
फाइल फोटो
काठमाडौं । सीमा सुरक्षाका लागि खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीयहरुले श्रृङ्खलाबद्ध आक्रमण गर्न थालेका छन् । झापाको कचनकवल–१ घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट आक्रमण गरी भारतीय समूहले भत्काइदिएको छ । शनिबार बेलुकी ८ बजेतिर आएका सय जनाजति भारतीयले पोस्ट भत्काएको प्रहरीले जनाएको छ ।
नेपाली सुरक्षाकर्मी खाना खान गएको मौका छोपेर आएको समूहले पोस्टमा आक्रमण गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताएका छन् । सुरक्षाकर्मी खाना खाएर फर्किंदा पोस्ट भत्काउँदै गरेको देखेपछि सुरक्षाकर्मीले हवाइ फायरिङ गरेको र त्यसपछि उनीहरु भागेको पनि रानामगरले बताए ।
नेपाली भूमिमा मकैखेती गरेका भारतीयले सिमा सिल गरिएपछि आउन नपाएका कारण आक्रमण गरेको हुन सक्ने जिल्ला प्रशासनको अनुमान छ ।
कचनकवल–१ का वडाध्यक्ष लक्ष्मी यादवका अनुसार बिहारको सुरिभिट्टातर्फबाट आएको समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका हुन् । उनका अनुसार १२५ नम्बर सीमास्तम्भनजिक सशस्त्रको अस्थायी पोस्ट छ । पोस्ट भत्काउन आएका भारतीयको स्थानीय नेपाली नागरिकले पनि प्रतिकार गरेका छन् ।
यसअघि वैशाख २३ मा पनि भारतीय समूहले झापा गाउँपालिकाको १३१ सीमास्तम्भनजिक खटिएको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको थियो । पछिल्लो समय सीमा सुरक्षाका लागि खटिएका नेपाली सुरक्षाकर्मीमाथि एकपछि अर्को भारतीयहरुबाट आक्रमण हुँदै आएको छ ।






























