काठमाडौं । सत्तारुढ दल डबल नेकपाभित्र ओली विरुद्धको मोर्चाबन्दी बलियो बन्दै गएको छ । ९ सदस्यीय सचिवालय सदस्यमध्ये सरकारमा सहभागी रहेका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाबाहेक पार्टीका कार्यकारी अध्यक्ष भनिएका पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी उपाध्यक्ष बामदेव गौतम, पार्टी महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीका विरुद्ध मोर्चाबन्दी गरेका छन् । भैसेपाटीस्थित बामदेव गौतमको निवासमा यसअघि महासचिव पौडेलबाहेक ५ जनाले गर्दै आएको मोर्चाबन्दीमा ११ बैशाखबाट पौडेल पनि थपिएका छन् । पौडेललाई यसअघि ओलीका बफादार मानिदै आएको थियो । 

बिहीबारको भैसेपाटीमा बसेको ६ जना सचिवालय सदस्यको बैठकले ओली सरकारको समग्र मूल्यांकन गर्ने र २० स्थायी समितिका सदस्यहरुले माग गरे अनुसार स्थायी समितिको बैठकमा नै यसबारे छलफल गर्ने र निर्णय गर्ने सहमति गरेसँगै ओली नेतृत्वको सरकार समेत संकटमा पर्ने देखिएको छ ।
नेताहरुको बैठकले विवादित अध्यादेश तत्काल फिर्ता गर्नुको विकल्प नभएको निष्कर्ष समेत निकालेका छन् । बिहीबार बिहानै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा ओलीले अध्यादेश फिर्ता लिन तयार रहेको बताएको दावी गरिएको छ ।

हार्दिक शुभकामना !

ओलीले पछिल्लो पटक दुई अध्यादेश ल्याउदा पार्टीमा कुनै छलफल नगर्नु र सरकार मनोमानी ढंगले चलाएको भन्दै ती नेताहरुले समग्र विषयमा पार्टीमा छलफल गर्नुपर्ने विषयमा सहमति गरेका छन् ।
प्रधानमन्त्रीको कुर्सी ताकिरहेका पुष्पकमल दाहालले यो मोर्चाबन्दीलाई प्रयोग गरेर स्थायी समितिको बैठकबाट निर्णय गराएरै प्रधानमन्त्री बन्ने बातावरण तयार गरिरहेको स्रोतको दाबी छ । आफूविरुद्धको मोर्चाबन्दी बलियो बन्दै गर्दा ओलीले त्यसको प्रतिरक्षा कसरी गर्छन् भन्ने आगामी घटनाक्रमले ओली सरकारको भविष्य निर्धारण गर्ने देखिएको छ ।
यसैबीच, महामारी र भोकमरीबाट नेपाली जनजीवन अस्तव्यस्त र कष्टकर बन्दै गएको अवस्थामा ओली नेतृत्वको सरकारले अध्यादेश प्रकरण निम्त्याएर जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड गरेको र हददर्जाको गैरजिम्मेवारीपन देखाएको भन्दै सार्वजनिक रुपमा आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर