‘लक्डाउन्’मा के भूमिका खेल्ने ?

प्रकाशित मिति : २०७७ बैशाख १३

- सी पी गजुरेल

 
चीनको हुबेई राज्यको राजधानी वुहानबाट विस्फोट भएको  नोभेल कोरोना भाइरस अहिलेसम्म संसारका २१० देशहरुमा फैलिसकेको छ । हाम्रो सिमाना जोडिएको उत्तर तिरको छिमेकी देशबाट सुरु भएको यो महाव्याधीले सात समुद्र पारीका देश अमेरिका, युरोपीयन देशहरुमा महामारीका रुपमा फैलिएर तहल्का मचाइसक्दा पनि हिमाल कटेर नेपाल आउने चेष्टा गरेको थिएन । हाम्रो देशमा संक्रमण फैलिएको थिएन । हामीले आफुलाई भाग्यशाली ठान्यौं । हामीले यसको संक्रमण रोक्नका लागि पर्याप्त समय र विभिन्न देशमा यसको रोकथाम र नियन्त्रणका अनुभवको पनि जानकारी हासिल गर्ने अवसर पाएका थियौं । सरकारमा भएका मानिसले ठुला ठुला भ्रष्टाचार, कमिशनखोरीमा समय बिताए ।  सरकारले यो सुनौलो अवसरलाई सजिलै गुमायो । प्रधानमन्त्री लगायत मन्त्रीहरु नै ‘नेपालीहरुको रोग क्षमता शक्ति यति धेरै छ कि नेपालमा कोरोना भाइरसको केही दैया चल्दैन’ भन्ने जस्ता प्रचार गरेर जनतालाई गलत सूचना दिइरहेका थिए ।
संयुक्त राष्ट्र संघका महासचिव एण्टोनियो गुटेरेसले कोभिड–१९ को समस्याबाट उत्पन्न संकटलाई ‘दोस्रो विश्व युद्ध पछिको सबैभन्दा ठुलो संकट’ भन्ने अभिव्यक्ति दिइसक्दा पनि, विश्व स्वास्थ संघले यसलाई विश्वस्तरमै महामारी घोषणा गरि सक्दा पनि,  यो सरकारको चेत खुलेको थिएन । सरकारको यो गैर जिम्मेवारीपनको सर्बत्र विरोध हुन थाले पछि मात्र सरकार केही काम गर्न वाध्य भयो । तर धेरै ढिलो भैसकेको थियो । यहि चैत्र १० गते मात्र सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय लियो । चैत्र ११ गते देखि देशव्यापी लक्डाउन् ु गर्ने घोषणा ग¥यो सरकारले । घटनाहरुले के पुष्टि गरे भने चैत १ गते देखि अन्तर्राष्ट्रिय उडान र भारतको सिमाना बन्द गरिदिएको भए कोरोना भाइरसको नेपाल प्रवेश अहिलेका लागि रोकिन सक्ने रहेनछ ।
                      ‘लक्डाउन’को पृष्ठभूमि
रोकथाम र नियन्त्रणका लागि ठोस योजना बनाएर काममा होमिइहाल्नुुको सट्टा सरकारी उच्चस्तरिय समिति नै ओम्नी भन्ने फर्जि कम्पनी दर्ता गरी नक्कली सागग्री खरिद गरेर कमिसन खाने दाउमा लागेको समाचार भाइरल भयो । कम्पनीसँगको ठेक्का रद्द गरियो, कम्पनीको जमानत पनि जब्त गरियो ।  तर त्यसैले ल्याएको टेस्टिङ् किट र सामान खरिद गरियो । जसलाई विश्व स्वास्थ संघले मान्यता दिएको छैन । यस कण्डमा सम्मिलित उप प्रधानमन्त्री र मन्त्रीहरुमाथि कारवाही गरिएन, अझ थप जिम्मेवारी दिइयो ।
