्छाले सगर्व लड्दै हिँड्दा रहेछौ
अनि हामीले पहिलोपल्ट थाहा पायौँ
तिमी जनताकै निम्ति बाँच्ने र मर्ने
आँखाका नानी जत्तिकै प्यारा र भरपर्दा साथी रहेछौ ।
                          (इतिहासको यस घडी कविता संग्रहबाट)
कृष्ण सेनको जम्मा ४६ वर्षको जीवनकालमा ९ वर्ष त जेलमै बित्यो । जेलभित्र रहँदा होस वा बाहिर सेनको जीवनको एक क्षण पनि क्रान्तिकारी कर्तव्यले खाली देखिँदैन । बन्दी र चन्द्रागिरि तथा शोकाञ्जली दुई काव्य तथा इतिहासको यस घडीमा कविता सङ्ग्रहका धेरैजसो कविताहरू उहाँले जेलमै लेख्नु भएको हो । जेल बाहिर रहँदा उहाँका दिनहरू अध्ययनमय, सिर्जनामय र सङघर्षमय भएर बितेका छन । जनताका माझमा गएर बितेका छन । जनादेश र जनदिशाजस्ता समाचार पत्रिका र कलम साहित्यिक पत्रिकाको सम्पादनमा बितेका छन ।
पल पलमा पैसा र पदको हिसाब गर्दै अतृप्त आत्मा बोकेर विक्षिप्तझैँ भौतारिँदै हिँडेका कम्युनिष्ट नामधारी पात्रहरू यत्रतत्र भेटिन्छन आज । तिनले बेलामौकामा कृष्ण सेनको नाम पनि लिन्छन । तर कृष्ण सेन नितान्त विपरीत देखिनुहुन्छ । अभाव र दुःख कष्टका हण्डरै हण्डरमा उहाँको जीवन बित्छ । तर उहाँमा कुनै गुनासो भेटिदैन । विचार, सिर्जना, संगठन र आन्दोलनका सङ्घर्षमय दिनचर्यामै तृप्त हुनुहुन्छ । उहाँमा कहाँबाट आयो यो तृप्ति र यिनमा किन आएन ? किन सामान्य पीडामा पनि बढ्ता कहराउँछन यिनी ? किन चरम यातनाले मृत्यको मुखमा परिसक्दा पनि कहराउनु हुन्न कृष्ण सेन ? कृष्ण सेनको चिन्तनको समग्र धारा क्रान्तितिर डोलिएर बगेको छ । उहाँको सौन्दर्य चेतनाको विकास पनि यसै गरी भएको छ । जनता, क्रान्ति र भविष्य प्रतिको उहाँको विश्वास मृत्यको भयभन्दा  निकै बलवान छ । क्रान्तिकारी उद्देश्यमा समर्पित उहाँको जीवनको लय यातनाजन्य पीडाको लयभन्दा निकै गहिराईबाट घनीभूत भएर आएको छ । कृष्ण सेनको क्रान्तिकारिता वर्गसङ्घर्षको मैदानबाट मात्रै होइन, भीषण आत्मसङ्घर्षको भुङ्रोबाट समेत खारिएर निस्केको हुनाले चरम चञ्चलताबाट मुक्त छ । अधैर्य र अत्यासबाट मुक्त छ । साम्यवादको लक्ष्यप्रति दृढ प्रतिज्ञ छ । ढुक्क छ ।  
भीषण आत्मसङ्घर्षको चरणबाट नगुज्रीकन कुनै पनि क्रान्तिकारी वर्गसङ्घर्षको मैदानमा खरो उत्रन सक्तैन । संसार बदल्ने भनेको पहिले आफूलाई बदल्ने भनेको हो । आफूलाई नबदलीकन अरूलाई बदल्न सकिँदैन । प्रमाणित ढाँटहरूले दिएको सत्यवादिताको सन्देश कसैले पनि ग्रहण गर्दैन । विश्वास लागे पो ग्रहण गर्नु । आफू बदलिनु भनेको आफूलाई जनसंस्कृतिमा ढाल्नु हो । जनताको हित गर्ने संस्कृति जनसंस्कृति हो । कृष्ण सेनले कठोर आत्मसङ्र्ष गरेर आफूलाई बदल्नु भएको थियो । त्यसै कारणले उहाँ विश्वासयोग्य हुनु हुन्थ्यो । त्यसै कारणले उहाँमा क्रान्तिकारी आस्थाको गुरुत्व निर्माण भएको छ ।
जागीर खाने कि राजनीति गर्ने ? आर्थिक रूपले अभावग्रस्त परिवारको गुजारा चलाउन न्यूनतम आम्दानीको बाटो खोज्नै पथ्र्यो । निकटको सम्भाव्य विकल्प थियो जागीर । नेसनल ट्रेडिङ कम्पनीमा जागीर पाउनु पनि भयो । संसार बदल्ने स्वप्नदर्शी चेतना हुर्कँदै गरेका इच्छुकलाई चेतनाको आगो सल्काउँदै जनताको माझमा जान मन थियो । जनतालाई चुसेर दीनहीन बनाउने शोषकहरूका विरुद्ध विशाल जनसागर उरालेर वर्गसङ्घर्षको मैदानमा लान मन थियो । जागीर बाध्यता थियो । जागृति अभियानमा संलग्नता स्वैच्छिक थियो । वाध्यता र स्वेच्छा आपसमा टकराउँथे । यो टक्कर उहाँको मनमैदानमा हुन्थ्यो । यो त एउटा उदाहरण मात्रै हो । उहाँलाई मनोद्वन्द्वको अवस्थामा पु¥याउने यस्ता अनेकौँ विषयहरू थिए । प्रश्नै प्रश्नका यस्ता सयौँ दोबाटा र चौबाटाहरूमा निर्णय लिनु अघि निर्णयलाई प्रभावित पार्न आफ्ना मनभित्र आएका लोभ र भयसित निर्मम युद्ध लड्नु भएको छ कृष्ण सेन । निष्ठा, निर्र्लोभ र निर्भयतालाई जिताउनु भएको छ । त्यसैकारणले उहाँको क्रान्तिकारिता सम्पुष्ट छ ।
इच्छुक सिद्धान्तनिष्ठ स्रष्टा हुनुहुन्छ । तर उहाँको सिद्धान्तमा कतै पनि यान्त्रिकता भेटिँदैन । उहाँको जीवनमा सिद्धान्त र सिद्धान्तमा जीवन त्यसरी आएको छ जसरी पातमा हरियो आउँछ । कृष्ण सेन जनताका कवि हुनुहुन्छ । जनतामै गएर कविता लेख्नुभएको छ । जनतालाई नै सुनाउनु भएको छ । वास्तविक अर्थमा जनवादी कवि हुनुहुन्छ । कृष्ण सेनको काव्यमा खास चमत्कार के हो ? भनेर सोध्नेहरूका मुखमा हेरेर खिस्स हाँस्न मात्रै सकिन्छ । कृष्ण सेनको जीवनदर्शन, आस्था र निष्ठाको सागरमा प्रवेश नगरीकन उहाँका कविताको वास्तविक अर्थ खुल्दैन ।
कृष्ण सेनको लेखकीय फलक व्यापक छ । राष्ट्रिय जीवनमा व्याप्त जाति, क्षेत्र, लिङ्ग आदि आधारमा भएका उत्पीडनको विरोधमा सशक्त आवाज उठाउनु भएकोे छ । त्यो पनि बाहिर बसेर होइन, उत्पीडितहरूको जीवनको मर्मस्थलमै पसेर, समग्र मुक्तिलाई वर्गसङ्घर्षको कडीमा दह्रोसित जोडेर । उहाँको चिन्तन यत्तिमा सीमित छैन । समकालीन विश्वमा चलेका मुक्तियुद्धबाट उहाँ राम्रोसित परिचित र प्रभावित मात्रै हुनुहुन्न त्यसको समर्थनमा आवाज बुलन्द गर्नु भएको छ । साम्राज्यवादको विरुद्धमा जोडदार ढङ्गले प्रतिरोधको वैश्विक आवाज पनि उठाउनु भएको छ ।