यो महाव्याधीका संक्रमित कति छन् भन्ने जाँचै नगरि “हाम्रो देशमा त संक्रमित नै छैनन्” भन्ने गलत सूचना दिइयो, सरकारकै तर्फबाट । ठुलै दवाब पछि मात्र परीक्षण गर्दा धमाधम पोजिटिभ केसहरु देखिन थालियो । यी हरफ लेखिँदा सम्म नेपालमा यो महाव्याधीबाट संक्रमितहरुको संख्या ४७ पुगिसकेको छ । पहिले यो केवल आयातित मात्र थियो । पछिल्लो चरणमा यो स्थानीय मानिसमा पनि संक्रमित भएको पाइएको छ । उदयपुरमा एकैपटक १४ जनामा यो संक्रमण देखिएपछि सरकारका स्वास्थ सम्वन्धी प्रवक्ताले कोभिड १९ ‘दोस्रो चरणबाट तेस्रो चरणमा प्रवेश गरेको’ बताइसकेका छन् । कतै यो अब व्यापकरुपमा समुदायमा फैलिने त होइन ? भन्ने आशंका र संत्रास फैलिन थालेको छ । विश्व स्वास्थ संघलेनै यसको संक्रमणलाई रोक्ने उपायका रुपमा लक्डाउन्लाई मानेको छ । त्यसैले सरकारले चैत्र ११ गतेबाट लागु गरेको लक्डाउन्को सबैतिरबाट समर्थन नै भैरहेको छ । तर, सरकारले यसलाई वास्तविक लक्डाउन्को स्तरमा लागु गर्न सकेन । दैनिक रुपमा ज्यालामा काम गर्ने र तल्लो वर्गका मानिसहरुको खाने र दैनिक जीवन यापनाको न्युनतम  व्यवस्था त गर्नु पर्दथ्यो । सरकारले नै त्यो जिम्मेवारी पुरा गरेन । पहिलो, सरकारले दैनिक ज्यालादारीमा काम गर्नेहरुको खाने बस्ने व्यवस्था गरेन । दोस्रो, लक्डाउन् कै बेलामा मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई बस र ट्रकमा हालेर घर पठाउन थाले । सरकारकै जिम्मेवार व्यक्तिहरुले लक्डाउन् तोड्ने काम गरे । यी हरफ लेखिँदा सम्म सरकारले लक्डाउन्का विषयमा ठोस निर्णय लिइसकेको छैन ।
                  ‘लक्डाउन्’मा के भूमिका खेल्ने ?
लक्डाउन्को समयमा हामीले के भूमिका खेल्ने भन्ने विषय निकै महत्वको विषय हो । यस विषयमा कतैबाट त्यस किसिमको आधिकारिक र ठोस निर्णय त भएको छैन । तथापि, अहिलेसम्म भएका निर्णयका आधारमा यस किसिमले प्रस्तुत गर्दा उचित हुन्छ भन्ने लाग्दछ ः
पहिलो, हामी सबैको पहिलो प्राथमिकता हो कोरोना भाइरसलाई संक्रमित हुनबाट रोक्नु, आफु सुरक्षित हुनु अरुलाई सुरक्षित राख्नु । यसको निमित्त विश्व स्वास्थ संघको निर्देशनका आधारमा तय गरिएका विज्ञान सम्मत नियमहरुको पालना गर्नु र गराउनु पर्दछ । दोसो, खासगरी तल्लो वर्गलाई राहत उपलव्ध गराउन पहल गर्नु र राहत वितरणमा भएका धाँधली र पक्षपात् हुन नदिनु । राहत पाउने कुरालाई कसैको निगाहका रुपमा होइन, जनताको अधिकारका रुपमा स्थापित गर्नु । तेस्रो, सत्ता पक्षबाट भएका भ्रष्टाचार, कमिशनखोरी, जन बिरोधी सबै कामहरुको जनतामा भण्डाफोर गर्नु । यसका निमित्त विभिन्न माध्यमहरुको उपयोग गर्न प्रयत्नशील रहनु । चौथो, यो सरकार जनताका वीचमा अत्यन्त अलोकप्रिय, जन विरोधी र असफल सावित भै सकेको छ । यसका विरुद्ध नेपालमा आन्दोलन उठ्ने प्रवल संभावना छ । तर, कोभिड १९ को नियन्त्रण नहुँदासम्म यसैलाई प्राथमिकता दिएर जानु पर्ने आवश्यकता छ । भावी जन आन्दोलनका निमित्त हामीले विगतमा कार्यगत एकता गर्दै आएका र गर्न सकिने सबै शक्तिहरुसँग त्यसको निमित्त पहल गर्दै जाने ।
लक्डाउन्को समयलाई खेर जान नदिउँ । यसलाई सकेसम्म सदुपयोग गरौं !
२०७७ । १ । १३