तिम्रा युद्ध र बन्दुकहरूका विरुद्ध
अकालग्रस्त अफ्रिका महादेशदेखि
अभावग्रस्त एशिया महाद्वीपसम्म
उत्पीडनग्रस्त ल्याटिन अमेरिकादेखि
विघटनग्रस्त पूर्र्वी युरोपसम्म
मृत्यु र महाविनासको पसल थापेर
मैले बेचिरहेको छैन बन्दुक
प्रत्येक अफगानका घरघर युद्ध भड्काउँदै
बोस्नियाका प्रत्येक टोलटोलमा रक्तपात मच्चाउँदै
मैले बेचिरहेको छैन बन्दुक
कैले जाति र सम्प्रदायका नाममा
फूट र विभाजनका रेखाहरू कोरेर
कतै धर्म र कतै वर्णका नाममा
घृणा र विद्वेषको बीजारोपण गरेर
रुवाण्डाली जनताको नरसंहार गराउँदै
प्रत्येक हुटु र तुत्सीका हात हात एकसाथ
मैले बेचिरहेको छैन बन्दुक
कृष्ण सेनमा मितभाषिता छ । अर्घेलो एक शब्द पनि बोल्नुहुन्न । मृदुभाषिता छ । वर्गवैरीसित चट्टानभन्दा कठोर इच्छुक वर्गमित्रसित नौनीभन्दा नरम हुनुहुन्छ । स्पष्टवादिता छ । उहाँका मुखबाट मुखेन्जी एउटा कुरो र पिठ्यूँपछाडि अर्र्को कुरा सुन्नु सम्भव छैन । समय सचेतना छ । निर्धारित समयमा ठाउँमा नपुग्ने र अर्काको समयलाई अपमान गर्ने रोगबाट उहाँ मुक्त हुनुहुन्छ । इतिहासबोध छ । मानव सभ्यताको विकासमा श्रम र सङ्घर्षको भूमिकालाई राम्ररी अध्ययन तथा आत्मसात गर्नु भएको छ । कृष्ण सेनको जिम्मा जमानी अचुक छ । निर्णय गर्ने, जिम्मेवारी स्वीकार्ने अनि निर्णय र वचनबद्धतालाई बेवारिश छाडेर बतासिने गैरजिम्मेवार प्रवृत्तिले उहाँलाई चियाउन पनि सक्तैन ।  
गल्ती गर्ने अनि त्यसलाई सच्याउनुको साटो ढाकछोप गर्नतिर दत्तचित्त हुने प्रवृत्तिको मनोवैज्ञानिक अर्थ हो—उसलाई निरन्तर गल्ती र निरन्तर ढाकछोपमै फाइदा छ । त्यसैकारणले गल्ती बताइदिँदा ऊ झडङ्ग रिसाउँछ । जलप जेको लगाए पनि भित्री उद्देश्य त व्यक्तिगत फाइदा नै हो । कृष्ण सेनलाई कहीँनेर पनि यस्तो ढाकछोप र ढाँटछलको सहारा लिनु परेन ।
इच्छुक एउटा ऐना पनि हो जसमा हामीले आफ्नो अनुहार हेर्न सक्छौँ । इच्छुक हाम्रो क्रान्तिकारिता जाँच्ने कसी पनि हो र क्रान्तिकारितालाई उध्याउने ढुङ्गो पनि हो । त्यो ऐनामा आफ्नो अनुहार नहेर्ने, त्यो कसीमा आफूलाई नघोट्ने र त्यो ढुङ्गामा आफूलाई नउध्याउने हो भने क्रान्ति सन्दर्भका तमाम बहसहरू बुद्धिविलासभन्दा बाहिर जाँदैनन ।
कृष्ण सेन आगोको अजम्मरी बीउ हो । एउटा कालखण्डको क्रान्ति असफल हुँदैमा कृष्ण सेनको औचित्य समाप्त हुँदैन । उचित अवसर पाउनासाथ आगो कुनै पनि बेला बडवानल भएर जाग्न सक्छ ।